कोशीमा मुख्यमन्त्री नियुक्ति आज, राजनीतिक उथलपुथल नभए कोइराला पक्षका कार्कीको सम्भावना 

नेपालभ्युज

कोशीमा मुख्यमन्त्री नियुक्ति आज, राजनीतिक उथलपुथल नभए कोइराला पक्षका कार्कीको सम्भावना 

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ आफैँले दिएको समयसीमा सकिएपछि पनि हिजो मुख्यमन्त्री नियुक्ति नगरीकन त्यत्तिकै टारिदिएपछि आज नियुक्ति हुँदैछ। उनले आज संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गर्नेछन्।

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै केदार कार्कीले मुख्यमन्त्री दाबी गरेकाले कुनै राजनीतिक उथलपुथल नभए उनी नै मुख्यमन्त्री बन्नेछन्।

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न हिजो साँझ ५ बजेसम्मको समय दिएका थिए। तर, कांग्रेस माओवादी गठबन्धनको बहुमत नभएपछि मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढाएनन्।

एमाले कांग्रेस इतर पक्ष डा शेखर कोइराला पक्षको बहुमत रहेपछि नियुक्तिपूर्व समर्थन गर्ने सांसदको सनाखत गराउनुपर्ने भनेर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन पुगेका सांसदलाई बिदा गरेका थिए।

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग राख्दै उनलाई समर्थन गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। तर, खापुङले सांसदहरूको सनाखत शनिबार आजको लागि गर्ने बताए। मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएपछि कार्की र उनलाई समर्थन गरेको दल एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग प्रदेश प्रमुखले छलफल गरेका थिए।

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादीको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको दाबी बिहीबारै पेस भइसकेको छ। कार्कीले संवैधानिक व्यवस्थापन अनुसार आधिकारिक हिसाबले मुख्यमन्त्री दाबी गरेका छन्। तर, प्रदेश प्रमुखको हस्ताक्षर सनाखतको नाममा नियुक्ति नै गरेनन्। प्रदेश प्रमुख खापुङमाथि गठबन्धनबाट ग्रसित भएको आरोप लाग्ने गरेको छ।

कांग्रेसको संस्थापनइतरका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा बहुमत पु¥याउँदै कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए। आङ्बोले पनि कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री दाबी गरेका हुन्।

प्रदेशमा ६ जना सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने नयाँ सरकार गठनका विषयलाई लिएर तटस्थ बसेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved