बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ : राष्ट्रपति दा सिल्भा

नेपालभ्युज

बृहत् ब्रिक्स थप सशक्त र सुदृढ हुन्छ : राष्ट्रपति दा सिल्भा

काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्समा उदीयमान अर्थतन्त्रयुक्त देश नयाँ सदस्यका रुपमा थपिएपछि समूह अझ सशक्त र सुदृढ भएको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बताएका छन्।

ब्राजिलको सरकारी प्रसारण संस्थाको साप्ताहिक कार्यक्रममा उनले ६ वटा देश ब्रिक्समा थपिएपछि यो अझ महत्त्वपूर्ण र शक्तिशाली भएको बताए । समूहका गतिविधि र प्रगतिबारे जानकारी लिन तथा सदस्य देशका सरकार प्रमुख एवं राष्ट्राध्यक्षसँग विचार आदानप्रदान गर्न शिखर सम्मेलन फलदायी रहेको बताए । गत साता दक्षिण अफ्रिकी शहर जोहानेसबर्गमा ब्रिक्सको १५औँ शिखर सम्मेलन भएको थियो।

“मलाई लाग्छ ब्रिक्सको विस्तारपछि आर्थिक मामिलामा संसार उस्तै रहँदैन, सदस्य देशबीचको व्यापारलाई सहज बनाउन साझा मुद्रा सुरु गर्न सकिन्छ । हामीलाई डलरसँग व्यापार गरीराख्न आवश्यक छैन । हामी हाम्रै मुद्रा चलाउन वार्ता गर्न सक्छौँ, यो काम गर्नैपर्ने भएको छ,” अर्को शिखर सम्मेलन आयोजना हुने समयसम्ममा ब्रिक्सले निर्यातका लागि आफ्नै मुद्रा स्थापना गर्ने लक्ष्यका काम गनुपर्ने र छलफल गरेर अर्थमन्त्रीहरूलाई अनुमति दिनुपर्ने जानकारी दिँदै ब्राजिलका राष्ट्रपतिले भने।

ब्रिक्स मुद्रा प्रचलनमा ल्याउने प्रयास डलरविरुद्ध नभएको स्पष्ट गर्दै उनले त्यसो गर्दा ब्राजिलको अर्थतन्त्रलाई बलियो हुने र त्यसले देशलाई नै फाइदा पुग्ने बताए । ब्रिक्सको पन्ध्रौँ शिखर सम्मेलनको अन्त्यमा अर्जेन्टिना, साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान र इथियोपियालाई नयाँ सदस्यका रूपमा घोषणा गरिएको थियो । आगामी जनवरी १ देखि नयाँ सदस्य औपचारिक रूपमा ब्रिक्समा सामेल हुनेछन् ।

यसैबीच, एएफपीका अनुसार ब्रिक्समा सामेल हुने नयाँ देशबीच खासै समानता देखिँदैन । आफ्नो क्षेत्रमा सबै देशको उत्तिकै महत्त्व छ, तर साउदी अरब, इरान, संयुक्त अरब इमिरेट्स र इजिप्टको समावेशलाई ब्रिक्स मध्यपूर्वतर्फ अधिक केन्द्रित भएको देखाउँछ । यसमा भूआर्थिक, भूरणनीतिक र भूराजनीतिक प्रभाव रहेको चीन र अफ्रिकामा केन्द्रित दक्षिण अफ्रिकी थिंक ट्याङ्क ग्लोबल डायलग इन्स्टिच्युटका वरिष्ठ अनुसन्धान फेलो सानुषा नायडू बताउँछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved