विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिम, निजी क्षेत्र चिन्तित

नेपालभ्युज

विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिम, निजी क्षेत्र चिन्तित

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो । यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरूले व्यक्त गरेका छन् ।

विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल,पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताए । उनले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए ।

उनले विमानस्थलमा नियमित रूपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए । उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनका लागि पहल गर्न आवश्यक रहेको बताए । उनले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे ।

उनले विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरूको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरूले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताए । उनले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरूले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताए ।

उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै गर्दा लुम्बिनीका पर्यटन व्यवसायीहरूले धेरै ठूलो लगानी गरेका छन् । लुम्बिनीमा अर्ब मात्रै नभएर खर्ब बराबरको लगानी भएको छ । विमानस्थल सञ्चालनको लागि भारत सरकारसँग कुराकानी भएको भन्ने बुझेका छौं । यसको केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास छ ।’

त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको माग गर्दै पटक–पटक मन्त्री, प्रधानमन्त्री, सचिव, ठूला राजनीतिक दलका नेता आउँदा निजी क्षेत्रले ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म पहल नभएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved