प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा, पीडितलाई राहत दिन निर्देशन

नेपालभ्युज

प्रधानमन्त्री बाढीपहिरो प्रभावित क्षेत्रमा, पीडितलाई राहत दिन निर्देशन

काठमाडौं। पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सङ्खुवासभा पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किनेछन्।

प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरूसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन्। प्रधानमन्त्रीको साथमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र सहरी विकास मन्त्री सीता गुरुङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि छन्।

क्षतिग्रस्त ठाउँमा अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज हालेर सडक सञ्जालमा जोड्न निर्देशन दिए। साथै घरबारविहीनलाई आवासको व्यवस्था मिलाउन पनि निर्देशन दिए।

शनिबार रातिको बाढीपहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। तीनै जिल्लामा दर्जनौँ घर क्षतिग्रस्त भएका छन् । सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ । निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

बाढीपहिरोमा परी पाँचथरमा दुई तथा सङ्खुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ। यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ। संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन्।

छिमेकी जिल्ला पाँचथर, तेह्रथुम र संखुवासभासँग सडक सञ्जालले जोडिएको हिमाली जिल्ला ताप्लेजुङसँगको सडक सम्पर्क आइतबार बिहानदेखि टुटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved