सुनको जलहरीबारे छानबिन जारी, मंगलबार पुनर्स्थापना गरिने

आइतबार राति जलहरी जोखिएको छ । अहिले त्यसमा रहेको चाँदी र तामाको मात्रा यकिन गरेर सुनको परिमाण निकाल्ने काम भइरहेको छ । जलहरी अहिले नेपाली सेनाको सुरक्षामा राखिएको छ ।

नेपालभ्युज

सुनको जलहरीबारे छानबिन जारी, मंगलबार पुनर्स्थापना गरिने

काठमाडौं। अनियमितताको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्ग (गर्भगृह) मा रहेको सुनको जलहरी निकालेर छानबिन गरिरहेको छ ।

जलहरीको छानबिन गर्न भोलिसम्मको समय लाग्ने अख्तियार स्रोतले जनाएको छ । छानबिन सकिएपछि जलहरी मंगलबार पुनर्स्थापना गरिने बताइएको छ ।

आइतबार राति जलहरी जोखिएको छ । अहिले त्यसमा रहेको चाँदी र तामाको मात्रा यकिन गरेर सुनको परिमाण निकाल्ने काम भइरहेको छ । जलहरी अहिले नेपाली सेनाको सुरक्षामा राखिएको छ । जलहरी जोख्दा समग्रमा १०७.४६८७ किलोग्रामको पाइएको बताइएको छ ।

नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा केही बढि पाइएको अख्तियार स्रोतले जनाएको छ। तर त्यसमा कति चाँदी र तामाको मात्रा छ भन्ने एकिन गर्न बाँकी छ । सबै छुट्याएपछि मात्रै अनियमितता भए नभएको स्पष्ट हुनेछ ।

उजुरीपछि छानबिन अघि बढाएको र छिट्टै विस्तृत प्रतिवेदन सार्वजनिक गरिने अख्तियारका प्रवक्ता भोला दाहालले बताए। उनले भने ‘‘अख्तियारले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान गरिरहेको छ । जलहरी निर्माण प्रक्रियामा सामेल कोषका पदाधिकारी, सदस्य, कालिगढ, भट्ट-पुजारी, सुरक्षाकर्मी लगायतसँग अख्तियारले बयान लिइसकेको छ । बाँकी प्रक्रिया सुरु गर्दैछौँ।’’

जलहरी २०७७ फागुन १२ गते राखिएको थियो। जलहरी बनाउन राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा सुन खरिद गरिएको थियो। तर, अपारदर्शी रूपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिमाणअनुसार काम नगरेको भन्दै २ वर्षअघि अख्तियारमा उजुरी परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved