‘एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍यो’

नेपालभ्युज

‘एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍यो’
फाइल फोटो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको बताएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताएका हुन्  ।

उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए । उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए । उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए ।

‘आज उहाँहरुले छानबिन समिति बनाउनैपर्छ भन्ने छ । हाम्रो के कुरा छ भने सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ । अपराधीहरु पक्रेका छन् । छापा मारिएको छ । सुन गाल्ने मेसिन बरामद भएका छन्’ उनले भने,’यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिने । कहीँ न कहीँ सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित उहाँहरुले   छानबिन समितिको माग राख्नुभएको छ ।’

एमालेको नियतमा आशंका रहेको भन्दै उनले सरकार त्यो छानविन समिति बनाउने प्रक्रियामा  सहमत नहुने बताए । सुन तस्करीमा पार्टीको मान्छे परे भने बचाउने लेनदेनको विषय बनाइएको उनको भनाई छ ।

छानबिन समिति बनाएर लामो समय लम्ब्याउने र अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यसहित नेकपा (एमाले) ले छानबिन समित बनाउने भनेको उनको बूझाई रहेको छ ।

उनले सुन तस्करीका आरोपीहरुसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरु सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताए । अनुसन्धानमा तानिएर दोषि ठहरिएमा मोआवादी नेताहरु पनि कारबाहीमा पर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved