अभिनेता सारुक मृत्यु प्रकरण रहस्यमै, निकटस्थसँग बयान लिँदै प्रहरी

नेपालभ्युज

अभिनेता सारुक मृत्यु प्रकरण रहस्यमै, निकटस्थसँग बयान लिँदै प्रहरी

काठमाडौं। रातो पुलबाट कालो पुलतर्फ जाने दुईवटा बाटो छन्। पहिलो धोबीखोला करिडोर, दोस्रो रातो पुलबाट ज्ञानेश्वरतर्फ थोरै अघि पढेपछिको बाटो।

गल्ली छिरेपछि आउँछ शहीद मार्ग। दायाँ-बायाँ घरहरू छन्। त्यही शहीद मार्गस्थित घरमा सारुक ताम्राकार। उनी नियमितजसो बुढानीलकण्ठ घरमा बस्ने भए पनि रातोपुल शहीद मार्गमा बाबुआमा बस्थे। २१ असार (बिहीबार) साँझ उनी सुटिङ सकेर त्यही आए।

परिवारका अरू सदस्य घरमा थिएनन्। अरू सदस्य राति करिब १० बजेतिर आइपुगे। सारुकको गाडी घरबाहिरै थियो। अरू सदस्यले कतै बाहिर जानेगरी सारुक घरभित्र छिरेको आकलन गरे। एक घण्टासम्म सारुक बाहिर नगएको र कम्पाउन्डबाहिरको गाडी भित्र नराखेपछि अरूले सम्झाउन गए।

सारुकको कोठाको ढोका खोल्न खोज्दा खुलेन। एकजनाले भर्‍याङपट्टिको झ्यालबाट चिहाउँदा झुन्डिएको देखे। प्रहरीलाई खबर भयो। प्रहरी वृत्त मालिगाउँबाट आएको टोलीले ढोका खोलेर हेर्दा सारुकको सास गइसकेको थियो।

उनले प्लास्टिकको पासो लगाएर आत्महत्या गरेका रहेछन्। मोबाइलमा गीत बजिरहेको थियो। उनको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा जाँच गर्न पठाइयो।

शव भेटिएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो। अस्पतालका अनुसार पोस्टमार्टमका क्रममा भने हत्या वा कुनै अन्य घटनाको शंका देखिएन।

०००

सारुक ‘ह्यासट्याग माया’ सिनेमाको छायांकनमा व्यस्त थिए। सुटिङ सकेर फर्किएको रात मृत फेला परे। चलचित्रको निर्देशन राजीव गुरुङले गरिरहेका थिए। उनले सारुक डिप्रेसनमा नरहेको पनि स्पष्ट पारेका छन्।

अभिनेता सारुकको आत्महत्याको १२ दिन पुगिसकेको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोस्टमार्टमपछि परिवारले सारुकको शव बुझिसकेको छ। अन्त्येष्टिसमेत भइसकेको छ।

अभिनेता सारुक ताम्राकार मृत भेटिए, आत्महत्या हुनसक्ने प्रहरीको शंका

पोस्टमार्टम रिपोर्टले हत्या भएको नदेखाए पनि उनको आत्महत्याको कारणमा भने अनेक शंका तथा उपशंका भइरहेका छन्। उनलाई आत्महत्या गर्न दुरुत्साहन वा बाध्य पार्ने केही पक्ष भएको भन्ने अड्कलबाजीहरू भइरहेका छन्।

सारुकको आत्महत्यालाई लिएर सिने जगतभित्र तरङ्ग सिर्जना भएको छ। कतिपयले उनी आत्महत्यासम्म पुग्नुको कारण के हो पत्ता लगाउन माग गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

०००

कसैसँग भएको प्रेमपछिको तनाव र व्यक्तिगत सम्बन्धका कारण उनी आत्महत्या गर्न बाध्य भएको हुनसक्ने आकलन गरिएका छन्। सोही आकलन भइरहँदा सारुकसँग मृत्युअघि सम्पर्कमा रहेकाहरूसँग बयान लिने क्रम जारी छ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी वृत्त, मालीगाउँले उनका निकटस्थहरूसँग बयान लिन सुरु गरेको हो।

यो बीचमा विभिन्न व्यक्तिलाई जोड्दै प्रश्नहरू उठेपछि प्रहरीसँग छलफल भइरहेको ताम्राकारको पारिवारिक स्रोतले बताएको छ। प्रहरीले पनि अनुसन्धान भइरहेको बताएको छ।

प्रहरी स्रोतले भन्यो, ‘‘मृत्युको घटना आफैँमा संवेदनशील हो। त्यसलाई मध्यनजर गरिरहेका छौँ। बाहिर विभिन्न खाले टीकाटिप्पणी र प्रश्नहरू आएका छन्। त्यो विषयमा मृतकसँग जोडिएका केही व्यक्तिहरूसँग सोधपुछ हुन्छ।’’

सारुक ताम्राकार आत्महत्या प्रकरणस् छानबिन गर्न कलाकार संघको माग

अनुसन्धानका क्रममा छानबिनको दायरामा आउनेमाथि छानबिन हुने र दुरुत्साहन गरेको देखिए मुद्दा चल्ने प्रहरीले बताएको छ।

सारुकले मृत्यु हुनुअघि काम गरिरहेको चलचित्र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग बयान लिइएको छ। प्रहरीले थप केही कलाकारलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बयान लिनेलगायतका कम नियमित प्रक्रिया भएको बताउँछन्।

०००

परिवारले घटनाको विषयमा सत्य, तथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरी वृत्त, मालीगाउँमा जाहेरी दिएको छ। यो बीचमा छानबिनले आत्महत्याबाहेक अन्य कुनै कारण नदेखाएको प्रहरी अधिकारीहरू बताउँछन्।

यहीबीच, कलाकारहरूले ताम्राकारको मृत्यु शंकास्पद रहेको दाबीसहित छानबिनको माग गरेका छन्।

सोमबार नेपाल चलचित्र कलाकार संघले विज्ञप्ति निकाल्दै ताम्राकार मृत्युको विषयमा गम्भीर अभिव्यक्तिहरू बाहिर आएकाले त्यसबारे छानबिन गरेर कोही दोषी देखिए सत्यतथ्य उजागर गरेर कानुनी दायरामा ल्याउन भनेको छ।

 

यसरी जुरेको थियो ‘सारुक’को नाम

झट्ट सुन्दा सारुकको नाम बलिउड अभिनेता शाहरुख खान प्रेरित जस्तो लाग्छ। तर, बाबु सानु ताम्राकारको ‘सा’ र आमा रुकमिणी ताम्राकारको ‘रुक’ गरी अगाडिका अक्षरबाट जुरेको थियो।

३१ वर्षका सारुकले भविष्यमा निर्देशक बन्ने सोच रहेको अन्तर्वार्तामा बताउने गरेका थिए।

सारुकले ‘इन्टु मिन्टु लन्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाँचे’लगायत फिल्ममा अभिनय गरेका छन्। उनको ‘ह्यासट्याग मायामा’ भन्ने फिल्म छायांकन भइरहेको छ।

 

के हुन्छ छायांकनमा रहेको फिल्म ?

सारुकको मृत्युपछि फिल्म के गर्ने भन्ने अन्योल छ। ह्यासट्याग मायाका निर्देशक राजीव गुरुङ फिल्मको प्रोटागोनिस्ट नै सारुक रहेको बताउँदै निधन भइसकेकाले अब के गर्ने भन्ने विषयमा टिमसँग छलफल भइरहेको बताए।

फिल्ममा सारुकको २५ प्रतिशत काम सकिएको उनले बताए। उनले भने, ‘हिरो भएको हुनाले उसको रोल धेरै नै थियो। तर पनि फिल्मको ३० प्रतिशत र उसको २५ प्रतिशत काम सकिएको थियो। अब ऊ नभएपछि रिसुट गर्ने कि के गर्ने भन्ने कुरा निर्णय हुँदैछ। फिल्मचाहिँ हामी बनाउँछौँ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved