इराकमा १२ नेपालीको हत्या र काठमाडौंको विध्वंश (भिडिओ)
मानव तस्करले जोर्डन भन्दै अवैध रूपमा इराकमा पुर्याएका १२ नेपालीको हत्या भएको १९ वर्ष पूरा भएको छ। घटनाको आक्रोशमा काठमाडौंमा भएको ठुलो विध्वंस भयो। मृतक परिवारले त्यो पीडा अझै भुल्न सकेका छैनन्, अर्कोतिर अवैध इराक गमन अझै रोकिएको छैन। त्योबेला मृत्युको मुखमा पुगेर बाँच्न सफल गोरखाका विप्लव भट्टको इराक यात्रालाई पनि यहाँ उल्लेख गरेका छौँ।
काठमाडौं। ‘‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस्। रोजगारीका लागि इराक पुगेका १२ नेपाली अपहरणमा परेका छन्। साउदी टेलिभिजन अलजजिराका अनुसार ‘आर्मी अफ अन्सर अल सुन्ना’ नामको विद्रोहीले नेपाली युवालाई अपहरण गरेको हो।’’
६ भाद्र २०६१ मा रेडियो नेपालबाट बजेको समाचार हो यो।
२०६१ सालमा देशमा संकटकाल लागेको थियो। मुलुक माओवादी द्वन्द्वको उत्कर्षमा थियो । विकट गाउँका युवालाई माओवादीले राज्यविरुद्धको लडाइँको लागि लग्थे। परिवारका अरू सदस्यलाई राज्यतर्फका सुरक्षाकर्मीले आएर सताउँथे। युवाहरूको भागाभाग थियो।
आफ्नै देशमा युवाहरूले असुरक्षित महसुस गरिरहेका थिए। यस्तैमा जेठको पहिलो सातातिर कान्तिपुर दैनिक पत्रिकामा एक विज्ञापन छापियो। जुन विज्ञापनले स्वदेशमा असुरक्षा ठानिरहेका र भविष्य नदेखेका केही युवाको ध्यान खिच्यो।
प्रकाशित विज्ञापनअनुसार मध्यपूर्वी देश ‘जोर्डनमा केही कामदार आवश्यक’ रहेको भनिएको थियो। एक पाँचतारे होटेलमा भान्से (कुक)को काम गर्ने कामदार चाहिएको विज्ञापन थियो।
विज्ञापन हेरेर केही युवाले ‘एप्लाई’ गर्ने सोच बनाए। विदेश जान चाहेका झन्डै ३५ बढी नेपालीले विज्ञापन दाता कम्पनी ललितपुर कुपन्डोलस्थित मुनलाइट मेनपावरमा पासपोर्ट बुझाए।
रितपूर्वकको निवेदनपछि जोर्डन जान उनीहरूलाई वैदेशिक रोजगार विभागले १६ असार २०६१ मा श्रम स्वीकृति दियो। मुनलाइट मेनपावपरले उनीहरूको भिसा र प्लेन टिकेटको व्यवस्था मिलायो। विदेश लगेबापतको शुल्क भन्दै मेनवापरले प्रतिव्यक्ति डेढ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल्यो।
भिडिओ-
अन्ततः १९ असारमा केही नेपाली युवालाई मुनलाइट मेनवापावरले जोर्डन पठायो। जोर्डन लगिएका ३५ नेपाली युवामध्ये १२ जना अपहरणमा परे। जोर्डनमा होटेलमा काम गर्नका लागि श्रम स्वीकृति लिएका नेपालीलाई झुक्क्याएर इराक पुर्याइएको रहेछ।
इराकमा गृहयुद्ध चलिरहेको थियो। त्यहाँ पुर्याएका १२ जना नेपालीलाई त्यहाँको विद्रोही आतंककारी ‘आर्मी अफ अन्सर अल सुन्ना’ नामक समूहले नियन्त्रणमा लिएको रहेछ।
अपहरणमा परेकाहरूको फोटो अपहरणकारीको समूहले आफ्नो वेबसाइटमा राख्यो। भिडिओमा बन्धकहरूको आर्तनाद र जीवन रक्षाको पुकारलाई देखाइएको थियो। युवाहरूलाई आ-आफ्नो पासपोर्ट बोक्न लगाइएको थियो। एक जनालाई अमेरिकाको झन्डा बोक्न लगाइएको थियो।
सबैको अनुहारमा डर देखिन्थ्यो। अब के हुन्छ भन्ने उनीहरू सबैलाई थाहा थियो तर, किन भइरहेको छ भन्ने कसैलाई थाहा थिएन। त्यो भिडिओ इन्टरनेटमा राखिएपछि साउदी टेलिभिजन अलजजिराले समाचार प्रसारण गरेको थियो। सोही खबर उद्धृत गर्दै नेपालमा रेडियो नेपालले समाचार बजाएको थियो।
०००
अपहरणमा पर्नेमा रमेश खड्का, सञ्जयकुमार ठाकुर, झोकवहादुर थापा, जीतबहादुर थापा, मंगलबहादुर लिम्बू, ललन ठाकुर, विष्णुहरि थापा, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी, बुद्ध ठाकुर र मनोज ठाकुर थिए।
नेपाली युवा इराकमा अपहरणमा परेको खबरले नेपालमा सन्नाटा छायो। अब के होला भन्ने चासो सबैमा थियो। अपहरणमा परेकाहरूको परिवारमा छटपटी चल्यो। यस्तो होला भनेर कसैले कल्पना पनि गरेका थिएनन्।
आतंककारीको पन्जाबाट आफ्ना मानिस छुटाउन परिवार र आफन्तले भरमग्दुर प्रयास गरे। रिहाइको माग गर्दै पत्रकार सम्मेलन गरे, /र्याली गरे। उनीहरूलाई विदेश पठाउने मुनलाइट मेनवापर सञ्चालक सञ्चालक प्रल्हाद गिरीको खोजी भयो।
उनी सम्पर्कमा आएनन्। पीडित परिवारले म्यानपावरको ढोकामा ताला नै लगाइदिए। अपहरणमा परेको खबरलगतै भागेका प्रल्हाद गिरी भेटिएनन्। उनी अहिलेसम्म (प्रहरीको अभिलेख)मा फरार छन्।
उनी फरार भएपछि पीडितले हारगुहार गर्ने ठाउँ मात्रै बाँकी रह्यो, सरकारी निकाय। पीडितका आफन्तले मन्त्रीहरूदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर ज्ञापन पत्र बुझाए।
आफ्ना मानिसको सकुशल स्वदेश झिकाइदिन भन्दै तत्कालीन श्रममन्त्री रघुजी पन्तसमक्ष ज्ञापनपत्र बुझाए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइयो।
उद्धारको लागि सक्दो सहयोग गर्ने आश्वासन पाए। आफ्ना छोराको उद्धार होला र स्वदेश फर्किएला भन्ने आशामा बाबुआमा थिए। आतंककारीको पन्जाबाट छुटाउन सकिने आशा पालेका थिए, परिवारले।
०००
१५ भदौ ०६१ मा अपहरणमा परेको सार्वजनिक भएको ११ दिन भइसकेको थियो। अपहरणकारी आतंकावादी समूह भएकाले आफन्त त्रासमा थिए। अपहरितहरू छुटेको खबर सुन्ने प्रतीक्षामा थिए। के होला कसो होला भन्ने कौतुहलता थियो।
त्यतिबेला टेलिभिजन पनि धेरै थिएनन्। पीडित परिवारहरू छिमेकीको घरमा आक्कलझुक्कल समाचार हेर्न पुग्थे। खुसीको समाचार आउने आशामा रेडियोमा कान थापेर बस्थे।
यत्तिकैमा मध्यान्न रेडियो नेपालमा दिउँसो १ बजेको समाचार आयो। पहिलो समाचार थियो, ‘‘इराकमा अपहरणमा परेका १२ जना नेपाली युवाहरूको हत्या गरिएको छ। अपहरणकारी आर्मी अफ अन्सर अल सुन्ना नामको संगठनले अपहरण गरेका सबै जना नेपालीको हत्या गरेको हो।’’
क्रूर एवं अमानवीय तबरले १२ नेपालीको हत्या गर्ने आतंकवादी समूह ‘आर्मी अफ अल सुन्ना अल अन्सार’ले बीभत्स भिडिओ आफ्नो वेबसाइटमा राख्यो। ४ मिनेट लामो भिडिओमा बन्धक मध्ये एकलाई सन्देश छाड्न लगाइएको रहेछ।
‘‘इराक ल्याएर फसाएर मर्न बाध्य बनाउने मेनवापर सञ्चालकलाई कारबाही होस्’’ धनकुटा हात्तीखर्क खमारे ४ का मंगलबहादुर लिम्बूले अश्रुमिश्रित स्वरमा पुकारा गर्दै थिए।
त्यसलगतै अपहरणकारीले गोरखा शहीद लखन गाउँपालिका–१ बक्राङकका जीतबहादुर थापालाई घाँटी रेट्न थाले। हेर्नै नसकिने त्यो भिडिओमा अति दर्दनाक तरिकाबाट मारिएको देखिन्छे। अरू ११ जनालाई हात खुट्टा बाँधेर राखिएको थियो। उनीहरूलाई पछाडिबाट लगातार गोली हानेर मारिन्छ।
धन कमाउने अवसर भन्दै मानव तस्करले जोर्डन भन्दै इराक ओराल्यो। नेपाली युवाको लाहुरे सपनालाई इराक–अमेरिका झमेलामा परी नफुल्दै लाहुरे फूल मरुभूमिमा ओइलाएर झारिदियो।
अपहरित सबै १२ युवाको हत्या भएको खबरले मुलुक स्तब्ध भयो। बर्बरतापूर्ण हत्याले देश मात्र रोएन, सम्पूर्ण विश्व नै स्तब्ध बन्यो।
१२ नेपालीको हत्यापछि रेडियो टेलिभिजनबाट समाचार लगातार बजिरहे। अहिले जस्तो इन्टरनेटको पहुँच धेरैमा थिएन। हत्याको भिडिओ वेबसाइटबाट डाउनलोड गर्दै सीडी, भीसीडी, डीभीडीमा कपी गर्दै धेरैको हातहातमा पुग्यो।
अहिलेको भाषामा भन्नुपर्दा भाइरल भयो। एक जनाको शिरछेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडिओले सारा नेपालीको खुन उमाल्यो। आक्रोशित बनायो।
०००
नेपाली मारिए इराकमा, हिंसा भड्कियो नेपालमा
१६ भदौ ०६१। घटनाको भोलिपल्ट काठमाडौं आक्रोशित थियो। अघिल्लो साँझ नै काठमाडौंसहित देशका विभिन्न भागमा राति शान्तिपूर्ण जुलुस निस्किएको थियो।
भोलिपल्ट बिहान सबैभन्दा पहिला बानेश्वरबाट एक हुल विद्यार्थी निस्किए। अनि सुरु भयो दंगा। इराकमा बर्बरतापूर्ण तरिकाले तड्पाई-तड्पाई हत्या गर्ने काम भयो। त्यस्तो आतंककारी अपराधले सिर्जना गरेको पीडा ३ हजार ९ सय ४७ किमी (आकाशको सीधा दूरी) पर काठमाडौंमा एकाएक पोखियो।
आकाशमा कालो धुवाँको मुस्लो देखा पर्यो। सडकमा टायरको गन्ध आयो। त्यसबेला काठमाडौं अहिलेजस्तो थिए, अलि साँघुरा थिए सडक। गाडीहरू कर्म चल्थे।
पैदलयात्री पनि अहिलेको तुलनामा कमै हुन्थे। अहिलेजस्तै केही सडक किनारका बिरुवाहरू थिए। सार्वजनिक सवारीसाधन ठप्प भयो। ‘‘दलाल मेनपवार मुर्दावाद, हत्यारा आतंकावादी मुर्दावाद’’को नारा लाग्यो।
बानेश्वरबाट सुरु भएको भीड र दंगा केहीबेरमै उपत्यका ढाक्यो। जसरी भदौरे गर्मी चढ्दै थियो, त्यसरी नै जनआन्दोलनको राप बढ्दै गयो। सुरक्षा संयन्त्र के गर्ने र कसो गर्ने अन्योलमा थिए।
सुरक्षा रणनीति बनाउन नपाउँदै उपत्यकाभरका स्कुल क्याम्पसबाट जुलुस निस्किसकेको थियो। घर-घरबाट मानिसहरू निस्किए। आक्रोशित भीड तोडफोड र आगजनीमा उत्रियो। आतंकवादीहरूद्वारा नेपालीहरू मारिए इराकमा, हिंसा भड्कियो नेपालमा।
भीडले काठमाडौं उपत्यकाभरका म्यानपावर कम्पनीका कार्यालयहरू जलायो। तोडफोड र आगजनी म्यानपावर कम्पनी लक्षित थियो। किनकि, म्यानपावर कम्पनीले नेपालीलाई जोर्डन लैजाने भन्दै इराक लगेका थिए। व्यापारिक प्रतिष्ठान, सञ्चार गृह पनि निसानामा परे। इतिहासमै नभएको दंगा फैलियो, राजधानीमा।
हिंसात्मक आन्दोलनको नेतृत्वकर्ता कोही थिएन। स्वस्फूर्त निस्किएको प्रदर्शनकारी कफ्यू तोड्दै आन्दोलन चर्काउँदै थियो।
अपराह्न २ बजेसम्म विध्वंसको रूप काठमाडौंमा नभई देशैभरि फैलिसकेको थियो। खासगरी, सहरी क्षेत्र तनावग्रस्त हुन पुग्यो। जनधनको ठूलो क्षति हुनपुग्यो। हिंसा नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू लगायो।
त्यो एकै दिनमा काठमाडौं उपत्यकाका कुनै म्यानपावर एजेन्सी बचेनन्, आक्रमणकारीको निशानाबाट। एक सयभन्दा बढी मेनपावर ध्वस्त भए।
सयौँ म्यानपावरबाट हजारौं राहदानीहरू झिकेर जलाइए। फर्निचरमा आगो झोसे। दनदनी बले, म्यानपावर कार्यालयहरू। जलाइएका र च्यातिएका राहदानी सङ्ख्या ४० हजार बढी थियो।
त्यत्तिले विद्रुप र विध्वंस रोकिएन। कतार एअर, पाकिस्तानी एअरलगायत हवाईसेवाका कार्यालयहरू पनि तोडफोड भयो। फर्निचर तथा कागजात जलाइयो।
हिंसा चर्किँदै जाँदा भीड मुस्लिम समुदायप्रति कठोर बन्यो। मेनपावरपछि हिंसात्मक समूहहरूले मस्जिदहरूतर्फ आक्रमण गर्न लागे। मस्जिद र मदरसा जलाए।
इस्लाम धर्मावलम्बीप्रति जाइलाग्नुको एक मात्र कारण थियो नेपालीको हत्यारा मुस्लिम थिए। तर, इराकको आतंकावादीको साइनो नेपाली मुस्लिमसँग भने कतै थिए।
तर, विवेक र संयमता गुमाइसकेको आक्रोशित भीडले त्यो बुझ्ने कुरै थिएन। मुस्लिम समुदायका मानिस पनि उनीहरूको शिकार बने। उनीहरूका निजी घरमा समेत आक्रमण र तोडफोड भए।
दिउँसो २ बजेपछि काठमाडौं उपत्यकामा कर्फ्यु आदेश जारी भयो। तैपनि, भीड नियन्त्रणमा आएन। उग्र आन्दोलन नियन्त्रणमा लिने क्रममा प्रहरीले सयौँ सेल अश्रु ग्यास छोड्यो।
दर्जनौँ राउन्ड गोली चलायो। काठमाडौंमा प्रहरीको गोली लागेर सयभन्दा बढी घाइते भए। दुई जनाको ज्यान गयो। अपराह्नतिर बल्ल काठमाडौं शान्त भयो। पछि लेखाजोखा गर्दा थाहा भयो त्यो एकै दिनको विद्रुपमा झन्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएछ।
०००
नेपालीको स्वभाव र सुरक्षा कमजोरीले विध्वंस
कसैले कल्पना नगरेको विद्रुप र विध्वंस हुनुमा नेपालीको स्वभाव र सुरक्षा कमजोरी रहेको जानकारहरू बताउँछन्। तत्कालीन समयका प्रहरीका एक अधिकारी भन्छन्, ‘‘नेपालीहरूलाई क्रूरतापूर्वक मारिएको भिडिओ सार्वजनिक नभएको भए पनि यत्तिका ठूलो विध्वंस हुँदैनथ्यो।
आफ्ना देशका जनतालाई घाँटी रेटेर, गोली हानेर मारेको देखेपछि सबै आक्रोशित भए। आक्रोश र भीडले विवेक र संयमता गुमायो।’’
तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्का, गृहसचिव अनन्तराम पाण्डे र तत्कालीन जिल्ला प्रहरी काठमाडौंका प्रमुख एसपी नारायण बस्ताकोटीको लापरबाहीको कारण ठूलो क्षति भएको जानकारहरू बताउँछन्।
गृहमन्त्रीले कर्फ्यु घोषणा गर्न ढिलाइ गरेको जानकारहरूको स्मरण छ। गृहसचिव पाण्डे बिदामा थिए भने, प्रधानमन्त्री देउवाका निकट मानिने एसपी सञ्चार सेटसमेत बन्द गरेर बेपत्ता थिए।
उनले यतिसम्म लापरबाही गरे कि, घटना हुन्जेल उनी सम्पर्कमै आएनन्। एकजना सुरक्षाविद् भन्छन्, ‘‘देशै रोएका बेला जिम्मेवार पात्रहरूको चरम गैरजिम्मेवारीपन छताछुल्ल भयो। यस कारण धेरै क्षति भयो। धेरै क्षति भएपछि मात्र गृहले कर्फ्यु घोषणा भयो। पहिल्यै भएको भए क्षति कम हुन्थ्यो।’’
कतिपयले त्यो दङ्गालाई निहित स्वार्थी तत्त्वको घुसपैठ भएको आशंका गरे। तैपनि, आक्रोशित युवाहरू स्वस्फूर्त प्रदर्शनमा निस्किएको र संयम गुमाएको छानबिन समितिले ठहर गर्यो।
सहिष्णु नेपाली समाज एकाएक मुस्लिम समुदायप्रति आक्रामक बन्दा पनि ठूलो खतरा टरेको समाजशास्त्री डा गणेश गुरुङ स्मरण गर्छन्। इराकमा मारिएका १२ नेपालीको परिवारलाई न्याय दिलाउन अमेरिकी अदालतसम्म धाएका गुरुङ भन्छन्, ‘‘त्यो विध्वंस र ताण्डवले जातीय दंगा भड्काउने पो हो कि भन्ने चिन्ता थियो। मस्जितमा आगजनी र भीडले मुस्लिमलाई आक्रमण गर्न थालेपछि सहिष्णुता खलबलिने र हिंसा भड्किने चिन्ता थियो। तर, ढिलै भए पनि आन्दोलन मत्थर भयो। तर, जे नहुनु भइसकेको थियो।’’
यसरी परे आतंकवादीको कब्जामा
दलालको बदमासीकै कारण जोर्डन भनेर लगिएका १२ नेपाली इराक पुर्याइएको उनीहरूसँगै जाने मध्येका गोरखाका विप्लव भट्ट बताउँछन्।
संयोगले बाँच्न सफल भट्ट इराकमा रहेका अमेरिकी सेनालाई खाना पकाउनका लागि नेपालीलाई क्याम्पतर्फ जाँदै गर्दा आतंककारी समूहले नियन्त्रणमा लिएको बताउँछन्।
‘‘हामी सबैलाई जोर्डनमा अँध्यारो र फोहोर घरमा भेडाबाख्रा जसरी राखिएको थियो। केही नेपाली बिरामी परेका थिए। मैले केहीलाई पानी पट्टी लगाइदिएको थिएँ। त्यहाँ फेरि इन्टरभ्यू लिने भनियो। पहिला पालो हाम्रो आयो। हामीलाई पहिला लग्यो। त्यहाँबाट हामीलाई इराक लग्यो’’ १९ वर्षअघिको घटना उनी स्मरण गर्छन्।
मृत्युको मुखमा पुगेर आफू बाँचेको तर, अरू सफल नभएको २ दशकअघिको यात्रा भट्टको आँखैमा झलझली याद आइरहेको छ। उनी यसरी सम्झिन्छन्, ‘‘उनीहरूको अर्को दिन थियो। हामीलाई जीएमसी लेखिएको तीनवटा गाडी लिन आयो। चार-चारजना राख्यो। छुट्दा उनीहरूले हामीलाई भनेका थिए तपाईंहरू त अनुभव पनि भएकाले पास हुनुभयो। पास भए, हामी पनि आउँला।’’
त्यसो भनेर भट्ट र साथीहरू इराक पुगेको पनि एक हप्ता बित्छ। उनीहरूलाई बाँकी साथीहरू छिट्टै ल्याउने बताइन्छ। भट्ट काम गर्दै टिभी हेरिरहेका बेला बीबीसी न्युजमा १२ नेपाली अपहरणमा परेको समाचार देख्छन्।
यत्तिकैमा बाँकी नेपाली कामदार लिन गएको जीएमसी गाडी रित्तै फर्कियो। उनीहरू जोर्डनबाट आउँदा चढेको गाडी आतंककारी समूहले नियन्त्रणमा लिएछ। त्यसको ११ दिनसम्म यातना दिएर निर्ममतापूर्वक हत्या गरे।
परिवारमा बज्रपात
देशमा संकटकालको त्रासले युवाहरूको भागाभाग भएको त्यो बेला आफ्ना छोरा परदेश लागेकामा आमाबाबुको मनमा थोरै शान्ति पलाएको थियो। तर, कमाउन भनेर गएको छोरा आतंकावादीको पन्जामा परेर मारिए।
घटनाको १९ वर्ष पूरा हुँदा पनि आफन्तहरूको मन शान्त छैन । आजकै दिन इराकमा आतंककारी समूहले छोरा जीतबहादुरको हत्या गरेको खबर रेडियोबाट सुन्दा शहिद लखन गाउँपालिका–१ बक्राङकी ७८ वर्षीय भक्तिमाया थापा बेहोसै भएकी थिइन्।
उनी त्यो कालो दिन चाहेर पनि भुल्न सक्दिनन् उनी। त्यस दिनको सम्झना गर्नासाथ आँखा रसाउँछन् उनका। आफू र परिवारको भविष्यको सपना बोकेर २३ वर्षको उमेरमा विदेसिएका छोराका फर्केर आएनन्।
अझै पनि छोराको मृत्यु भएको विश्वास लाग्दैन, भक्तिमायालाई। ‘‘कसैका छोरा त हराएको ४० वर्षपछि पनि फर्किए भन्ने खबर सुनेको छु। के मेरै छोरो मारेका होलान् त। कुनै दिन अचानक घर आएर आमा भनिदियोस् भन्ने जस्तो लाग्छ,’’ उनी भन्छिन्,‘‘अपहरणमा परेको खबर रेडियोमा सुनेका थियौँ। केही दिनपछि पापीहरूले घाँटी रेटेर मारे भन्ने सुनियो।’’
जीतबहादुर विदेश जाँदा उनकी डेढ वर्षकी छोरी पनि थिइन्। अहिले बिस वर्ष कटिसकेकी छिन्।
उस्तै पीडामा छिन्, ललितपुर टीकाभैरवकी ७२ वर्षीय राधिका खड्का पनि। छोराको सम्झनामा उनले घरको आँगनमै छोरो रमेशको सालिक बनाएकी छिन्। हरेक बिहान रमेशको सालिकमा करुवाबाट जल चढाउनु उनको नित्यकर्म हो।
चोखो जलसँगै आँसु पनि चढाएर राधिका सुसाउँछिन्, “बिहान उठेर मुख धुन्छु। त्यसपछि एक करुवा पानी चढाउँछु। छोरा तिर्खाएको होला भन्ने लाग्छ। पानी हाल्दा छोरोले नै पिएजस्तो लाग्छ।”
रमेशका बुबा ७५ वर्षीय जीतहादुर खड्का रमेशका आमा राधिकालाई अड्याउनकै लागि सालिक बनाएको बताउँछन्।
‘‘उनलाई छोराको मुख हेर्न सालिक बनाइदिएको हो। भलै, छोराको रूपमा सालिक उभिएकै छ। तर, यो बाटोमा कोही नवजवान युवाहरू हिँडेमा उनले छारा नै हिँडेको जस्तो मान्छिन्। रमेश विदेसिँदा भर्खरै जुँगाको रेखी बस्दै गरेको थियो’’ जीतहादुर भन्छन्।
०००
अझै रोकिएन इराक गमन
१६ भदौ २०६१ को आन्दोलनपछि नेपाल सरकारले नेपालीलाई इराकमा रोजगारीका लागि जान बन्देज लगायो। आजका दिनसम्म जारी छ। तर, इराककै धेरै ठाउँमा आज पनि हजारौँ नेपाली काम गरिरहेका छन्।
सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको सङ्ख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीहरू बताउँछन्।
Facebook Comment
Comment