सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैनः सांसद श्रेष्ठ

नेपालभ्युज

सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैनः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन सिआइबिले गर्न नसक्ने बताएका हुन् ।  उनले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताए ।

सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको उनले बताए । उनले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो अहिले उच्चस्तरीय आयोग गठन गर्नु भनेर हामी माग गरिरहेका छौँ ।  राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ ? गृहमन्त्रीलाई सिआईबिले झिकाउन सक्छ ? ‘ उनले भने, ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ । क्विन्टलका क्विन्टल सुन आएको छ । यसमा  राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ । हङकङ, चाइना लगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदैछ ।’

उनले यस विषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिइरहेको बताउँदै सिआइबिले समाधान दिन सम्भव नभएकाले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प नभएको बताए ।

उनले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताए  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved