हनुमानढोकामा इन्द्रध्वजोत्थान गर्दै सुरु भयो इन्द्रजात्रा (तस्वीरहरू)

मुख्य जात्रा असोज ११ गते बिहीबार हुने भए पनि आजैदेखि हनुमानढोका क्षेत्रमा विभिन्न देवीदेवताका नामका नाच सुरु हुनेछ।

हनुमानढोकामा इन्द्रध्वजोत्थान गर्दै सुरु भयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं। हनुमानढोका दरबार क्षेत्रमा स्वर्गका राजा इन्द्रको नाममा मनाइने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज मंगलबार बिहान १०:३७ बजे विधिपूर्वक इन्द्रजात्राको लिङ्गो ठड्याइएको हाे ।

मुख्य जात्रा असोज ११ गते बिहीबार हुने भए पनि आजैदेखि हनुमानढोका क्षेत्रमा विभिन्न देवीदेवताका नामका नाच सुरु हुनेछ। मूल पुजारीद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ ।

भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी, अर्थात् असोज ११ गते बिहीबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ ।

यसैगरी, असोज १२ गते शुक्रबार कुमारीलाई माथिल्लो टोल यात्रा गराइनेछ । १३ गते नानिचा यात्रा गराइने छ ।

यसैगरी, आश्विन कृष्ण चतुर्दशीका दिन इन्द्रध्वजापतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष असोज १५ गते सोमबार राति ८:३७ बजे लिङ्गो ढाल्ने साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ। इन्द्रजात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौं शाखाले गर्दै आएको छ ।

इन्द्रजात्राबारे विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले वर्षा अन्त्यको कामना गर्दै भगवान् इन्द्रको बिदाइ गर्ने परम्परा छ ।  यो जात्रासँगै विभिन्न देवीदेवताको आह्वानका लागि नाचहरू देखाइने पर्वहरू सुरु हुन्छ ।

अर्को किंवदन्तीअनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमाको व्रतका लागि पारिजातको फूल, कर्कलाको पातलगायत सामग्री लिन पृथ्वीमा आउँदा पक्रिएर हनुमानढोकामा ल्याई सम्मानका साथ पूजा गरेकाले इन्द्रजात्राको परम्परा सुरु भएको भन्ने गरिन्छ ।

प्राचीनकालदेखि नै विजयको प्रतीकका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ । मल्लकालदेखि इन्द्रजात्रामा कुमारी जात्रा पनि गर्न थालिएको हो ।
मल्लराजा यात्रामा सँगसँगै रथमा बसेर हिँड्ने चलन थियो । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि भने दाम राखेर ढोग्ने परम्परा सुरु भएको हो ।

मल्लकालसम्म भाद्र शुक्ल एकादशीका दिन गरिने इन्द्रध्वजोत्थान शाहकालदेखि भने भाद्र शुक्ल द्वादशीका दिन गर्न थालिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved