चितवनमा उम्मेदवारी दर्ता गर्दै दलहरु, गगन, विश्वप्रकास र रवि तनहुँ पनि जाने

नेपालभ्युज

चितवनमा उम्मेदवारी दर्ता गर्दै दलहरु, गगन, विश्वप्रकास र रवि तनहुँ पनि जाने

चितवन। आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गर्दै छन् । जिल्लामा विशेष गरी चार दलका लागि निर्वाचन कार्यालयले समय तालिका तोकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिनको १ बजे देखि ४ बजेसम्म ठूला दलहरुलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विहान १० बजे, नेपाली कांग्रेसका लागि दिनको २ बजे, नेकपा एमालेका लागि ३ बजे र राप्रपाका लागि ४ बजे समय तोकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले समय तालिका तोकेसँगै मनोनयनका लागि दलहरुले आ–आफ्नो तयारी थालेका छन् । यस क्षेत्रको उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जिवलाल पुरीले उम्मेदवारी दर्ताको तयारी थालेका छन् ।

रास्वपाका केन्द्रीय सभापति  रवि लामिछानेले बिहान १० बजे मनोनय दर्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । आफ्नो उम्मेदवारी दर्ता गरेसँगै तनहुँमा समेत उम्मेदवारको दर्ता कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेकाले चाँडै दर्ता गर्न लागिएको उनका निजी सचिव प्रकाश सिग्देलले दिए ।

कांग्रेसले उम्मेदवारी दर्ता गर्नका लागि दिनको १ बजे चौबिसकोठीमा भेला हुन आह्वान गरेको छ । मनोनयन दर्ताका क्रममा कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना चितवन पुग्ने कार्यक्रम रहेको छ ।

भेलामा नेताले सम्बोधन गरेपछि जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । एमालेका उमेदवार न्यौपानेले दिउँसो ३ बजे उमेदवारी दर्ता गर्दैछन्।

। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय अध्यक्ष लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएसँगै सांसद पद खारेज भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved