अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने भएपछि जसपाको विधान अधिवेशन सर्‍यो

नेपालभ्युज

अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने भएपछि जसपाको विधान अधिवेशन सर्‍यो

काठमाडौं। पार्टी अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने भएपछि जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन प्रभावित भएको छ।

वैशाख १० गते हुने उपनिर्वाचनमा जसपा अध्यक्ष यादव बारा-२ बाट उम्मेदवार छन्। यही उपनिर्वाचनको कारण देखाउँदै जसपाले जेठ १ गतेका लागि अधिवेशन सारेको हो। पार्टी प्रचार विभागका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा अधिवेशन हुनेछ।

यसअघि, चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर, वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा पार्टीकै अध्यक्ष यादव नै उम्मेदवार बनेका कारण बैठक सारिएको सो पार्टीले जनाएको छ।

विधान अधिवेशनका लागि अध्यक्ष यादवको नेृत्वत्वमा गठित कार्यदलले मस्यौदा तयार गरी पार्टीलाई बुझाइसकेको छ । सो मस्यौदामाथि जिल्ला तथा प्रदेशबाट सुझाव पनि सङ्कलन भइसकेको पार्टीले जनाएको छ । सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिई विधानलाई अधिवेशनमा लग्नेछ।

जसपाले तयार पारेको विधान संशोधन मस्यौदाअनुसार केन्द्रीय समितिको सदस्य संख्या घटाउनेदेखि संघीय परिषद् हटाउने र विभिन्न समिति पनि खारेज गर्ने प्रस्ताव छ।

पार्टीले तयार पारेको विधानको मस्यौदामा १५१ सदस्यीय कार्य समितिको प्रस्ताव गरिएको छ भने हालको विधानमा ७०१ सदस्यीय कार्य समिति रहेको छ।

विधानबाट पहिचानका राष्ट्रिय समिति हटाइने प्रस्ताव गरिएको छ । पार्टीमा मधेस राष्ट्रिय समिति, लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, थारुवान राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति र शिल्पी दलित राष्ट्रिय समिति रहेका छन् ।

त्यस्तै, विधानको मस्यौदाअनुसार अब संघीय परिषद्लाई पार्टीको संरचनाबाट हटाउने भएको छ । अहिले संघीय परिषद्को अध्यक्षमा अशोक राई छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved