विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी प्याड उत्पादन गर्ने योजना बनाएर महिलाका लागि तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाको समन्वय, युएसएआइडीको आर्थिक सहयोग र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा भएको तालिममा नवपालुवा महिला कृषक समुहका २१ महिलाको सहभागिता रहेको एड्वानका परियोजना संयोजक कमल बसेलले जानकारी दिए ।

“सहिद लखन गाउँपालिकालाई स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर बनाउने योजनाअनुसार तालिम सञ्चालन गरिएको हो”, उनले भने, “सहभागीले तालिम सम्पन्न गरेपछि गाउँपालिका, एड्वान र प्रशिक्षार्थीको सहकार्यमा पालिकाभित्रै स्यानिटरी प्याड उत्पादन गरी आयआर्जनको अवसर प्राप्त गर्नेछन् ।”
विद्यालय किशोरी कार्यक्रमअन्तर्गत गाउँपालिकाले स्यानिटरी प्याड बाहिरबाट खरिद गरेर ल्याउनका लागि हरेक वर्ष वार्षिकरुपमा लाखौँ रकम विनियोजन गर्दै आएकोमा अबदेखि गाउँमै प्याड उत्पादन गरी महिलालाई रोजगारी पनि दिने र आर्थिक आयआर्जन वृद्धि गर्दै विपन्न तथा सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउने योजना रहेको संयोजक बसेलको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved