काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकासहित फरार समेत ३२ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ।
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको भन्दै पूर्वउपप्रधानमन्त्री, मन्त्री, सचिव सहित बिचौलियालाई प्रहरीले अभियुक्त बनाएको छ । उनीहरुमाथि ४ वटा अपराधमा मुद्दा चलाउन सिफारिस गरेको प्रहरी स्रोतको भनाई छ।
यो प्रकरणमा पहिलोपटक पक्राउ गरिएको ५७ दिन भइसकेको र सरकारी वकिल कार्यालयले ६० दिन भित्र अदालतमा अभियोगपत्र दायर गरिसक्नुपर्ने कारणले सकेसम्म आजै र नत्र भोलिसम्म अभियोग दर्ता हुने बुझिएको छ।
प्रहरीले अहिलेसम्म १६ जना पक्राउ गरेको छ भने अन्य १६ जनालाई फरार सूचीमा राखेको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र उनका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा नीरज राई पनि फरार सूचिमा छन्।
यसैगरी, हालसम्म पक्राउ परेकामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहमन्त्री रामहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलगायत १६ जना छन्।
Facebook Comment
Comment