बालिका तथा किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी

नेपालभ्युज

बालिका तथा किशोरी अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री अधिकारी

पोखरा। किशोरीहरूको सशक्तीकरण र विकासको लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन्।

प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरूसँग सोमबार मुख्यमन्त्री कार्यालयमा भेटगरी अन्तरक्रिया गरेका अधिकारीले सो धारणा व्यक्त गरेका हुन् ।

नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ३५ जना किशोरीहरूले आफूहरूले काम गर्दा आएका विभिन्न विषयहरूलाई ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।

किशोरीहरूले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाहरूको लागि गरिदिनुपर्ने कामहरूको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन्। ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाहरूको लागि आवश्यक पर्ने विभिन्न विषयहरूको बारेमा स्वयम् किशोरीहरूले नै तयार गरेर हस्तान्तरण गरिएको किशोरी अभियन्ता सवनम सुनारले बताइन्।

ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपाङ्गतामैत्री पूर्वाधारहरू र संरचनाहरूको निर्माण गरिनुपने, प्रदेश तहमा बन्ने हरेक समितिहरूमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयहरूमा सेनिटरी प्याडको गुणस्तर र विसर्जन जस्ता विषयहरू समावेश गरिएको छ।

बालिकाहरूको भ्रुणबाट नै असुरक्षित रहने र जन्मेपछी पनि विभिन्न बहानामा हिंसा, दुर्व्यवहार र शोषणमा पर्ने भएकोले यस्ता समस्या समाधानको लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा बालिकाहरूले जोड दिएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री खगराज अधिकारीले सबैभन्दा पहिले बालिकाहरूले स्वयम् आफूलाई नै विश्वास गर्नुपर्ने बताए। वर्तमान समयका किशोरकिशोरीहरू नै भविष्य भएकोले प्रदेश सरकारले यिनै बालबालिकाहरू र किशोरकिशोरीहरूको लागि नीतिगत व्यवस्थाहरू सुरु गरेको, पाठ्यक्रमबाट नै आत्म सुरक्षा र देशलाई माया गर्नुपर्दछ भन्ने भावना जागृत गराउने अभियानहरू समेत सुरु गर्न लागेको बताए।

मुख्यमन्त्री अधिकारीले देश निर्माणको लागि र सामाजिक न्यायको लागि अहिलेका किशोरकिशोरीहरूले देशमा नै बसेर काम गर्नुपर्ने र रचनात्मक हुन समेत सुझाव दिए।

किशोरीहरूले प्रस्तुत गरेका मागहरूलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्नेसमेत उनले प्रतिबद्धता जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved