चलचित्र विकास बोर्डले एक वर्षमा के गर्‍यो ? (सूचीसहित)

नेपालभ्युज

चलचित्र विकास बोर्डले एक वर्षमा के गर्‍यो ? (सूचीसहित)

काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी चुनिएपछि भएका कामको सूची सार्वजनिक भएको छ । बोर्डले सोमबार सार्वजनिक गरेको सूचीमा विभिन्न ४० वटाभन्दा बढी काम देखाइएको छ ।

हेर्नुहोस् एक वर्षको अवधिमा बोर्डले दाबी गरेका काम–

उपलब्धिहरू

-चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ ।

-राष्ट्रिय चलचित्र नीति¸ २०७१ लाई समयसापेक्ष परिमार्जन गरी राष्ट्रिय चलचित्र नीति¸ २०८० को मस्यौदा तयार भएको छ ।

-मिति २०८० असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको छ ।

-निजी क्षेत्रको सहभागितामा संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम सम्पन्न भएको छ ।

– नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेसनहरु छानेर वृत्तचित्र निर्माण गरी प्रचारप्रसार सुरु गरिएको छ ।

– एक सय जना नेपाली महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यका लागि विवरण संकलन भएको छ ।

– चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनाधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरी अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रणसम्बन्धी सूचनामूलक सामाग्री तयार भई चलचित्रघरहरु मार्फत प्रचारप्रसार सुरु गरिएको छ ।

– दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजानिक निजी साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक निजी साझेदारीको मोडालिटी तयार भएको छ ।

– नेपाली मौलिक कथाहरु संग्रह गरी उत्कृष्ट चलचित्र निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु चलचित्र छनोट भएका छन् ।

– नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट तीनवटा चलचित्रलाई पुरस्कृत गरिएको छ ।

– राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि चलचित्रहरुको मूल्यांकन कार्य सम्पन्न भई बोर्डमा नतिजा पेश भएको छ ।

– कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशका बागलुङ¸ लमजुङ¸ गोर्खा र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चलचित्रघरहरु नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।

– चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बाल चलचित्र निर्माणका लागि प्रशिक्षण/तालिम प्रदान गरिएको छ । चलचित्र साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा बाल चलचित्र निर्माण प्रशिक्षण तालिम प्रदान गरिएको छ । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गरिएको छ ।

– चलचित्रकर्मीहरुको दक्षता अभिवृद्दिका लागि चलचित्र पटकथा लेखन¸ चलचित्र निर्देशन तथा चलचित्र छायांकन कार्यशाला सम्पन्न गरिएको । साथै, सरोकारवाला १० वटा संघसंस्थाहरुसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गरिएको छ ।

– आदिवासी, जनजाति, मैथिली, मधेशी, भोजपुरी, अवधि, थारुलगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न आदिवासी जनजाति मातृभाषी चलचित्र महासंघ अन्तर्गतका १५ वटा जातीय संस्थासँग सहकार्य भई कार्यक्रम सम्पन्न भएका छन् ।

– संसारकै उत्कृष्ट चलचित्र महोत्सवमध्ये एक कान्स इन्टरनेसनल फिल्म फेस्टिभलमा बोर्डको समन्वयमा अविनाशविक्रम शाह निर्देशित लघु चलचित्रहरू ‘लोरी’ र ‘भुन्टे’ प्रदर्शनीको लागि पठाइएको छ ।

– चलचित्रसम्बन्धी विषय अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई जनही ५० हजार र विद्यावारिधितर्फ एक जनालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको छ ।

आगामी एक वर्षका कार्यक्रमहरु :

– काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर चलचित्र छायांकन स्टुडियो निर्माण गर्ने ।

– नेपाल चलचित्र दिवसबारे महत्वपूर्ण निर्णय गरी पुनः कार्यान्वयनमा ल्याउने ।

– चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्ने ।

– मौलिक चलचित्रको प्रवर्द्धनका लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, घटना, पात्र, सामाजिक जागरण एवं कलात्मक चलचित्र निर्माण र विश्वव्यापी प्रदर्शनमा अघि बढ्ने । साथै, गैरसरकारी तथा निजी क्षेत्रको सहकार्यमा सामाजिक जागरणका तीनवटा लघु चलचित्र निर्माण गरी लक्षित समुदायमा प्रदर्शन गर्ने ।

– मोफसलमा निर्माण हुने मौलिक एवं सन्देशमूलक तीनवटा चलचित्र (प्रदेशगत रुपमा) छनोट गरी पोष्ट प्रोडक्सन तथा प्रदर्शनमा प्रोत्साहन अनुदान दिने ।

– राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मानलाई थप परिस्कृत र समयसापेक्ष बनाउने ।

– नेपाली चलचित्रको प्रवर्द्धन गर्न सार्वजनिक-निजी क्षेत्रको सहकार्यमा नेपाली बाहुल्यता रहेको कुनै एक देशमा नेपाल सिनेमा मिट कार्यक्रम आयोजना गर्ने ।

– बोर्डबाट चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि सम्पादन, मेकअप र अभिनय लगायतका विषयमा कार्यशालाहरू आयोजना गर्ने ।

– महिला चलचित्रकर्मीहरुको सशक्तीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा महिला चलचित्रकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने । साथै, संविधान दिवसको अवसरमा सामाजिक-शासकीय रुपान्तरणमा योगदान पुर्‍याएका चलचित्रकर्मी पहिचान गरी सम्मान एवं पुरस्कृत गर्ने ।

– नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायांकन स्थलको बारेमा प्रवर्द्धानात्मक सामग्री निर्माण गरी प्रचारप्रसार गर्ने ।

– योग्यता पुगेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्रकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।

– विदेशमा नियमित बक्स अफिसमार्फत स्वदेशी चलचित्र प्रदर्शन तथा चलचित्रको बजार विस्तारका लागि कार्य गर्ने चलचित्र वितरकलाई प्रदर्शन हुने नेपाली चलचित्रको सबटाइटल र इन्कोडिङका लागि आर्थिक सहयोग गर्ने । साथै, नेपालको मौलिक कला संस्कृति झल्कने विशेष चलचित्रहरुको छनोट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।

– चलचित्रसँग सम्बन्धित संघसंस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा फलदायी रूपमा सहकार्य गर्ने ।

– चलचित्र एक्स्पो आयोजना गर्ने ।

– नेपालका कुनै दुई प्रदेशमा चलचित्र पर्यटन महोत्सव आयोजना गर्ने ।

– नेपाली चलचित्रसँग सम्बन्धित सामाजिक सन्देश एवं सूचनामूलक श्रव्यदृश्य सामाग्री तयार गरी प्रचार प्रसार गर्ने ।

– नेपाली चलचित्रको अन्तर्राष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्द्धन र बजारीकरणका लागि चलचित्रको बाहुल्यता रहेको सम्भावित कुनै दुई देश छनोट गरी अन्तर्क्रिया र बजार अध्ययन, छायांकन स्थल प्रचार प्रसार तथा चलचित्रसम्बन्धी गतिविधिको अवलोकन भ्रमण गर्ने ।

– आदिवासी, जनजाति, मातृभाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।

– स्वदेशी चलचित्रको प्रवर्द्धन विकासका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार, एक्स्पो, अध्ययन लगायतका कार्यक्रममा बोर्ड र चलचित्रकर्मीहरुको सहभागिता गराउने ।

– चलचित्रसम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने ।

– चलचित्रघर नभएका तर बाक्लो जनसंख्या रहेका जिल्लाहरुमा घुम्ती सिनेमा मार्फत शैक्षिक संस्थाहरुमा समेत गरी चलचित्रकर्मीहरुको सहभागितामा सिनेमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।

– मौलिक चलचित्र निर्माणमा प्रोत्साहनका लागि सञ्चालित स्टोरी बैंकलाई अझै प्रभावकारी बनाउने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved