दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

नेपालभ्युज

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ०२ मिनेटलाई तोकिदिएको छ ।

के, ११ बजेर ०२ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ?

टीका–जमरा देवीको प्रसाद भएकाले प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुने जानकारहरूको तर्क छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गरेपछि जुनसुकै समयमा मान्यजनबाट टीका–जमरा लगाएर आशीर्वाद लिन सकिन्छ ।’

साइतमा मिल्छ भने ११ बजेर ०२ मिनेटको साइतमै लगाउनुपर्छ। मिल्दैन भने आफ्नो अनुकूल जुन बेला मिल्छ, त्यही बेला लगाउने गौतम बताउँछन्।

सामान्य मानिसले जुनसुकै समयमा टीका लगाए पनि राज्य सञ्चालकले भने उत्तम साइतमै टीका लगाउनुपर्ने उनी बताउँछन् ।

टीका र जमरा देवीको प्रसाद भएकाले प्रसाद ग्रहण गर्न आज दिनभरि नै टीका लगाउन शुभ हुने बताइन्छ । साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाए राम्रो हुने बताइन्छ ।

तर टीका लगाउनु अघि देवी विसर्जन भने गर्नैपर्ने विज्ञहरू बताउँछन्।

विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ ।

कतैकतै पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । पूर्णिमासम्म टीका लगाउँदा पनि केही फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. गौतमले बताए । ‘देवीको प्रसाद हो, पूर्णिमासम्म लगाउँदा पनि राम्रै हुन्छ,’ उनले भने ।

मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved