काठमाडौं। तीनकुनेबाट एअरपोर्ट लाग्ने मोडबाट पर गएपछि बायाँतिर देखिन्छ गैह्रीगाउँ । काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित ‘गैह्रीगाउँ पेट्रोलपम्प’ नपुग्दै अलि वरै देखिन्छ, एउटा टहरा।
जहाँ काठहरूको चाङको चाङ देखिन्छ। टहरामा झुन्डिएको बोर्डमा लेखिएको छ ‘दिव्य सःमिल’। त्यहाँबाट सय, डेढ सय मिटर वर छ, महानगरीय प्रहरी वृत्त तीनकुने। यो त्यही काठ मिलमै गएराति भएको हो एकै परिवारका ३ सहित ४ जनाको सामूहिक हत्या ।
शनिबार बिहानै सबैको आङ सिरिङ्ग पार्ने घटनामा ७६ वर्षकी ज्येष्ठ नागरिकदेखि १९ वर्षे नवजवानसम्म चार जनाको एकै चिहान बन्यो। मारिने तीनजना एकै परिवारका हुन्। अर्का एक आफन्त हुन्।
मारिनेहरूमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल हुन्। मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको पनि त्यही मृत भेटिए।
स्थानीयका अनुसार चारैवटा शव घर काठको गोदाममा यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो। चारैवटा शवको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ।
गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, बिहान घर जानुअघि राति नै मारिइन्
करोडौंको कारोबार हुने मिलमा किन थिएन सीसीटीभी ?
दिव्य सःमिल दोलखा, कालिञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीको हो। उनी एमालेका नेता हुन्। गत प्रतिनिधिसभा चुनावमा दोलखाबाट उम्मेदवार रहेका उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका गङ्गाबहादुर कार्कीसँग चुनाव हारेका हुन्।
व्यवसायीसमेत रहेका शिवाकोटीको काठ मिल पुरानै व्यवसाय हो।
उनको काठमिलमा मारिने उनकै जिल्ला दोलखा घर भई हाल काठ मिलमै गेटपालेको काम गर्दै आएकाका परिवार हुन्। कुमार भुजेल लामो समयदेखि त्यहाँ पालेको काम गर्दै त्यही बस्थे।
गत राति कुमारको परिवारको सामूहिक हत्या भएपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान भइरहेको छ। घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्न गरी शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। घटना कसरी भएको थियो भन्ने अनुसन्धानको लागि सीसीटीभी नहुँदा समस्या परेको प्रहरी अधिकारीहरू बताउँछन्।
काठ मिल ठूलो उद्योग हो। करोडौंको कारोबार हुने कम्पनीमा सीसीटीभी नहुनु आश्चर्यजनक रूपमा लिइएको छ। तर, सीसीटीभी नहुनु र हत्याको घटना हुनुमा भने कुनै सम्बन्ध छैन। किनकि, घटनामा शंकास्पद एकजना पक्राउ परेका छन्। जसको पाले कुमारको परिवारसँग व्यक्तिगत रिसिइबी थियो।
प्रहरीका एक अधिकारी भन्छन् ‘‘सीसीटीभी फुटेज नभए पनि घटनाको क्लु नजिक पुगेका छौँ। किनकि रगतसहित एकजना नियन्त्रणमा छन्। जो शंकास्पद हुन्। तर, काठ गोदाममा शवहरू यत्रतत्र थिए। सीसीटीभी भएको भए घटना के कसरी भएको थियो भन्ने देखिन्थ्यो। अनुसन्धानमा धेरै सहज हुन्थ्यो।’’
सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका राईका बुबा यसअघि त्यही मिलमा काम गर्थे।
गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल
उनी डराएर आएको र हातमा रगतसमेत भएको कारणले दीपेन्द्र पनि हत्यामा संलग्न हुनसक्ने हुनसक्ने आशंकासहित उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दीनेशराज मैनालीले बताए।
घटनामा अरू पनि संलग्न भएको हुन सक्ने र उनले मात्र हत्या गर्न नसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटना मादकपदार्थ सेवन गरेपछि आवेगमा भएको देखिएको आशंका छ।
एक महिनाअघि भएको थियो झगडा
पक्राउ परेका दीपेन्द्र पनि कुमारको परिवारसँगै खाना खान्थे। उनीहरूबीच महिना दिनअघि सामान्य विवाद भएको छिमेकी बताउँछन्।
छिमेकी आरती लामा भन्छिन्, ‘‘दीपेन्द्र पनि उहाँहरूसित खाना खान्थे। एक महिना अगाडिचाहिँ त्यसलाई भात पकाएर दिन्नँ अब भन्दै भाउजू रिसाउनुभएको थियो। त्यो बेला सामान्य झगडा भएको थियो।’’
Facebook Comment
Comment