गाजाको अस्पतालमा विष्फोट : विश्वभरबाट इजरायलको चर्को आलोचना, बाइडेनको जोर्डन भ्रमण स्थगित

अस्पतालमा उपचार गराइरहेका घाइते, कुरुवा र डाक्टरको हत्या हुनु युद्ध अपराध भएको र इजरायलको अमानवीयताले सीमा नाघेको भन्दै विभिन्न देशले कडा आलोचना गरेका छन् ।

नेपालभ्युज

गाजाको अस्पतालमा विष्फोट : विश्वभरबाट इजरायलको चर्को आलोचना, बाइडेनको जोर्डन भ्रमण स्थगित

एजेन्सी । इजरायलले गाजाको एक अस्पतालमा रकेट आक्रमण गर्दा कम्तिमा ५०० जनाको मृत्यु भएपछि विश्वभरबाट चर्को विरोध र आलोचना भइरहेको छ ।

अस्पतालमा उपचार गराइरहेका घाइते, कुरुवा र डाक्टरको हत्या हुनु युद्ध अपराध भएको र इजरायलको अमानवीयताले सीमा नाघेको भन्दै विभिन्न देशले कडा आलोचना गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको अल अहली अस्पतालमा भएको हमलाको निन्दा गर्दै ट्वीट गर्दै भनेका छन्, “सयौं प्यालेस्टिनी नागरिकको हत्याबाट म त्रसित छु।”

उनले यसको कडा निन्दा गरे र थपे कि “अस्पताल, क्लिनिक, चिकित्सा कर्मचारी, र संयुक्त राष्ट्र परिसरहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत स्पष्ट रूपमा सुरक्षित  हुनुपर्नेमा सबै अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको छ “।

मध्य पूर्वी राज्यहरूले पनि गाजामा अस्पताल विस्फोटको बारेमा कडा प्रतिक्रिया दिएका छन् ।  अरब राज्यहरू र इरानले इजरायललाई दोष लगाउँदै चेतावनी दिएका छन् ।

इजिप्टका राष्ट्रपति सिसीले इजरायलको बमबारीलाई “अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन” भनी सबैभन्दा कडा शब्दमा निन्दा गरेका छन्।

इरानको विदेश मन्त्रालयले विस्फोट इजरायली हवाई हमलाको परिणाम भएको आरोप लगाउँदै निःशस्त्र र रक्षाहीन मानिसहरू मारिएको र घाइते भएको बताएको छ।

सिरियाली राष्ट्रपति बसल अल असादले यसलाई मानवता विरुद्धको सबैभन्दा जघन्य र रक्तपातपूर्ण नरसंहार मध्ये एक भनेका छन्।

साउदी अरबले पनि यसलाई जघन्य अपराध भनेको छ। जोर्डनका राजा अब्दुल्लाहले यसलाई ‘युद्ध अपराध’ भनेका छन् । युएईले रसियासँग संयुक्त रूपमा बुधबार बिहान संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन माग गरेको छ ।

इजरायलले भने प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूले प्रहार गरेको रकेटले विस्फोट गराएको जिकिर गरेको छ । यद्यपि जिहाद समूहले यसलाई ठाडै अस्वीकार गरेको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनको जोर्डन भ्रमण स्थगित भएको छ । इजरायलले गाजाको अस्पतालमा आक्रमण गरेर ५ सय जना निहत्था मानिसको हत्या गरेको भन्दै आज अम्मानमा हुने भनिएको राष्ट्रपति बाइडेन र अरब नेताहरूबीचको शिखर वार्ता रद्द भएको जोर्डनले जनाएको छ ।

जोर्डनका विदेश मन्त्री अयमान सफादीले इजरायललाई यस क्षेत्रलाई “नर्कको छेउँमा” धकेलिएको आरोप लगाउँदै प्यालेस्टिनीहरू विरुद्धको युद्ध र नरसंहार अन्त्य गर्न पक्षहरू सहमत हुन सक्ने समयमा मात्रै बाइडेनसँग भेट्ने बताएका छन्।

राष्ट्रपति बाइडेनलाई उनको राष्ट्रिय सुरक्षा टोलीले अस्पतालमा भएको विस्फोटको बारेमा जानकारी गराएको ह्वाइट हाउसले जनाएको छ । बाइडेनलेले जोर्डनका राजा अब्दुल्लाह द्वितीय र इजरायली प्रधानमन्त्री नेतन्याहुसँग पनि कुराकानी गरेका छन्।

“संयुक्त राज्य अमेरिका द्वन्द्वको समयमा नागरिक जीवनको सुरक्षाको लागि स्पष्ट रूपमा खडा छ र हामी यस त्रासदीमा मारिएका वा घाइते भएका बिरामीहरू, चिकित्सा कर्मचारीहरू र अन्य निर्दोषहरूप्रति शोक गर्दछौं,” अमेरिकी राष्ट्रपतिले भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved