काठमाडाैं । अलि पहिला नेपाली महिलालाई ललाइफकाइ भारतको दिल्ली, मुम्बई र कोलकाताका कोठीमा पुर्याएर ‘यौन व्यवसाय’ गर्न बाध्य पार्नुलाई चेलीबेटी बेचबिखन भनिन्थ्यो।
अहिले समयक्रमसँगै बेचबिखनको रुप र गन्तव्य पनि फेरिएको छ । पछिल्लो समय मानव तस्करले नेपाली चेलीलाई भारतसँगै विभिन्न खाडी मुलुकमा लगेर बेचिरहेका छन् ।
पहिले गाउँका अशिक्षित र आर्थिक अवस्था कमजोर भएका महिलालाई झुक्क्याएर कोठीमा लगेर बेचिन्थ्यो। दलालले बिहेको बहानामा वा आकर्षक रोजगारीको प्रलोभनमा भारत पुर्याउँथे । तर, अहिले मेनवापर तस्करले वैदेशिक रोजगारीको नाममा चेलीबेटीलाई झुक्क्याएर दुबईलगायतका खाडी देशमा पठाइरहेका छन्।
मेनवापर एजेन्टका नाममा दलालहरु अहिले गाउँ-गाउँ पुगिरहेका छन्। बेरोजगार महिला तथा युवतीलाई राम्रो कमाइ हुने, थोरै पैसा लाग्ने भन्दै प्रलोभनमा पारिरहेका छन्। यसरी भिजिट भिसामा लगिएका अधिकांश महिला तथा युवती घरेलु श्रममा लगाइन्छन्। उनीहरू त्यहीँ यौन शोषणमा पर्ने गरेका छन्।
कतिपयलाई डान्सबार र रेस्टुरेन्टमा पुर्याइन्छ । कतिपयलाई कार्यालयमै सहयोगी, रिसेप्सनिस्ट राखिएको बहानामा यौनशोषण गरिन्छ।
रोजगारीको बहानामा भिजिट भिसामा दुबई पुर्याइएकी एक चेलीको कथा यहाँ प्रस्तुत गर्दैछौँ । आकर्षक रोजगारीको बहानामा दुबई लगिएकी उनी पुगेकै दिनदेखि हिंसा र यौन उत्पीडनमा परिन्। नारकीय जीवनबाट बल्लतल्ल उम्केर स्वदेश आइपुगेकी छिन् । धादिङकी रितु (नाम परिवर्तन) को भोगाइ उनकै शब्दमा-
000
गत वर्षको कुरा हो, उच्च शिक्षा अध्ययनको क्रममा रहेकी रितु (नाम परिवर्तन) विदेसिने सोचमा पुगिन्। धादिङ घर भएकी उनलाई यो सोच बनाउन एकजनाले सघाए। उनले ‘सस्तो, थोरै खर्चमा विदेश जान पाइने र कमाइ पनि राम्रो हुने’ भन्दै लोभ्याए।
संयुक्त अरब इमिरेट्सको दुबईमा नेपालीले चलाएको ठूलो कम्पनी रहेको सुनाए। त्यहाँ काम लगाइदिने आश्वासन दिए। ‘मासिक एक लाख रुपैयाँसम्म कमाइ हुन्छ’ भनेपछि विश्वासमा विदेश उड्न तयार भइन्, रितु।
पर्वत डाँडाखर्कका विजय सुनारको कम्पनी रहेको र उनले दुबईमा पेट्रोल पम्प खोल्न लागेको बताए। त्यहाँ अरू थप कर्मचारी चाहिएको भन्दै रितुसँग चिनेजानेका साथीलाई पनि सम्पर्क गराउन भनियो। ‘राम्रो डिमान्ड’ आएको भनिएपछि रितुले पनि अरू १६ जना साथी भेटाइदिइन्।
सबैलाई दुबईमा ‘सिल्भरलाइन फ्यालिसिटी म्यानेजमेन्ट सर्भिसेज’ सञ्चालन गर्ने पर्वत डाँडाखर्कका विजय सुनारको कम्पनीमा लगिने बताइयो। उताबाट सुनारले नेपालमा रहेका आफ्ना सहयोगी (प्रमिला मैनाली, कविता सुनार धमेल, तुलसीप्रसाद रिजाल) मार्फत प्रतिव्यक्ति २ लाख १० हजारका दरले पैसा असुले। सुपरभाइजर बनाइदिने भन्दै एक जनाबाट ५ लाख लिए।
पैसा दिएका १७ मध्ये ९ जनालाई गतवर्षको भदौमा विदेश लगियो। अरुलाई विभिन्न कम्पनीमा पठाइयो। तर, रितुलाई विजय सुनारले आफ्नै कम्पनीमा राखे। रितुलाई रिसेप्सनिस्ट भन्दै राखियो। उनलाई कम्पनीकै एक कोठामा बस्न दिइयो। विदेशको राम्रो सपना बुनेर गएकी रितुको कहालीलाग्दा क्षण पुगेकै दिनबाट सुरु भए।
पुगेकै दिनदेखि उनीमाथि दुर्व्यवहार सुरु भयो। रिसेप्सनिस्ट भनेर काममा राखिएको उनलाई विजयले जबर्जस्ती यौनशोषण गरे। विजय आफूले मात्र गरेनन्। कहिलेकाहीँ अरू मान्छे पनि पठाउने गरेको पीडित बताउँछिन्।
‘‘अफिस भर्खरै खुलेको रहेछ। मलाई रिसेप्सनिस्ट भन्दै राखेको थियो। अफिसमा कोही नभएको मौका छोपेर उसले ममाथि जबर्जस्ती गर्थ्यो। भनेको नमाने गायब गरिदिने धम्की दिन्थ्यो।’’ रितु आफ्नो व्यथा यसरी सुनाउँछिन्।
आफूलाई राखिएको कोठामा कहिलेकाहीँ अरू मानिस पनि पठाउने गरेको उनले बताइन्। ‘‘उ मात्रै ममाथि झम्टदैनथ्यो। अरू पनि पठाउँथ्यो। कतिपटक सकिनसकी प्रतिकार गर्थें। कतिपटक सहेर बस्न बाध्य हुन्थें’’ आफूमाथिको अत्याचार यसरी स्मरण गर्छिन् ‘‘कसरी त्यहाँबाट निस्केर भागौँ भयो मलाई। मेरो हारगुहार सुनिदिने पनि कोही थिएन त्यो अन्जान ठाउँमा। कहिलेकाहीँ मरौँ जस्तो लाग्यो। तर, घर परिवार सम्झिएर मर्न सकिनँ।’’
आफूले उनले भनेको मान्छेसँग सुत्न नचाहेकोले आफूलाई काम गरेको तलब पनि नदिएको रितुको गुनासो छ। आफूमाथि अत्याचार भएपछि रितुले लागेको खर्च माया मार्ने तर आफूलाई स्वदेश पठाइदेऊ भनेर आग्रह गरिन्।
उनी सम्झिन्छन् ‘‘त्यसपछि मैले घर पठाइदेऊ भनेर रोई–कराई गर्न थालेँ। यहाँ आउन लागेको पैसा फिर्ता नमाग्ने बताएँ। तर, उनीहरूले मानेनन्, उल्टो मारेर फालिदिन्छु भनेर मलाई धम्काए। जबर्जस्ती बन्धक बनाएर राखे।’’
विजयको कम्पनी ‘सिल्भरलाइन फ्यालिसिटी म्यानेजमेन्ट सर्भिसेज’को काम कामदार कम्पनीमा पठाउने रहेछ। केही दिनपछि सञ्चालक विजयले रितुलाई दुबईकै एक घरमा घरेलु कामदारका रूपमा पठाए।
त्यही घरमै उनी बस्नुपर्ने थियो। त्यहाँ पनि उनलाई बलात्कार गर्न खोजियो। धन्न रितुले प्रतिकार गरिन्। आफूमाथि हिंसा र दुर्व्यवहार भएपछि उनले विजयलाई फोन गरेर घटनाबारे सुनाइन्। तर, विजयले ‘त्यही कामको लागि त्यहाँ पठाइएको हो। भनेको मान्नु भन्दै उल्टो थर्काए। बल्ल रितुले आफूलाई ‘बेचिएको रहेछ भन्ने चाल पाइन्। घरेलु कामदारको बहानामा शरीर बेच्ने काममा बस्न नसक्ने भन्दै रितु त्यहाँबाट फर्किन लागिन्।
रिसाएका मालिकले उनलाई पाँच लाख (नेपाली रुपैयाँ) मा किनेको र त्यति पैसा दिए मात्र घर जान दिने बताएको पीडित बताउँछिन्।
उनी छाँगाबाट खसेजस्तै भइन्। बल्लतल्ल उनी त्यहाँबाट उम्किन्। उनको जाने ठाउँ कतै थिएन। उनी फर्किएर फेरि विजयकहाँ नै पुग्न बाध्य भइन्।
आफूलाई बेचेको भन्दै आक्रोश पोखिन्। प्रहरीमा उजुरी गर्ने बताइन्। तर, विजयले आफूसँग सबै पावर भएको र कसैले केही गर्न नसक्ने धम्की दिएको उनको आरोप छ।
अनजान ठाउँमा रितुले पनि केही गर्न सकिनन्। फेरि, विजयले अर्को एउटा घरमा काम गर्न पठाउने र त्यहाँ गलत काम नहुने आश्वासन दिए। पहिला एक ठाउँमा हिंसा खेपेर बल्लबल्ल भागेकी रितुले फेरि घरमा काम गर्न जान मानिनन्।
त्यसपछि विजयले रितुलाई बस्न कोठा खोजिदियो। गत असार (जुलाई)तिर विजयले कोठा खोजेर राखेको र बन्धक जस्तै बनाएको पीडित रितु बताउँछिन्। त्यहाँ पनि आफूमाथि शोषण भएको उनको भनाइ छ।
रितु भन्छिन्, ‘‘ममाथि लामो समयसम्म अत्याचार भएपछि नेपाल फर्कन्छु भनेँ। मेरो मोबाइल खोसेर राखियो। बल्ल-बल्ल दुबईमा रहेका केही आफन्तसँग फोन गरेर उद्धार गर्न भने। त्यसपछि उहाँहरूको पहलमा म स्वदेश फर्कन पाएँ।’’
रितु स्वदेश आएको महिना दिन भयो। उनी अहिले न्यायको लागि पहल गरिरहेकी छिन्। ‘‘उनीहरूले मलाई दिएको यातना देख्दा त्यो नर्कबाट बाँचेर फर्किन्छु भन्ने लागेकै थिएन। केही साथीले मलाई बचाएर फर्काए। मैले दोस्रो जीवन पाएँ’’ उनी भन्छिन्, ‘‘मेरो एक वर्षको काम गरेको पैसा पनि दिएनन्। उता जाँदा लागेको पैसा पनि खेर गयो। धन्न म बाँचेर आउन सफल भएँ।’’
दुबईका कम्पनीमा कामदार पठाउन भन्दै अफिस खोलेका विजय सुनारले वैदेशिक रोजगारीको आडमा भिजिट भिसामा मानव बेचबिखन गरिरहेको रितुको आरोप छ। उनका अनुसार विजय गुरुङको धन्दा पनि उत्तिकै फस्टाइरहेको छ। रितु भन्छिन्, ‘‘वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्दाेरहेछ।
तर, श्रम स्वीकृति विना धेरै महिलालाई उसले भिजिट भिसामा दुबई लगेर बेचबिखनको फन्दामा पारिरहेको छ। कतै घरेलु कामदारका रूपमा त कतै होटेल रेस्टुरेन्टमा बेचिरहेको छ।’’
वीजयलाई झापा शिवसताक्षी मैधरका ओमप्रकाश भन्ने अनुप थापाले सहयोग गरिरहेको पीडितको आरोप छ।
औपचारिक उजुरी परेमा पक्राउ गर्छाैं- ब्युरो
मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनी पछिल्लो समय मानव बेचबिखनको शैली फेरिएको बताउँछन्। ‘‘पहिले पहिले भारत पुर्याएर कोठीमा बेचबिखन हुन्थ्यो। अहिले त्यही काम वैदेशिक रोजगारीका नाममा भइरहेको छ। उजुरी परेमा पीडकलाई पक्राउ गरेर स्वदेश ल्याउनेछौँ’’ उनी भन्छन्।
पीडितले आफू ठगीमा परिएको हो कि बेचबिखनमा भनेर छुट्टाउन नसक्दा कयौँ मुद्दा ठगीमा परिणत भइरहेका छन्। यौन हिंसामा परेका महिला आफ्नो गोपनीयताको डरले पनि मामिला बाहिर ल्याउन नचाहेको घटना धेरै छन्।
एसपी पंगेनी भन्छन्, ‘‘दुबईलगायत खाडीका देशमा बेचिएका महिला आफू यौन शोषणमा परे पनि त्यसबारे खुलेर बोल्न चाहँदैनन्। परिवार र समाजको तिरस्कारको डरले हिंसा लुकाएर बस्छन्। मुद्दा–मामिलामा पनि जाँदैनन्। यसैले मानव बेचबिखनका घटना धेरै भए पनि मुद्दा दर्ताचाहिँ थोरै हुने गर्छन्।’’
विमानस्थलमा शंका लागेर सोधपुछ गर्दा थोरै मात्रको पहिचान भएको छ। उनीहरूलाई विमानस्थलबाटै फर्काएर सम्झाई–बुझाई परिवारको जिम्मा लगाउने गरिएको छ।
दुबई बसेर नेपालमा मानव तस्करी
रितुसँगै अर्का एकजना महिला पनि दुबई पुगेकी थिइन्। अरू ७ जना पुरुष पनि दुबई लगिएका थिए। उनीहरू पनि विजय सुनारको कम्पनी ‘सिल्भरलाइन फ्यालिसिटी म्यानेजमेन्ट सर्भिसेज’ले काम लगाएर पैसा नदिएको भन्दै फर्किएका छन्।
दुबई पुगेका २ महिलासहित पाँचजना पुरुष बिनातलब १३ महिनापछि फर्किएका छन्। बाँकी तीनजना उद्धारको प्रतिक्षामा छन्।
धादिङ डाँडाखर्ककी सरिता तामाङ, निशा परियार, रञ्जित तामाङ, केशर तामाङ, सिन्धुपाल्चोकका सविन परियार, काठमाडौं बस्ने विशाल कुँवर, धादिङका प्रेम लामा, हरिराम माझी, बिना थिङ, रोशन थिङ, अमर लामा, अप्सरा वारले, दीपक बस्नेत, विकाश तामाङ र दिलीप गुरुङले विजय सुनारलाई पैसा बैंकबाट बुझाएको प्रमाण नेपालभ्युजले पाएको छ।
यस्तै, पैसा बुझाएका बाँकी ७ जनालाई भने विजय सुनारले दुबई नलगेको पीडित बताउँछन्। दुबई लगिएकालाई पनि काम लगाएर खान र बस्न र तलब नदिएर अलपत्र पारेको पीडितको गुनासो छ।
एक पीडितले भने, ‘‘हामीलाई १३ महिना काममा लगायो। खान-बस्न पनि दिएन। तलबको त कुरै छाडौँ।’’ आफूहरूले कि तलब दिनुपर्यो कि नेपाल फर्काउने व्यवस्था गरिदिनुपर्यो भनेर माग राख्दा गुन्डा लगाएर कुटपिट गरेको उनीहरूको गुनासो छ।
विजय सुनारले आफ्ना मानिस लगाएर पीडितलाई कुटपिट गरेको भिडिओ समेत नेपालभ्युसँग छ। लछारपछार पारेर हात भाँचिने गरी कुटपिट गरिएको पीडितले बताएका छन्।
अलपत्र पार्ने मुख्य नाइके विजय सुनार र उनका सहयोगी ओमप्रकाश भन्ने अनुप थापा दुबईमै छन्। उनीहरूले पीडितलाई त्यहाँ गोल्डेन भिसा भन्दै नक्कली कागजात दिएर नेपालबाट दुबई झिकाउने गरेका छन्।
विजय सुनारले आफ्ना सहयोगी कर्णबहादुर सुनारमार्फत् अरू धेरै नेपाली युवासँग पैसा लिएको प्रमाण नेपालभ्युजले भेटेको छ। उनीहरूबाट रोल्पा लुङ्ग्रीका १० जना पनि ठगीमा परेका छन्।
ठगिनेहरूमा भूपेन्द्र विष्ट, ज्ञान बहादुर विष्ट, लिक विष्ट, जनक विष्ट, किसन विष्टलगायत छन् । भूपेन्द्र विष्टले नेपालभ्युजसँग भने,‘‘प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले कर्णबहादुरलाई बुझाएका थियौँ। उनीहरूले काठमाडौं बोलाए। होटेलमा बस्न खान खर्च ६५ हजार भयो। त्यो पनि तिरिदिने भनिएको थियो। उनीहरूले नतिरेपछि होटेलमै बन्धक बनियो।’’
Facebook Comment
Comment