जनगणनाको तथ्याङ्कप्रति राई समुदायको असहमति, अविलम्ब सच्याउन माग

नेपालभ्युज

जनगणनाको तथ्याङ्कप्रति राई समुदायको असहमति, अविलम्ब सच्याउन माग

काठमाडौं । राई समुदायको सर्वोच्च सामाजिक संस्था किरात राई यायोक्खा (किराया) ले राई समुदायसँग सम्बन्धित १२औं राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्क सच्याउन माग गरेको छ । आइतबार किराया मुख्यालय कोटेश्वरस्थित सुम्निमा हलमा पत्रकार सम्मेलन गर्दै तथ्याङ्क सच्याउन माग गरिएको हो ।

“राष्ट्रिय तथ्याङ्क कार्यालयले राई जातिको विशेषता र विविधतालाई नबुझी मिथ्याङ्क सार्वजनिक गरेकोप्रति घोर भर्त्सना गर्दै असहमति प्रकट गर्दछौँ,” सम्मेलनमा प्रेषित विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक भएको मिथ्याङ्क तुरुन्तै सच्याउन राष्ट्रिय तथ्याङ्क कार्यालयको ध्यानाकर्षण गराउँदछौँ ।”

यसअघि पनि पटक-पटक सचेत गराइएको तर कार्यालयले बेवास्ता गरेको किरायाको ठहर छ । अहिले गराइएको ध्यानाकर्षणलाई पनि बेवास्ता गरे त्यसबाट उत्पन्न हुने असहज अवस्थाको जिम्मेवार स्वयम् कार्यालय हुनुपर्ने भनिएको छ । “…अन्यथा यसबाट उत्पन्न हुनसक्ने असहज परिस्थितिप्रति स्वयम् राष्ट्रिय तथ्याङ्क कार्यालय र गलत सल्लाह दिने विज्ञहरू जिम्मेवार रहने सचेत गराइन्छ,” त्यहाँ भनिएको छ ।

सच्याउनुपर्ने विषयवस्तुलाई ४ बुँदामा प्रस्तुत गरिएको छ ।

सच्याउनुपर्ने बुँदाहरू:

१, राई जाति एक भाषा अनेक भएको जाति हो तर, तथ्याङ्क सार्वजनिक गर्दा राई जातिको भाषिक समुदायहरू कुलुङ, वान्तावा, चाम्लिङ, याम्फू, नाछिरिङ, बाहिङ/ बायुङ, बुलुङ, खालिङ, आठपहरिया, मेवाहाङ, साम्पाङ र लोहरुङलाई जातिको विवरणमा सार्वजनिक भएकोलाई सच्याइ राई जातिमा समाहित गर्नुपर्ने ।

२, लगभग ४० हजार वरिपरि रहेका देवास राई भाषीले जनगणनामा पूर्खाको भाषा र मातृभाषामा देवास लेखाएकोमा संकलन भई आएको विवरणलाई किन समेटिएन ? आएको विवरणलाई कहाँ राखियो ? यो तथ्याङ्कलाई तुरुन्तै अद्यावधिक गरियोस् र देवास भाषाको कोड उपलब्ध गराइयोस् ।

३, राई भाषा नै नभएको तर मातृभाषाको महलमा राई भाषा भनेर १,४४,५१२ र पूर्खाको भाषामा २,२८,५०२ संख्या देखाइ गलत तथ्याङ्क किन सार्वजनिक गरियो ? यो संख्यालाई वैज्ञानिक विश्लेषण गरी राई जातिभित्रको मातृभाषाहरू र पूर्खाको भाषाहरूमा समावेश गरियोस् ।

४, जनगणनाको क्रममा मातृभाषा र पूर्खाको भाषामा बायुङ लेखाइएकोमा तथ्याङ्क सार्वजनिक गर्दा छुटाइएकोले बायुङको कोड समावेश गरियोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved