नेपालले यूएईसँग ‘बिग म्याच’ खेल्दै, हजारौँ समर्थक काठमाडौं आउँदै, कस्तो रहला मौसम ?

नेपालभ्युज

नेपालले यूएईसँग ‘बिग म्याच’ खेल्दै, हजारौँ समर्थक काठमाडौं आउँदै, कस्तो रहला मौसम ?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिम निकै ठूलो सफलतातर्फ लम्किरहेको छ । पूर्व खेलाडी र विश्लेषकले त नेपाली क्रिकेट अहिले इतिहासकै उत्कृष्ट लयमा रहेको र अहिलेसम्म नपाएको सफलता नजिक पुगेको बताएका छन् ।

नेपाल ऐतिहासिक सफलताको एक खुड्किलो मात्रै पछाडी छ । अब नेपालले विहीबार यूएईलाई हराएमा सोझै एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । एकदिवसीय विश्वकप छनोटमा नेपालले श्रीलंका, दक्षिण अफ्रिका लगायतका देशहरुसँग खेल्न पाउनेछ ।

विश्वकप क्रिकेट लिग-२ मा नेपालले लामो समयसम्म खराब प्रदर्शन गर्‍यो । तर पछिल्ला एक महिनाका खेलमा नेपालले जादुमयी प्रदर्शन गरेको छ । लिगका पछिल्ला ११ वटा खेलमा नेपालले १० वटा खेल जितेको छ । ११ वटा खेलमा नेपालले टिमको तर्फ र व्यक्तिगत तर्फका थुप्रै रेकर्ड बनाएको छ ।

लिग-२ मा नेपालले ३५ खेलमा ३८ अंक जोडेको छ । नेपाल चौथो स्थानमा छ । नेपालले लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार यूएईसँग खेल्नेछ ।

यो खेल जितेमा नेपाल सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ ।

हजारौँ समर्थक काठमाडौं आउने तयारीमा

नेपालमा क्रिकेट समर्थकहरु दिनदिनै बढिरहेका छन् । नेपाली क्रिकेट नराम्रो लयमा रहँदा पनि समर्थकले मैदानमा पुगेर हौसला दिइरहेका हुन्छन । झन यसपटक त नेपाली क्रिकेट ऐतिहासिक सफलता नजिकै रहेको छ । त्यसैले समर्थकहरु निकै उत्साहित छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा यूएईसँग हुने खेल हेर्न काठमाडौं बाहिरबाट पनि समर्थक आउने तयारी गरेका छन् । सामाजिक सञ्जालका विभिन्न ग्रुपमा काठमाडौं आउने सूचना जारी भएका छन् । गाडी रिजर्वका सूचना पनि देख्न सकिन्छ ।

केहि समर्थक पञ्जेबाजाको साथमा पनि मैदान आउने तयारीमा छन् । यसै पनि मैदानमा टन्नै दर्शक हुने गरेकोमा यूएईसँगको खेलमा मैदान खचाखच हुने पक्का देखिन्छ ।

मौसमको डर

पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई बिहीबारको खेलमा यूएईसँग भन्दा पनि मौसमसँग डर मान्नुपर्ने अवस्था छ । प्रि मनसुनको सिजन सुरु भइसकेकाले दैनिकजसो हावाहुरी र पानी परिरहेको छ । पछिल्ला केही दिनयता दिनदिनै जसो मध्यान्हपछि हावाहुरीसहित पानी पर्न थालेको छ ।

सिधै विश्वकप छनोट खेल्न यूएईलाई हराउनैपर्ने दबाबमा रहेको नेपालले मौसमलाई पनि चुनौतीका रुपमा हेरेको छ । यदि पानी परेर यूएईसँग अंक बाँड्नु पर्यो भने नेपालले सिधै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।

किनकी यूएईसँग अंक बाँड्दा नेपालको ३९ अंक हुनेछ । नामिबियाको पनि ३९ अंक नै रहेको छ तर रनरेटका आधारमा नेपाल भन्दा माथि नामिबिया रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि पहाडी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् विनोद पोख्रेलले काठमाडौंमा बिहीबारको मौसम तुलनात्मक रुपमा राम्रो हुने बताएका छन् । प्रि मनसुनको समय भएपनि पछिल्ला केही दिनको तुलनामा काठमाडौंको मौसम बिहीबार सुधार हुने उनको भनाई छ ।

बुधबार र शुक्रबार पानी पर्ने उच्च सम्भावना रहेपनि  बीचको एकदिन बिहीबार भने पानी पर्ने सम्भावना कम छ । मौसम पूर्वानुमान गर्ने केही वेबसाइटले बिहीबार काठमाडौंमा पानी पर्ने सम्भावना ४ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved