माओवादी बैठक

नेतृत्वप्रति केन्द्रीय सदस्यका गुनासो र प्रश्नसँगै आशा

बुधबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

नेपालभ्युज

नेतृत्वप्रति केन्द्रीय सदस्यका गुनासो र प्रश्नसँगै आशा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबारदेखि काठमाडौंमा जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधानअनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् ।

उनीहरुले पार्टीले बनाएका योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् । बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको स्वीकारिन् ।

उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको गुनासो पनि गरिन् । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले भनिन्– पार्टी संगठनलाई विधानसम्मत चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो । महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि तन्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ । विधि, पद्धति र प्रणालीमा लगेर चलाउन नै चुकेको छ । भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ ।

त्यस्तै केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब योभन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताएका छन् । २०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने स्थिति बनाउनुपर्ने उनले बताए ।

उनले भने– अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने । ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने । ०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने ।

केन्द्रीय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताए । पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उहाँले किसान र मजदुरको पार्टी बनाउनुपर्नेमा जोड दिए ।

उनले भने– वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषी हुँ । पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौँ । टाठाबाठा, जान्नेसुन्ने, धनीमानी, हुनेखानेहरुमा बढी समय बितायौँ । शहरिया, बजारिया भयौँ । ग्रामीण जीवनमा गएनौँ । किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ । समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ । यो कुरा चाँडै गर्नुप¥यो भन्ने कुरा छ । एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुपर्‍यो ।

अर्का केन्द्रीय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताए ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रीय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताए । उनले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताइन् । उनले अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडि बढाउनेमा विश्वास व्यक्त गरिन् ।

केन्द्रीय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताए ।

अर्का केन्द्रीय सदस्य टेकबहादुर शाक्यले सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved