भाद्र ४ गते, प्रदीप गिरी प्रथम स्मृति दिवस । यो हप्ता प्रदीप गिरीबारे स्मरण लेखिँदैछन् । प्रवचन हुँदैछन् । उनका विचार र योगदानको चर्चा हुँदैछ ।
यही मेसोमा मलाई पनि केही लेख्न मन लाग्यो । सुरुवातमै यो प्रष्ट गरौं म प्रदीप गिरीको संगत परेको मान्छे भने हैन । म कहिल्यै कांग्रेसको समर्थक रहिनँ। कांग्रेसको विचार, संगठन, कार्यशैली र राजनीतिक संस्कृतिले मलाई कहिल्यै आकर्षित गरेन। किन गरेन, त्यसको भिन्नै चर्चा हुने हो, जो अहिलेको विषय वस्तु हैन।
कांग्रेसले आकर्षित नगरे पनि प्रदीप गिरीको विचार र व्यक्तित्वले भने सधैं आकर्षण गर्यो । २०४५ सालतिर पञ्चायती शासनकालमै सुनेको थिएँ मैले उनको नाम । २०४६ सालपछि त उनी एक आम सार्वजनिक व्यक्तित्व भए ।
नेपालका सञ्चार माध्यममा आइरहने, छाइरहने, लेखिरहने वा बोलिरहने मान्छे भए । कांग्रेसको नेता हुनु उनको व्यक्तित्वको एउटा पाटो हो । तर, सार्वजनिक जीवनमा आइरहने, राष्ट्रका प्रत्येक समस्या र मोडमा केही फरक र मौलिक धारणा राख्ने उनको व्यक्तित्वको अर्को पाटो हो । एकाध अपवाद होलान्, कारण वंश छुटेका । अन्यथा प्रदीप गिरीले लेखेका, बोलेका चिज खोजी खोजी पढ्नु, सुन्नु मेरो एक स्वाभाविक उत्सुकता थियो– २०४६ पछिका ३ दशकमा। उनका कुरा पढ्दा, सुन्दा उनी कांग्रेस हुन भन्ने मलाई कहिल्यै लागेन । मेरा लागि प्रदीप गिरी कांग्रेस हुनु एक ठूलो विरोधाभाष थियो । यस्तो सोच भएको मान्छे कसरी कांग्रेस हुन सकेको होलाजस्तो लाग्दथ्यो।
प्रत्यक्षरूपमा जीवनमा जम्मा तीनपटक मैले उनलाई भेट्ने, उनका कुरा सुन्ने अवसर पाएँ । पहिलोपटक–धरानमा २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि। त्यो बेला हामी वैकल्पिक विचार मञ्चका कार्यक्रम गर्दै हिँड्थ्यौँ, पूर्वमा । त्यो बेलाको पूर्व भनेको तत्कालीन मेची, कोशी, सगरमाथा अञ्चलका १६ जिल्ला थिए । अहिलेको कोशीमा तीमध्ये १४ जिल्ला मात्र छन्, दुई जिल्ला सिराहा र सप्तरी मधेस प्रदेशमा छन् ।
त्यो बेला पूर्वमा थुप्रै स-साना राजनीतिक तथा विद्रोही समूह थिए । लिम्बुवानका मात्रै ४ वटा समूह थिए– वीर नेम्बाङ, सञ्जुहाङ पालुङवा, कुमार लिङदेन र मिसेकहाङ लिम्बू नेतृत्वका । खम्बुवान मुक्ति मोर्चा, खम्बुवान डेमोक्रेटिम फ्रन्टजस्ता संगठन थिए किरात क्षेत्रमा । लहान, राजविराज, इनरुवा, विराटनगर फोरम आन्दोलनका ठूला केन्द्र थिए । तमलोपा भर्खरै बनेको थियो । सद्भावना फुटेर आनन्ददेवी, गजेन्द्रवादीजस्ता समूह बनेका थिए । मधेसमा तराई जनतान्त्रिक मोर्चा, कोब्रा, गोइत, ज्वाला, टाइगरजस्ता अनेक समूह थिए। यहाँसम्म कि, कोचिला मुक्ति मोर्चा भन्ने पनि एक संगठन थियो ।
यी सबै समूहका नेता वा स्थानीय प्रतिनिधिलाई मूलधार भनिएका ठूला दल कांग्रेस, एमाले र माओवादीका नेताहरूसँग हामी समानान्तर छलफल गराउँथ्यौँ । त्यही क्रममा चारवटा कार्यक्रम गरेका थियौँ, इलाम, इटहरी, गाईघाट र धरानमा। धरानको कार्यक्रममा हामीले कांग्रेस धारबाट तीन जनालाई आमन्त्रण गरेका थियौँ । कृष्ण खनाल, मीनेन्द्र रिजाल, प्रदीप गिरी । कार्यक्रमको अघिल्लो साँझ करिब ३ घन्टा मैले नजिकबाट प्रदीप गिरीका कुरा नजिकबाट सुन्ने अवसर पाएको थिएँ ।
भीमनगरदेखि पटनासम्म कोशी करिडोरको स्थिति हेर्दा र पटनामा भेटिएका नागरिक समाजका मान्छेहरूको कुरा सुन्दा कोशी सम्झौताबारे नेपालमा हुने बहसप्रति ममा आशंका उब्जिएको थियो । कोशी प्रोजेक्टले निम्त्याएका मानवीय दूर्दशाको कथा नेपालतिर भन्दा भारततिर झनै भयावह थिए ।
दोस्रोपटक रिडर्स झापाले आयोजना गर्ने काँकडभिट्टा साहित्य महोत्सवमा भेट भयो । त्यसपटकको भेटमा धरानको भेटघाट उनको स्मृतिमा थिएन । महोत्सवमा मेरो पनि एक प्यानल डिस्कसनको सेसन थियो– नेपाल–भारत सम्बन्धबारे । भर्खरै एक पानी सम्मेलनमा भाग लिन पटना गएर फर्किएको थिएँ । भीमनगरदेखि पटनासम्म कोशी करिडोरको स्थिति हेर्दा र पटनामा भेटिएका नागरिक समाजका मान्छेहरूको कुरा सुन्दा कोशी सम्झौताबारे नेपालमा हुने बहसप्रति ममा आशंका उब्जिएको थियो । कोशी प्रोजेक्टले निम्त्याएका मानवीय दूर्दशाको कथा नेपालतिर भन्दा भारततिर झनै भयावह थिए ।
पछि कोशीको कुसाहा बाँध फुट्यो । नेपालतिर ४ गाविस श्रीपुर, हरिपुर, लौकही र पश्चिम कुसाहामा मात्र क्षति गर्यो । भारततिर १२५ ग्राम पञ्चायत प्रभावित भयो । नेपालतिर मान्छे भन्थे– कोसी प्रोजेक्टबाट सबै फाइदा इन्डियाले लिएको छ । भारतलाई गाली गरिन्छ । बिहारको राजनीति ठीक उल्टो थियो । उनीहरू कोशीको बाढी र जनताको दूर्दशाका लागि नेपाललाई गाली गर्थे । नेपालीले ब्यारेजमा पानी थुन्दिने र धेरै बनाएर एकैचोटी खोल्दिने गर्नाले बिहारमा बाढीको प्रकोप भएको हो भनेर त्यहाँका सांसद तथा एमएलएका उम्मेदवारले जनतालाई ढाँट्दा रहेछन् ।
त्यसपछि मलाई कोशी प्रोजेक्ट नेपाल र भारत दुवैलाई खासै फाइदा गर्ने ‘फेलियर प्रोजेक्ट’ जस्तो लागेको थियो । काँकडभिट्टाकोे प्यानल डिस्कसमा मैले यही कुरा उठाएँ । प्रदीप गिरीलाई अनौठो लागेछ । उनले हलमै उठेर–‘नयाँ मान्छेले नयाँ कोणबाट कुरा ल्याएको’ भनेर मेरो प्रशंसा गरेका थिए । हलको कार्यक्रमपछि बाहिर १० मिनेट जति कुरा गरेको थिएँ ।
तेस्रो भेट उनकै बस्तीपुर आश्रममा भयो । यो २०७४ को आम निर्वाचनपछिको कुरा हो । विनोद विशुंखेको संस्थाले आयोजना गरेको स्थानीय प्रतिनिधि प्रशिक्षण कार्यक्रममा कर सिद्धान्त र प्रणालीबारे प्रशिक्षण दिन गएको थिएँ लहान । दोस्रो दिन विनोद र म प्रदीप गिरीको बस्तीपुर आश्रम हेर्न गयौँ ।
साँझ पख उनी आश्रममा लौरो टेकेर टहलिँदै थिए । अघिल्लो साँझ हुरी चलेको थियो । झरेका आँपका टिक्लाले आश्रमको चौर भरिएको थियो । ठूलो थियो आँपको बगैँचा । उनी आफैँले लगाएका थिए त्यो बगैँचा ।
आश्रमको चौरको एक तखते फलैचामा बस्यौँ हामी । यसपटक परिचय दिइ रहनुपरेन । उनले लाहान आउनुको कारण र नयाँ शक्ति पार्टीका हालखबर सोधे । तखते फलैँचाको नजिक रैथाने मेवाको बोट थियो । मेवाका दानामध्ये एक पाक्न थालेजस्तो पहेँलो भएको थियो । उनले टेकिरहेको लौरोले त्यो दाना घोचेर झारे । र हामीतिर फर्किएर भने–अब तपाईंहरूलाई यही मेवा खुवाउने हो ।
हरिजन समुदायकी महिला उनले खोजेरै ल्याएका थिए, आश्रमको मुख्य रेखदेखकर्ताका रूपमा । उनले भने–‘जसले यी हरिजन महिलाले पकाएका, दिएको खान्न भन्छ, उसलाई मेरो आश्रममा प्रवेश निषेध छ ।’
उनकी आश्रमकी मूल भान्छे एक हरिजन महिला थिइन् । मधेसकी चमार समुदायकी महिला । उनको नाम बिर्सें अहिले । गिरीले तिनको नाम लिएर बोलाए अनि मेवा काट्न लगाए । केही दिनअघि गाई ब्याएको रहेछ । उनी गाईको बाच्छी स्याहार गर्दै थिइन् । करिब एक घन्टा बस्यौँ। मेवा र चिया खायौँ ।
आश्रमबारे उनले भनेका थिए कि, महात्मा गान्धीको सावरमति आश्राम देखेदेखि नै उनमा एक आश्रम बनाउने ठूलो धोको थियो । हरिजन समुदायकी महिला उनले खोजेरै ल्याएका थिए, आश्रमको मुख्य रेखदेखकर्ताका रूपमा । उनले भने–‘जसले यी हरिजन महिलाले पकाएका, दिएको खान्न भन्छ, उसलाई मेरो आश्रममा प्रवेश निषेध छ ।’
भर्खरै मेरो ‘समाजवादको यात्रा’ पुस्तक प्रकाशित भएको थियो । दुर्भाग्यको कुरा मैले लिएर गएको थिइनँ । तर, उनले सुनेका रहेछन् । र कुरा पनि उनले विश्व समाजवादी आन्दोलनबाटै सुरु गरे । लेनिन–प्लेखानोभ, लेनिन–त्रोतस्की र लेनिन–रोजाको विवादका सन्दर्भ लिएर समाजवादको कुरा गर्न थाले । र भने–‘मैले त लेनिनबारे एउटा किताब नै लेखेको छु उनीबाट प्रभावित भएर, लेनिन एक अध्ययन भन्ने तर विलक्षण हुनु मात्रै सही हैन । यी विवादमा लेनिन सही देखिएनन्।’ गिरीको यो किताब भने त्यस्तै अपवाद हो, जो मैले अहिलेसम्म फेला पारेको छैन ।
यो भेटको अन्तिमतिर उनले थकित मुद्रामा लामो उच्छवास हालेर भनेका थिए–‘कांग्रेसको भविष्यलाई लिएर म धेरै चिन्तित छु । यसपटक बढो मुस्किलले चुनाव जितेँ । हार्छु हार्छु जस्तो भइसकेको थियो । म न साँचो अर्थमा कांग्रेसको मान्छे हुन सकेँ न कम्युनिस्टको, न मधेसीको न पहाडीको । तर, यो चुनाव मलाई मधेसीले नै जिताएको बडो अप्ठ्यारोमा । तर, मधेसप्रति मैले पनि राम्रो न्याय गर्न सकिनँ । संविधानमा हस्ताक्षर नगरेर मात्र मेरो कर्तव्य पूरा हुँदैनथ्यो । मैले कांग्रेसलाई मधेसको मर्म बुझाउनै सकिनँ।’
गिरीसँगका यी तीनवटै छोटा भेट मेरा लागि धेरै अर्थपूर्ण थिए । महत्त्वपूर्ण छन् । धरानको कुराकानीमा उनले प्राध्यापक कृष्ण खनाल र डा. मीनेन्द्र रिजालप्रति लक्षित गर्दै भनेको एक वाक्य सम्झिन्छु । गिरीले भनेका थिए–‘त्यो बेला तपाईंहरू कांग्रेसमा हुनुहुन्थ्यो, म थांग्रेसमा थिएँ । थांग्रेसमा मैले ‘कदमजम’ को फुर्मला छिराएको थिएँ । तपाईंहरू यो नबिर्सनुस् कि सीमान्तकृतहरूको अधिकारको सवाल र समावेशिताको चिन्तन कांग्रेसमा थांग्रेस हुँदै आएको हो ।’
उनले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई ‘थांग्रेस’ संज्ञा दिएकोमा मलाई खुबै हाँसो उठेको थियो । ‘कदमजम’ को अर्थ थियो– कर्णालीबासी, दलित, महिला, जनजाति र मधेसी । यी समुदायको अधिकार र आरक्षणविना नेपाल अघि बढ्दैन भन्ने उनको धारणा थियो । काँकडभिट्टाको भेटमा उनले–‘तपाईंले एक नयाँ एंगल दिनुभो, हामीले हिस्दुस्तानका पनि दु:ख बुझ्नुपर्दछ । अबको दुनियाँमा आफ्ना मात्रै कुरा भनेर कसैले कसैको कुरा सुन्दैन मान्दैन ।
आफ्ना कुरा अरुलाई सुनाउन पनि पहिले अर्काका कुरा सुन्नपर्दछ । जबसम्म हामी हिन्दुस्तानका कुरा सुन्दैनौं, उसले पनि हाम्रो कुरा सुन्दैन । सुन्दै न सुनेपछि बुझ्ने कुरै भएन । हाम्रो पुस्ताको असफलता नै यही हो । हामीले हिन्दुस्तानलाई गाली त गर्यौँ, रोयौँ, करायौँ, चिच्यायौँ । तर, हिन्दुस्तानले न हाम्रो कुरा सुन्यो, न बुझ्यो,’ उनले भनेका थिए ।
नेपाल–भारत सम्बन्ध राम्रो हुन नसक्दा दुवै देशलाई घाटा भएको र त्यो आफ्नो पुस्ताका राजनीतिज्ञको मुख्य असफलता भएको उनको ठहर थियो ।
धरानको कुराकानीमा उनले एक अर्को गज्जब कुरा भनेका थिए, जो मेरो स्मरणमा अझै ताजा छ । उनकै शब्दमा–‘मार्क्सवादको बडो अध्ययन गरेको एक विचित्रको अहंकार लिएर बाँचेको छु म । कम्युनिस्टहरूले मसँग बहस गर्नुअघि मेरो यो अहंकारलाई बुझिदिनुपर्दछ । यदि, लोकतन्त्रको प्रश्न हुँदैनथ्यो भने सायद म कम्युनिस्ट नै हुन्थेँ । कम्युनिस्ट पार्टीमा लागेर कमरेड लालसलाम भन्दै हिँड्थेँ । तर, मानव जीवनको सार स्वतन्त्रता हो भन्ने अनुभूतिले मलाई कहिल्यै छोडेन । तसर्थ, म कम्युनिस्ट पार्टीमा लागिनँ । मान्छे भौतिक तहमा मात्र बाँच्न सक्दैन । मान्छेलाई बाँच्न नैतिक र आध्यात्मिक तह चाहिन्छ ।’
पदप्रतिको उदासिनता सामान्यतः जीवनमा किन एकपटक पनि मन्त्री नभएको भन्ने प्रश्नमा उनले काकडभिट्टाको प्रवचनमा भनेका थिए–‘छोरो जीवनमा एकपटक मन्त्री होस् भन्ने मेरो आमाको पनि ठूलो अपेक्षा थियो । मैले आमाको यो इच्छा पूरा गरिनँ । मेरो काका डा. तुलसी गिरी प्रधानमन्त्री भए । हाम्रो गाउँमा मान्छेले डा. गिरी बिग्रियो भने । जनताको आँखामा प्रधानमन्त्री हुनु भनेको बिग्रनु रहेछ । मलाई मन्त्री भएर जनताको आँखा बिग्रन मन लागेन ।’
सबैलाई थाहा छ– यो देशमा धेरैले गिरीलाई मनपराउँथे, मनपराउँछन् । कांग्रेसले पनि कम्युनिस्टले पनि । पहाडीले पनि, मधेसीले पनि । इमान्दारले पनि बेइमानले पनि ।
गिरीप्रतिको आदर र निष्ठा देख्दा मलाई लाग्छ–चोरले पनि आफ्नो घरको पालेचाहिँ नचोर्ने नै खोज्छ भनेजस्तो बेइमानहरूलाई पनि सम्मान गर्न इमान्दार मान्छे नै चाहिने रहेछ । अन्यथा गिरीप्रति नेपाली समाजले जुन प्रकारको सम्मान व्यक्त गर्दछ– उनको विचार र जीवन भने किन सधैँ किरानामा रह्यो ?
गिरीजस्तो मान्छे पनि यो देशमा प्रधानमन्त्री वा पार्टी सभापति हुन मिल्छ भन्ने भाष्यलाई हामीले कहिल्यै जोड दिएनौँ । पार्टी सभापतिमा उठेको भए सायद उनी अर्को भीमबहादुर तामाङ हुन्थे । सायद, त्यही बुझेरै उनी कहिल्यै उठेनन् ।
Facebook Comment
Comment