नवलपुरको तापमानमा ‘रेकर्ड ब्रेक’, साउदी अरब र कतारको जत्तिकै गर्मी

तातो हावा ‘लु’ चल्न थाल्यो, बाहिर ननिस्कन सुझाव

यो तापक्रम मध्यपूर्वी देशहरू साउदी अरेबिया, कतारलगायतका देशहरूका केही स्थानभन्दा बढी हो। जबकि, त्यहाँका केही स्थानमा दुम्कौलीको भन्दा कम तापमापन भएको छ।

नेपालभ्युज

नवलपुरको तापमानमा ‘रेकर्ड ब्रेक’, साउदी अरब र कतारको जत्तिकै गर्मी

काठमाडौं। पछिल्ला केही दिनयता गर्मी लगातार बढ्दै जाँदा अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक गर्न थालेको छ। नवलपुरको दम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगेको जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ।

विभागले शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ। दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको हो। यसअघि, उच्चतम तापक्रम ४३ दशमलव ८ डिग्री थियो।

यो तापक्रम मध्यपूर्वी देशहरू साउदी अरेबिया, कतारलगायतका देशहरूका केही स्थानभन्दा बढी हो। जबकि, त्यहाँका केही स्थानमा दुम्कौलीको भन्दा कम तापमापन भएको छ।

दुम्कौलीमा गर्मीले जनजीवनसमेत प्रभावित भएको छ। सँगैको जिल्ला चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा तातो हावा ‘लु’ चलेको छ। बजार र सडक क्षेत्रमा निकै कम मात्रामा सर्वसाधारण हिँडेका छन्। जिल्लामा दुई साता अघिदेखि पानी परेको छैन। एक सातादेखि चितवनको तापक्रम ३९ डिग्रीभन्दा माथि छ। मौसमविद्हरूले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन्।

विभागका अनुसार दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च हो। यद्यपि, विभागले साँझ पौने ६ बजे मात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने छ। त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए । विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुङ्गाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

मौसमविद्का अनुसार पूर्व, मध्य र पश्चिमका तराई–मधेसका जिल्लाहरूमा गर्मी अत्यधिक छ। केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन्। पहाडका केही क्षेत्रहरूमा भने वर्षा पनि भएको छ। झापाको अनारमणीलगायत क्षेत्रमा समेत पानी परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved