वैद्य र धर्मेन्द्र नेतृत्वका दुई माओवादी पार्टीबीच एकता हुने

नेपालभ्युज

वैद्य र धर्मेन्द्र नेतृत्वका दुई माओवादी पार्टीबीच एकता हुने

काठमाडौं। टुट्दै, फुट्दै र जुट्दै अघि बढेका पूर्व माओवादीका दुई घटकबीच पार्टी एकता हुने भएको छ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्न लागेका हुन्। यी दुई घटक ०६९ मा माओवादीबाट फुटेका एउटै समूह हुन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर दुई पार्टी एकता गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन्। वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले यस विषयमा छिट्टै जानकारी दिने जनाएका छन्।

वार्ता टोलीमा वैद्य नेतृत्वको पार्टीबाट स्थायी समिति सदस्य सिपी गजुरेल, रामसिंह श्रीष छन् । यस्तै, बास्तोला नेतृत्वको पार्टीबाट प्रवक्ता हेमन्तप्रकाश ओली र उदयबहादुर चलाउने छन्।

पार्टी एकतापछि अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने मोटामोटी समझदारी बनिसकेको छ। आलोपालो नेतृत्व गर्ने गरी दुई जनाबीच अध्यक्ष मण्डल बनाइने पनि स्रोतको भनाइ छ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन गरेर वैद्यले नेकपा–माओवादी गठन गरेका थिए। प्रचण्डबाट वैद्य छुट्टिएको तीन वर्षमा नेत्रविक्रम चन्द‘विप्लव’ले आफ्नै नेतृत्वमा नेकपा बनाएका थिए ।

विप्लवबाट पार्टी विभाजन गरेर बास्तोलाले छुट्टै पार्टी बनाएपछि अहिले वैद्यसँग एकता हुन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved