इराक काण्डको १७ वर्ष

अझै ओभाएका छैनन् आमाका आँखा

इराकमा अपहरणमा परी १२ नेपाली युवा मारिएको १६ भदौमा १७ वर्ष पुगेको छ तर ती युवाका परिवार र आफन्तजनका आँखा अझै ओसिला छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि हत्केलामा ज्यान राखेर सुख खोज्दै जाने क्रम रोकिएको छैन बरु अन्य देश र महादेशसम्म पुग्ने लर्को बढ्दो छ।

अझै ओभाएका छैनन् आमाका आँखा

कालो अनुहारको अर्धकदे सालिक। सालिकका छिमेकी छन्- गणेश, शिव र सरस्वती मूर्ति बसेका सानो मन्दिर अनि अलि तल खोलाकिनारमा टीकाभैरव मन्दिर।

सालिकनेर खाली बोरा ओछ्याएर मकै बिस्कुनले घाम ताप्दैछन् भने बजार जान ठिक्क परेका काँक्रा फुङ्गाभरि छन्। काँक्रानेरै छ, फुल्न तर्खर लाहुरे फूल। पुत्रशोकले भिजेको आमा-आँखा घरी सालिकमा बस्छ त घरी फुल्न हतारिएको उही लाहुरे फूलमा।

एकदिन उनै आमा काखको त्यो कोपिला भुर्र उडेको हो। मानव तस्कर डोरीको मैने गाँठोले कसक्क कसेर जोर्डन भन्दै इराक ओरालेको हो। इराक-अमेरिका झमेलामा परी नफुल्दै लाहुरे फूल मरुभूमिमा ओइलाएको हो।

रड हालेको बायाँ हातले करुवा उठाउँदै आमाले नदुखोस्जसरी बिस्तारै करुवाबाट पानीले अनुहार भिजाउँछिन्। पानी सालिक अनुहार भिजाउँदै ओर्लन्छ भने आमा आँखाबाट आँसु चोलो भिजाउँदै। सालिकमा पानी हालिरहेकी आमाछेवैका बूढा बा आँखाबाट पनि आँसु ओर्लन्छ।
“बिहान उठेर मुख धुन्छु। त्यसपछि एक करुवा पानी चढाउँछु,” १४ भदौको दिउँसोपख ललितपुर टीकाभैरवमा छोरोको सालिकमा करुवाबाट जलसँगै आँसु पनि चढाएर राधिका खड्का(७०) सुसाउँछिन्, “छोरा तिर्खाएको होला भन्ने लाग्छ। पानी हाल्दा छोरोले नै पिएजस्तो लाग्छ।”

राधिका सालिकनेर उभिएर पतिका आँखासँगै छोरा खोजमा उड्छन्। भलै छोराको रुपमा सालिक उभिएकै छ। झोला बोकेर हिँडेको कोही किशोरमा आँखा अल्झिए वा उनको छोरोका साथी देखे छोरो नै आएजस्तो लाग्छ। त्यसपछि मन र मुटु मुस्किलले थामेर सालिकनेर पुग्छिन्। आमा-मन यै सालिकमै त अडिएको छ। सालिक बन्नुअघिका सम्हाल्न गाह्रो भएको हो कि ! सालिक नबन्दासम्म एकजना चौकिदार नै बस्नुपरेको हो। जसको काम हुन्छ- ढलेपछि उठाउने र पंखाले हावा हम्कने।

“करुवाबाट पानी चढाउने त परम्परा हो। सालिक नै बनाउनुको कारण भने आमालाई अड्याउन हो। छोराको मुख हेर्न सालिक बनाइदिएको हो,” सालिकबाट आँखा लाहुरे फूलमा लगेपछि जीतबहादुर खड्का(७३) भन्दैछन्।

सालिक २०६२ मा बनेको हो। सालिक उभिएको घर अंशबण्डामा अर्को छोरालाई परेपछि अहिले कान्छो छोराको भागमा परेको घरको आँगनमा सारेका हुन्।

खड्काका चार छोरा र तीन छोरी हुन्।

अहिले पनि खड्का दम्पती खेतीकिसानी गर्छन्। बिरामी हुँदा खाना पकाउन र लुगा धोइदिन कहिलेकसो नातिनीहरू आएर सघाउँछन्। पुत्र वियोगले थलिएका खड्का दम्पती बूढ्यौलीसँगै आइलागेका विभिन्न रोगसँग पनि लड्दै छन्।

“लडेको हात फ्याक्चर छ। बुढेसकालले पनि छोयो। औषधी त खाइरहनुपर्छ,” राधिका बायाँ हात देखाउँदै भन्छिन्, “सुर आउँदैन, अहिले भन्या अहिल्यै बिर्सिन्छु।”

त्यो पीडादायी दिन

‘जोर्डनको अम्मान लग्यो। पुरानो र साँगुरो घरमा राख्यो। जहाँ पहिले नै हाम्रो तराईतिरका मानिस पनि रहेछन्। ३० जना जति थिए होलान्। उनीहरूले ‘बसेको १०/१५ दिन भयो’ भने। चिनजान भयो, रमेश खड्कासित पनि। उहाँलाई हनहनी जरो आएको थियो। मैले पानीपट्टि लगाइदिएँ। जरो अलिकति घट्यो। उहाँले पनि कुकको लागि आएको भन्नुभयो।’

तीन वर्षअघि गोर्खाका विप्लव भट्टले नागरिक नेटवर्कमा (नागरिकन्यूजडटकम) भनेका छन्। भट्टका अनुसार जोर्डनको एउटा पाँचतारे होटलको लागि कुक भएर लगिएको हो। त्यहाँ फेरि अन्तर्वार्ता दिनुपर्छ। भट्ट भन्छन्, “रमेशहरूको अर्को दिन थियो। हामीलाई भने राति नै जिएमसी लेखिएको तीन वटा गाडी लिन आयो। चा-चारजना राख्यो। छुट्दा रमेशले पनि भन्नुभएको थियो- तपाईंहरू त अनुभव पनि भएकाले पास हुनुभयो। पास भए, हामी पनि आउँला।’’

अहिले पनि खड्का दम्पती खेतीकिसानी गर्छन्। बिरामी हुँदा खाना पकाउन र लुगा धोइदिन कहिलेकसो नातिनीहरू आएर सघाउँछन्। पुत्र वियोगले थलिएका खड्का दम्पती बूढ्यौलीसँगै आइलागेका विभिन्न रोगसँग पनि लड्दै छन्।

तर गाडीले उनीहरूलाई आर्मी क्याम्पमा लान्छ। कुक नभई गार्बेजको काम गर्न भन्छ। भट्ट भन्छन्, “गएको जोर्डन, पुर्‍याएछ, इराक।” एकदिन माइकलले भट्टलाई यसो पनि भन्छन्, “नआत्तेऊ। अरू १०/१२ जना नेपाली पनि आउँदैछन्।”

त्यसो भनेको पनि एक हप्ता बित्छ। भट्ट हलमा टिभी हेरिरहेको बेला बीबीसीमा १२ नेपाली मारिएको समाचार देख्छन्। उनी भोलिपल्ट झन ‘सक्’ हुन्छन् जब माइकलले भन्छन्, “मान्छे लिन गएको जीएमसी गाडी रित्तै फर्क्यो। ती त अपहरणमा परेछन्।”

यसरी इराकमा अपहरण परी मारिने १२ मध्ये एक जना त भट्टले पानीपट्टि गरेका उनै रमेश खड्का हुन्छन्। मारिनेमा रमेशसहित संजयकुमार ठाकुर, झोकवहादुर थापा, जीतबहादुर थापा, मंगलबहादुर लिम्बू, ललन ठाकुर, विष्णुहरि थापा, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी, बुद्ध ठाकुर र मनोज ठाकुर हुन्।

छोरोको तिर्खा मेट्न प्रत्येक दिन जल चढाउने राधिका खड्का उनै रमेशकी माता हुन् भने जल चढाउने सालिक उनै रमेशको हो। रमेशहरूको नियतिबाट संयोगले बच्ने भट्ट हुन्।

रमेशसहित १२ जना इराकमा मारिएका हुन्, १७ वर्ष अघि, १६ भदौ २०६१ को दिन।

०००

भीसीडी, मेमोरी कार्ड र सार्वजनिक प्रदर्शनीले नै इराकमा १२ नेपालीको हत्या खबर चैते डढेलो बन्छ। रमेशहरूलाई काठमाडौंको मुनलाइट मेनपावर कम्पनीले जोर्डनको पाँचतारे होटलमा कुक भनेर इराक पुर्‍याएको हो।

घटनालगत्तै आक्रोशित भीडले काठमाडौंलगायत देशका मुख्य शहरका मेनपावर एजेन्सी र सरकारी कार्यालयमा आक्रमण गर्छ। मस्जिद, खाडी देशका दूतावास र ती देशका विमान कम्पनीका कार्यालयहरूमा पनि।

अहिलेजस्तो युट्युब र सामाजिक सञ्जाल हुँदा हुन् त झन् कस्तो हुँदो हो ?

०००

१४ भदौको दिउँसोपख टीकाभैरवस्थित घरमा राधिका कान्छी छोरी रोएको र अमेरिकी पत्रकार क्याम सिम्पसनका कुरा सम्झन्छिन्। उनै पत्रकारले पुत्रवियोगको चित्कार अमेरिकासम्म पुर्‍याएको सुनाउँछिन्। उनै सिम्पसनले १२ नेपालीको हत्याबारे गोर्खाकी कमला थापामगरलाई मियो बनाएर किताब लेखेका छन्- दी गर्ल फ्रम काठमाण्डु।

सिम्पसनकृत दी गर्ल फ्रम काठमान्डुअनुसार घटनाको करिब एक वर्षपछि १२ मृतक परिवारको तर्फबाट ‘केल्लोग ब्राउन एण्ड रुट (केबीआर)विरुद्ध मुद्दा दायर भएको हो। अमेरिकी कम्पनी ‘केबीआर’को पेटी ठेक्कामा उनीहरू काम गर्न इराक पुगेका हुन्। इराकस्थित अमेरिकी सैनिक अड्डाहरूमा कामदार उपलब्ध गराउने काम गर्छ उक्त कम्पनीले।

केबीआरले नै जोर्डनको एक कम्पनी र काठमाडौंको एक मेनपावर कम्पनीसँग कामदार उपलब्ध गराउन पेटी ठेक्कामा सम्झौता गरेको हुन्छ।
पश्चिमी इराकको अन्बार प्रान्तको अल असद नामक अमेरिकी सेनाको हवाई बेसमा कपडा धुन रमेशहरूलाई छनोट गरेको हुन्छ। जोर्डनको बाटो हुँदै अल असद जाँदा अनसर अलसुन्नाको अपहरणमा पर्छन्।

छोरोको सालिकछेउमा टोलाउँदै जीतबहादुर न्याय खोज्दै अमेरिकामा २९ रात बिताएको सम्झन्छन्। खड्कासहित चार परिवार पहिलो लटमा गएका हुन्।

“मैले बिगारेको हो कि बाँकी साथीहरूले हो ? थाहा भएन। उताको वकिलले त हामी चार वटैका कुरा ठीक छ भन्यो। अरूले पनि यही भने त जितिन्छ भनेको हो,” खड्का सम्झन्छन्, “मुद्दा हारियो।”

पटकपटक गरी रमेशको राहत रकम एक करोड पुगेको छ। “४८ लाख एकपालि आयो। सरकारले दस लाख दिएको थियो,” जीतबहादुर भन्छन्, “एक करोडजति पुग्यो होला। कमला थापा(गोर्खाका जीतवहादुर थापामगरकी पत्नी)हरूले भने तीन करोडजति पाए।”

इराकमा मारिँदा १९ उक्लँदै गरेका रमेश अविवाहित हुनाले पनि राहत रकम कम भएको हो। एसएलसीसम्म पढेका रमेश साथीहरूको लहलहैमा वैदेशिक रोजगारको हावामा हुत्तिँदै कमाउन उडेका हुन्।

इराक घटनामा आधारित फिल्म ‘१२ नेपाली एक चिहान’ निर्देशक अरूण प्रधानको निद मारिएका ती परिवारका सदस्यहरूका अवस्थाले बिथोलिरहन्छ। उनी सम्झन्छन्, “म फिल्म बनाउनुअघि रिसर्चको क्रममा १२ परिवारका घर पुगेँ। उनीहरूलाई भेटेँ। मारिएका ती युवाका छोराछोरी र बाआमाको अवस्थाले जोकोहीलाई सोंच्न बाध्य बनाउँछ।’

अफगानिस्तान-अमेरिका

इराकमा रमेशहरू मारिएको १७ वर्ष नलाग्दै दाङ घोराहीका २१ वर्षीय एन्जल बुढामगर क्यारेबिन सागरमा बेपत्ता हुन्छन्। मगर चोर बाटोबाट अमेरिका जाने क्रममा कोलम्बियाको क्यारेबियन सागरमा २०७८ असार ७ गते डुंगा दुर्घटना हुँदा बेपत्ता भएका हुन्। मगरसहित नेपालका सात युवासमेत बेपत्ता छन्।

दाङका संचारकर्मी नारायण खड्काका अनुसार उनीहरूलाई दुबई, मस्को, ब्राजिल हुँदै कोलम्बिया पुर्‍याइएको हो। दाङकै यज्ञवहादुर बस्नेत भने ७५ लाख खर्चेर चोरबाटोबाट अमेरिका पुगे पनि फर्काइएका छन्।

०००

ललितपुर नखिपोटस्थित छोरी घरमा उपचाररत मानवहादुर थापामगरले एक मात्र छोरा गुमाएको एक हप्ता हुँदैछन्। शारीरिक पीडासँगै उनले पुत्रवियोगको पीडा पनि खप्दै छन्। भारतीय सेनाका पूर्व कर्पोरल गोर्खाका थापामगर ६ असार २०७३ मा अफगानिस्तानको काबुलमा तालीवानी आत्मघाती आक्रमणमा परेका हुन्।

उनको अनुहार र जिउभर तालीबानी गोलाले छोडेका चिनो छ। शरीरका विभिन्न भागमा मासु सापटी लिएर भरिएको छ। उनका आँखा, नाक, कान आफ्नो पुरानो ठाउँमा फर्किसकेका छैनन्। नाकको प्वाल बांगिएर साँगुरिएको छ। शरीरका प्रायः अंगले काबुलमा हराएका होस अझै आफ्ना घर फर्केका छैनन्।

टाउको, छाती र काँधका सातवटा छर्रा झिकेका छैनन्। जिउमा अझै त्यत्तिकै संख्यामा बाँकी छन्- एउटा दायाँतिर ढाडमा, दुई वटा दाहिने मिर्गाैलानेर, एउटा टाउकोमा।

मानबहादुरसहित काबुलमा भएको आत्मघाती बम आक्रमणमा चेतप्रसाद शेरचन, अमृत रोकाया क्षत्री, कृष्णकुमार देउजा र प्रेमबहादुर क्षत्री विकलांग भएका छन् भने नुवाकोटका मधुसुदन कोइराला, काभ्रेका चन्द्रबहादुर राना मगर, पर्वतका नवीनसिंह क्षत्री, सुनसरीका अंकुर मोक्तान, बुटवलका जितेन्द्रसिंह थापा, स्याङ्जाका सुकबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, पर्वतका विदुरबहादुर क्षत्री, नुवाकोटका डम्बरबहादुर तामाङ र लिलबहादुर गुरुङ, काठमाडौंका हरिबहादुर बडुवाल र च्याङ्बा तामाङ मारिएका छन्।

इराकमा मारिँदा १९ उक्लँदै गरेका रमेश अविवाहित हुनाले पनि राहत रकम कम भएको हो। एसएलसीसम्म पढेका रमेश साथीहरूको लहलहैमा वैदेशिक रोजगारको हावामा हुत्तिँदै कमाउन उडेका हुन्।

०००

आफ्नै मुलुक नेपालमा त महिला घरेलु हिंसाजस्ता कुरामा असुरक्षित छन् भने बाहिरको के कुरा ! वैदेशिक रोजगारमा गएका नेपाली महिला कुटपिट, यौन हिंसा, बलात्कारमात्र होइन, पेटमा बच्चा लिएरसमेत फर्कन बाध्य छन्।

“मेरो अध्ययनमा त केही वर्षपछि ती बच्चाहरूका नागरिकताजस्ता समस्या पनि थपिने छ,” आफ्नो अध्ययनको निचोड सुनाउँदै लेखक महेन्द्र महक तर्क गर्छन्, “घर फर्के पनि ती महिलालाई समाज र परिवारले बहिष्कार गरेका घटना छन्। उनीहरू समाजमा पनि लुकेर बस्नुपर्ने अवस्था छ।”

बाबुबिना नेपाल फर्कने बच्चा र महिला तथ्यांक नभएको वैदेशिक रोजगार विभाग सूचना अधिकारी कमल ज्ञवाली सुनाउँछन्। ज्ञवालीका अनुसार इराक, अफगानिस्तानजस्ता मुलुकमा मारिएका र घाइते तथ्यांक पनि सरकारसँग छैन।

 

रोकिएको छैन इराक गमन

साइँलो छोरो गुमाएको १७ वर्ष लागे पनि पुत्र सम्झनामा खड्का दम्पतीका आँखा अझै ओभाएका छैनन्। गाउँमा विदेश जाने लहर चलेको उही याममा फर्कंदै राधिका भन्छिन्, “पढ्दै जागिर खान्छु पनि भन्यो। होटलमा काम गर्थ्यो। तलब थोरै भयो भन्यो। अरू सबै गए, कमाए भन्थ्यो। भागभोग आइपुगेकाले त होला, ऊ गयो। साथीभाइको लहैलहैमा फस्यो। सबै दलाल र खानेमात्र रहेछन्।”

टीकाभैरवस्थित रमेशको घरछेउमा भेटिएका उनका सहपाठी रामशरण लामा स्कुलमा हाँसेखेलेका ती दिनमा फर्केर रमेशलाई सम्झन्छन्, “कमाउन गएको रमेश इराकमै रहे पनि स्कुलका सम्झना त आउँछ नि।”

रमेशको मृत्युपछि प्राप्त राहतले परिवारलाई आर्थिक रूपमा टेवा त दिएको छ। उनका दाजुभाइलाई आर्थिक रूपमा सहज बनाइदिएका छन्। माटोमा हालेको खेर जान्न भन्दै जीतबहादुर खड्का राहत रकमले किनेको २० आना खेतसहित ठाउँठाउँमा किनेका जग्गाका समाचार सुनाउँछन्।

“सबै भाइहरूलाई बाँडेँ। १२ लाख जति त पूजा गरेर सप्ताहमै सकियो। सालिक बनाउन ७५ हजार लाग्यो। सालिक राख्दा गरेको कार्यक्रममा डेढ/दुई लाख सकियो ”, जीतबहादुर सुनाउँछन्।

पति जीतबहादुरको कुरामा पत्नी राधिका उकेरा लाउँछिन्, “छन्जेल त फुरमास नै गरियो। धर्मकर्म गरियो। अरू दाजुभाइले अंश खान्छन् भने उसको यसैमा गयो नि।” तर, खड्का दम्पतीको मन राहतले किनेका माटो र सालिकमा अडिएको छैन। तिनका आँखा घरी लाहुरे फूल त घरी सालिकमा बस्छ। हुन पनि आमा-मनबाट छोरा सम्झना कसरी सकिनु ?

“दशैं-तिहार त आउनै हुन्न। ऊसँगको साथी आउँदा मुटु फुुटेर आउँछ। अरू झोला बोकेर आउँदा सालिक हेरेर बस्छु,” आँसुले भिजेको राधिका बोली झर्छ, “आमामन शान्त त यो देहले छाडेपछि मात्र हुन्छ होला। छोराको सालिकले के शान्त हुँदो हो, आमामन ? बीसौं करोड भए पनि के काम ? पैसा बोल्दैन। छोराको रगतको पैसा कतिले खाए कतिले के गरे ? छोरा भए त ‘आमा’ भन्थ्यो नि। आफैले कमाउँथ्यो होला। सन्चोबेसन्चो सोध्थ्यो होला।”

रमेशहरू इराकमा मारिएलगत्तै नेपाल सरकारले इराक जान प्रतिबन्ध लगाएको हो। जो अहिलेसम्म जारी छ। प्रतिबन्ध लगाए पनि इराक, अफगानिस्तानजस्ता द्वन्द्वग्रस्त देश जाने क्रम भने रोकिएको छैन।

१२ जना मारिदा संयोगले जोगिएका विप्लव भट्टले नागरिक नेटवर्कमा सोधेका छन्, “अमेरिका सरकारले आफ्ना नागरिकलाई सामान्य ठेस लागे नि तुरुन्तै एक्सन लिन्छ। नेपालका १२ नागरिक इराकमा मारिए। नेपाल सरकारले के गर्न सकेको छ ?’

त्यही प्रश्न १७ वर्षपछि खड्का दम्पती पनि सोध्दैछन्।

“मारिएको छोरा फर्केर आउने त होइन। जे पर्‍यो मेरो पर्‍यो, मेरोजस्तो संसार कसैलाई नि नपरोस्। संसारलाई नपरोस् भनी मैले बारम्बार प्रार्थना नै गरेको छु,” छोरोको सालिकमा हेर्दै एकोहोरिएकी राधिका भन्दैछिन्, “अस्ति पनि कतारबाट कि मलेसियाबाट तीनचार बाक्सामा आए भनेर टीभीले देखायो। यस्तो कहिले रोकिन्छ हँ ?”

भिडियो 

 

तस्वीरहरू : गोपेन राई

2 thoughts on “अझै ओभाएका छैनन् आमाका आँखा

  1. You have poignantly presented the harrowing saga Navin jee based on your empathetic yet investigative research. Many kudos!

  2. बसाईं हिड्नेको ताँतीले बस्नेको मन रूवांउछ…! 😢

    राम्रो मन छुने यथार्थ कथा! अनि राम्रो लेखनीको लागि लेखक नवीन भाइ र फोटो पत्रकार गोपेन राईज्यूलाई पनि धन्यवाद एवम् बधाई साथै नेपाल भ्यूज टीम सहितलाई सफलताको हार्दिक शुभकामना!! 👍🌹💞🙏

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved