गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

उनी श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन्। बिहीबार श्राद्ध सकेर कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए। बिहानै दोलखा घर जाने तयारी थियो। तर राति नै …

नेपालभ्युज

गोकर्णमा श्राद्ध गर्न काठमाडौं आएकी थिइन् सुभद्रा, घर जानुअघि राति नै मारिइन्

काठमाडौं। शनिबार बिहानै सबैको आङ सिरिङ्ग पार्ने घटना भयो काठमाडौंमा। सुन्दा पनि आङ्ग सिरिङ्ग गर्ने त्यो घटना, जसको तस्वीर यहाँ राख्न पनि सकिने अवस्था छैन।

शनिबार सार्वजनिक बिदा मनाउन काठमाडौंको माहोल रमाइलो थियो। त्यो माहोलबाट काठमाडौंको तीनकुनेको गैरीगाउँ पनि अछुतो रहेन।

एकै ठाउँमा एकै परिवारको तीन जनासहित चार जनाको सामूहिक हत्या गरिएपछि गैह्रीगाउँमा सन्नाटा छायो। राति हत्या भएपछि बिहानसम्म सनसनी मच्चियो।

काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा ४ जनाको शव भेटिएको थियो।

मारिनेहरूमा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल हुन्।

मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको पनि हत्या भएको हो।

बिहान घर जाने तयारी थियो, राति नै …

गएराति हत्या गरिएका चारमध्ये ७६ वर्षीय की सुभद्रा भुजेल हिजो मात्र गैह्रीगाउँ आएकी हुन्। लामो समयदेखि छोरा कुमार काष्ठ मिलमा गेटपालेको गेट पालेको काम गर्दैआएका थिए। उनी चाडबाडमा दोलखा घर जान्थे। नत्र यतै बस्थे।

मिलमा कुमार र उनकी पत्नी अम्बिका मात्र बस्थे। कुमारकी आमा सुभद्रा भुजेल भने हिजो मात्र तीनकुने आएकी हुन्।

उनी श्राद्ध गर्न २६ गते दोलखाबाट काठमाडौं आएका थिइन्। बिहीबार श्राद्ध सकेर कान्छो छोराले बालुवाटारबाट जेठो छोरा कुमारको ल्याइदिएका थिए।

घटनास्थल

स्थानीयले नेपाल भ्युजसँग भने, ‘‘आमा हिजो मात्र यहाँ आउनुभएको थियो। कुशे औँसीमा श्राद्ध गर्न गोकर्ण आउनुभएको थियो। दुई रात कान्छो छोराकोमा बस्नुभयो। हिजो शुक्रबार छोराकोमा बस्न आउनुभएको थियो। उहाँ शनिबार बिहानै दोलखा घर जाने तयारी थियो। तर राति नै …’’

सुभद्रा शनिबार दोलखा फर्किने तयारीमा रहे पनि फर्कन पाइनन्। उनीसहित परिवारै सखाप भयो। चारैजनाको शवको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ।

घटनामा शंकास्पद सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका राईका बुबा यसअघि त्यही मिलमा काम गर्थे।

गैह्रीगाउँ हत्या प्रकरण : चार जनाको हत्या भएपछि यस्तो देखियो घटनास्थल

उनी डराएर आएको र हातमा रगत समेत भएको कारणले दीपेन्द्र पनि हत्यामा संलग्न हुनसक्ने आशंकासहित उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुमोद कुमार ढुङ्गेलले बताए।

घटनामा अरू पनि संलग्न भएको हुन सक्ने र उनले मात्र हत्या गर्न नसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटना मादक पदार्थ सेवन गरेपछि आवेगमा भएको देखिएको आशंका छ,

उक्त दिव्य सःमिल दोलखा, कालिन्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण सिवाकोटीले सञ्चालन गरेका हुन्।

कुमारको परिवार बस्दै आएको ठाउँ

एक महिनाअघि थियो झगडा

पक्राउ परेका दीपेन्द्र पनि कुमारको परिवारसँगै खाना खान्थे। उनीहरूबीच महिना दिनअघि सामान्य विवाद भएको छिमेकी बताउँछन्। छिमेकी आरती लामा भन्छिन्, ‘‘दीपेन्द्र पनि उहाँहरूसित खाना खान्थे। एक महिना अगाडिचाहिँ त्यसलाई भात पकाएर दिन्नँ अब भन्दै भाउजू रिसाउनुभएको थियो। त्यो बेला सामान्यझैँ झगडा भएको थियो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved