एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छः प्रदीप यादव

नेपालभ्युज

एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छः प्रदीप यादव

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाईदा नपुग्ने उनको भनाई थियो ।

आईतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद अवरुद्ध गरेर मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकीर समेत गरे । उनले संसद अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने बताए ।

प्रमुख सचेतक यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई चित्त बुझाउने गरी संसदमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्‍याए  । ‘मुलुकलाई बन्धक बनाएर देशको अर्थतन्त्र धरासायी भएको बेलामा यसरी संसदलाई अवरुद्ध पारेर अहिले मुलुकले निकास पाउँदैन । झन मुलुक संकटमा फस्दै जान्छ संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन’ उनले भने, ‘संसदमा बहस गरेर समस्या समाधान हुन्छ । कुनै पनि इस्यु,  मुद्धा, कुनै पनि विषय छ भने संसदमा निर्धक्क राख्नुपर्छ, त्यो दलले आ–आफ्नो कुरा राख्नु पर्छ र, त्यो समस्याको समाधान निकाल्नु पर्छ । संसदलाई बन्धक बनाएर, संसदलाई अवरुद्ध गरेर यो समस्याको समाधान हुँदैन ।’

‘प्रधानमन्त्री सचिवालयले जुन विज्ञप्ती निकालेको छ । त्यसले प्रमुख प्रतिपक्षको चित्त बुझेको छैन । त्यसैकारण आज पनि हाउस अवरुद्ध भयो । विज्ञप्तीको कुरा होस् वा सम्माननीय प्रधानमन्त्रीजीको जुन अभिव्यक्तिको कुरा आईराखेको छ’ उनले अगाडी भने, ‘संसदमा जव प्रधानमन्त्रीजीले भनिसक्नु भएको छ कि म संसदमा कुरा राख्छु । र, मैले कुरा राखिसकेपछि सबैको चित्त बुझछ भने उहाँको विश्वास छ । त्यसकारण संसदमा त कुरा सुन्नु पर्छ । अव संसदमा कुरा नसुनिकन विज्ञप्तीको कुरा गरेर कसलाई फाईदा हुन्छ ?’

उनले संसद त जनताको न्यायको मन्दिर भएको बताउँदै भने, ‘यहाँबाट जनताले न्याय पाउँछ । हामी काम गर्ने बेलामा अव प्रत्येक दिन आउने अनि जाने । कि हाउस एक महिना, डेढ महिनाका लागि बन्द गर्नुपर्छ निर्वाचन क्षेत्रमा जाऊ , त्यहाँ गएर आफ्नो काम गरौं ।’

‘आज मेरो निर्वाचन क्षेत्र वीरगंजमा जाने प्लान थियो । आज फेरी संसद अवरुद्ध भयो । त्यसकारण यो संसद अवरुद्ध गरेर समस्याको समाधान हुँदैन’, उनले भने, ‘२०७४ सालमा म सांसद भएर आएको छु । त्यतिखेर काँग्रेस प्रमुख प्रतिपक्ष थियो । यति असहज उसले गरेन ।’

प्रमुख सचेतक यादवले संसद अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved