माओवादीहरूलाई मुद्दा हाल्नु शान्ति सम्झौता विपरीत छ : उपाध्यक्ष सापकोटा

नेपालभ्युज

माओवादीहरूलाई मुद्दा हाल्नु शान्ति सम्झौता विपरीत छ : उपाध्यक्ष सापकोटा

काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार जनकपुरमा सञ्चारकर्मीसँग उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरूप हुनुपर्ने बताए।

द्वन्द्वकालका घटनाहरूको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएकाे उनकाे भनाइ छ ।

‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ । त्यहाँ यी विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ। आयाेग गठन भएको छ। त्यसले काम पनि सुरुवात गरिरहेको छ।’ उपाध्यक्ष सापकाेटाले भने, ‘शान्ति प्रक्रियाको मर्म, भावना, संक्रमणकालिन न्यायको पद्धति विपरीत जाँदा शान्ति प्रक्रियालाई असर पुर्‍याउँछ।’

उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धीहरूलाई उल्ट्याउने कोसिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने पनि बताए। विस्तृत शान्ति सम्झौताको गम्भीरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्ने उनकाे भनाइ छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved