विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग

नेपालभ्युज

विदेशी सवारी साधनको थप छुटपुर्जी जनकपुर भन्सार कार्यालयबाटै दिन माग

जनकपुरधाम । भारतको विहार प्रदेशबाट जनकपुरधाम प्रवेश गरिसकेका पर्यटकले आफ्नो बसाइ लम्ब्याउन चाहेमा पुनः जटही नाका गएर पुर्जी कटाउने झन्झटिलो व्यवस्था हटाउन यहाँका व्यापारी व्यवसायीहरुले माग गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घ नेतृत्वको टोलीले आज भन्सार विभाग काठमाडौँमा महानिर्देशक शोभाकान्त पौडेललाई अनुरोधपत्र बुझाउँदै जनकपुर बजारमै रहेको भन्सार कार्यालयबाट सो व्यवस्था गर्न माग गरेको हो ।

संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले नेपाल प्रवेश गर्ने भारतीय पर्यटकले प्रयोग गर्ने सवारी साधनलाई जटही नाकाबाट एकदिने छुटपुर्जी दिइसकेपछि म्याद थप्न चाहेमा पुनः जटही भन्सारमै फर्किनुपर्ने समस्या समाधान गर्न विभागलाई आग्रह गरिएको जानकारी दिए ।

“धार्मिक सांस्कृतिक सहर भएकाले भारतबाट धेरै मानिसहरु जनकपुर आउनुहुन्छ । त्यसरी आउने पर्यटकलाई जटही नाकामा रहेको भन्सार कार्यालयबाट एकदिने सवारी छुटपूर्जी लिनुपर्ने व्यवस्था छ । यसरी आएका पर्यटकले बसाइ लम्ब्याउन वा यतैबाट देशका अरू सहरमा जान चाहेमा पुनः करिब १४ किलोमिटर टाढा रहेको सोही कार्यालयमा फर्किनुपर्ने बाध्यता छ”, महासेठले भने, “पर्यटकहरुले बारम्बार समस्याबारे गुनासो गर्ने र झन्झट बेहोर्नुभन्दा भारत नै फर्किने सहज मान्ने गरेका छन् । यसकारण बजारमै रहेको जनकपुर भन्सार कार्यालयबाट त्यो सुविधा प्रदान गरेमा धेरै राहत हुनेछ । यही विषयको अनुरोधपत्र बुझाएका छौँ । महानिर्देशकले यस विषयमा चाँडै निर्णय गर्ने आश्वासन दिनुभएको छ ।”

सङ्घका महासचिव मनोजकुमार साहले जनकपुरमा भन्सार कार्यालय भएकाले विभागले आवश्यक परामर्श गरी निर्देशन दिएमा समस्याको तत्काल सहज समाधान हुनेबारे ध्यानाकर्षण गराइएको बताए । उनले पर्यटकको बसाइ लम्ब्याउन र जनकपुर आएकाहरुलाई देशका अरू भूभागमा जान चाहेमा राज्यका निकायले स्वागत तथा सहजीकरण गर्नुपर्ने भन्दै छुटपुर्जीका लागि जनकपुर भन्सार कार्यालयबाट आवश्यक कार्य अगाडि बढाउन आग्रह गरे ।

अध्यक्ष महासेठ र महासचिव साहद्वारा हस्ताक्षरित अनुरोध पत्रमा भनिएको छ, “धार्मिक, सांस्कृतिक, आर्थिक तथा मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रवेश गरिसकेपछि अन्य सहरमा जान वा दुईचार दिन जनकपुरमा बस्ने इच्छा जागृत भयो भने पुनः जटही नाकाको भन्सार कार्यालयमा गई विदेशी सवारी साधनको शुल्क तिरी पुर्जी कटाउने व्यवस्था रहेको हुँदा सो व्यवस्था परिमार्जन गरी जनकपुर भन्सार कार्यालयमा भन्सार काट्ने व्यवस्था अविलम्ब मिलाइदिनहुन अनुरोध गर्दछौँ ।” रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved