गर्मीमा तरबुजा : ढल्केवरमा दैनिक लाखौंको कारोबार

केही वर्षअघिसम्म तरबुजा धनुषाको कमला नदीछेउका गाउँहरूमा उत्पादन हुन्थ्यो। त्यही उत्पादनले बजार धान्ने गर्दथ्यो। तर, अहिले आयातित तरबुजाले स्थानीय उत्पादन हराउँदै गएको छ।

गर्मीमा तरबुजा : ढल्केवरमा दैनिक लाखौंको कारोबार

धनुषा। धनुषाको ढल्केवरमा अहिले चोक चोकमा तरबुजा बिक्री गर्ने पसलहरू थापेको देखिन्छ। अरु दिनभन्दा शनिबार र बिदाका बेला  तरबुजा खरिद गर्न यात्रुहरूको भीड लाग्छ।

अहिले पूर्व-पश्चिम राजमार्गमा हुइँकिने अधिकांश बस तथा निजी गाडीसमेत ढल्केबरमा रोकिएर तरबुजा खरिद गर्ने यात्रुहरूको भीड पनि उस्तै छ।

धनुषाको मिथिला नगरपालिकाको मुख्य बजार केन्द्र ढल्केवरका तरबुजा व्यापारीहरूलाई यतिबेला भ्याइ–नभ्याइ छ।

यहाँ तरबुजा बिक्री केन्द्रहरू राखी दैनिक लाखौंको कारोबार भइरहेको छ। तरबुजा प्रतिकिलो ३० देखि ३५ रुपैयाँ तथा प्रतिगोटाका हिसाबले बिक्री हुने गरेको व्यापारी उमाशंकर महतो बताउँछन्।

शहर बजारमा तरबुजा काटेर एक चाना नै २०–३० रुपैयाँमा बिक्छ। ढल्केवरमा अहिले दुई दर्जनभन्दा बढी स्थानबाट अस्थायी टहरा निर्माण गरी तरबुजाको व्यापार हुने गरेको छ। यहाँ दैनिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने व्यापारीहरू बताउँछन्।

होलसेल बिक्रेताका रूपमा रहेको अञ्जली एन्ड अंकित ताजा फलफूल स्टोर्सका सञ्चालक पञ्चदेव साह र वैजनाथ चौधरीले भारतको ओडिसा लगायतका राज्यबाट तरबुजा झिकाई अन्य व्यापारीलाई बिक्री गर्ने गरेका छन्। आफ्नो स्टोर्सबाट मात्र दैनिक १ लाखको खुद्रा तरबुजा बिक्री हुने गरेको उनीहरू बताउँछन्।

भारतबाट ल्याउँदा तरबुजा खरिदबाहेक ढुवानीमा मात्रै चारदेखि पाँच लाख रुपियाँ खर्च लाग्ने हुँदा स्थानीय उत्पादनको तुलनामा केही महँगो भएको चौधरीले बताए।

उनले यहाँको स्थानीय उत्पादन वैशाख महिनाको दोस्रो–तेस्रो सातापछि मात्र बजारमा आउने गरेको बताए । उनले भने, ‘तरबुजाको कारोबार भने फागुनको दोश्रो साताबाटै सुरु हुन्छ।

ग्राहकको मागलाई परिपूर्ति गर्नकै लागि भए पनि भारतबाट आयात गर्नुपर्ने हुन्छ।’ ढल्केबरमा बिक्री हुने तरबुजा भारतको ओडिसा, कलकता, सिलगढी लगायतका ठाउँहरूबाट भित्रिने गरेको उनले बताए।

एक दशकदेखि सिजनमा तरबुजाको व्यापार गर्ने गरेको बताउँदै चौधरीले भने, ‘अहिले जनकपुर, वीरगञ्ज, काठमाडौं, पोखरालगायत सहरका व्यापारीले यहीँबाट तरबुजा लाने गरेका छन्।’

केही वर्षअघिसम्म गर्मी मौसममा सर्वाधिक बिक्री हुने फलको रूपमा चिनिएको तरबुजा धनुषाको पूर्वी भेगको कमला नदीछेउका गाउँहरूमा उत्पादन हुन्थ्यो। स्थानीय मागलाई परिपूर्ति गर्दै त्यो उत्पादनले बजार धान्ने गर्दथ्यो। तर, अहिले आयातित तरबुजाले स्थानीय उत्पादन हराउँदै गएको छ।

उपभोक्ताहरूले स्थानीय उत्पादनमा रुचि राखे पनि सरोकारबाला निकायहरूले उत्पादन वृद्धिको लागि खासै ठोस योजनाहरू तयार गर्न नसक्दा स्थानीय उत्पादनभन्दा आयातित तरबुजाले बजार लिएको हो।

ढल्केवरका एक तरबुजा व्यापारी विजय साह स्थानीय किसानलाई राज्यले तरबुजा उत्पादन वृद्धि गर्न र चिस्यान केन्द्र स्थापना गरी भण्डारण र बजारीकरणमा सहयोग गर्नुपर्ने बताउँछन्।

यता आधुनिक कृषि प्रणालीको अभावमा स्थानीय उत्पादन लोप भइरहेको छ। यस्तो अवस्थमाका ठूलो सम्भावना रहेको तरबुजा खेतीको उत्पादन बढाउन स्थानीय र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउँछन्, ढल्केवर कृषि बजारका व्यवस्थापक शम्भु दास।

धनुषाको प्रायः पूर्वी–उत्तरी क्षेत्रमा उत्पादन हुने तरबुजाबाट राम्रो आम्दानी हुन थालेपछि प्रत्येक वर्ष व्यावसायिक रूपमै किसानहरूले खेती गर्न थालेका छन्।

यो क्षेत्रमा यस वर्ष ५ सय २० हेक्टर क्षेत्रफलमा लगाइएको खरबुजा खेतीले १९ हजार ९८ मेट्रिक टन उत्पादन भएको धनुषा कृषि ज्ञान केन्द्रले जनाएको छ।

धनुषामा खरबुजाको लागि इनरुवा, मल्हनिया, सघारा, लक्कड, सिंग्याही मडान, कटरैत, धनुषाधाम, पर्वता, सिकियाही लगायतका पूर्वी क्षेत्र पकेट एरियाको रूपमा मानिन्छन्। यद्यपि, माग अनुसारको स्थानीय उत्पादन हुन नसक्दा भारतीय उत्पादनले बजार ओगटेको छ।

यो फल प्रायः खोलाको बालुवा वा पानी नजम्ने बालुवा माटोमा उब्जनी हुने गरेको कटरैतका किसान इन्द्रेश यादवले बताउँछन्।

यस्तै, आयुर्वेद अस्पतालका वैद्य श्याम गिरी तरबुजा निकै फाइदाजनक रहेको बताउँछन्। उनी भन्छन्-  ‘तरबुजामा पानीको मात्रा प्रशस्त हुन्छ। यसको सेवनले सामान्यतया तिर्खा मेटाउन र पानीको मात्रा शरीरमा सन्तुलित गर्न मद्दत गर्छ। यसका प्रशस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ।’

बगर खेतीको रूपमा गरिने मौसमी फल तरबुजाको स्थानीय उत्पादन बढाउन स्थानीय र प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्ने किसानहरूको माग छ।

सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले प्रदेश सरकारले नै तरबुजाका साथै मौसमी फलफूल खेतीलाई वृद्धि गर्न विशेष योजना ल्याउनुपर्ने बताए।

‘किसानहरूलाई खेतीका लागि सहुलित दरको ऋण तथा अनुदानको व्यवस्था गर्नुपर्छ,’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved