नेपाली चलचित्रका ‘गडफादर’ छवि ओझाको चौथो वैवाहिक जीवन पनि सफल भएन। श्रीमती शिल्पा पोखरेलले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले सम्बन्ध विच्छेद र आधा ऋण व्यहोर्नेगरी सम्पत्ति पाउने ठहर ग-यो।
छविले अदालतलाई दिएको विवरणमा उनको २० करोड ऋण छ। छविको आधा सम्पत्तिबाट ऋणको आधा रकम कटाएर शिल्पाले सम्पत्ति पाउनेछिन्।
नायिका निशा अधिकारीले श्रीमान् शरद भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको समाचार बाहिर आयो। निशाले त्यसलाई थामथुम पार्न सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोस्ट गर्दै ‘म न लुकाउने छु, न त धेरै व्याख्या गर्न जाँदैछु । यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र मायाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौं’ भनेर लेखिन्। उनको लेखाइबाट सहजै बुझ्न सकिन्छ कि, उनीहरूको सम्बन्धमा केही ‘खिचडी’ पाक्दैछ।
२०७८ भदौं १ गते नायक निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीलाई भक्तपुरको सिङ्गो घर दिएर सम्बन्ध विच्छेद गरे। घरसँगै नगद ५० लाख र छोराको लालन पालनको लागि मासिक ५० हजार दिने सहमति भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाकै रोहवरमा गरियो।
यी केही उदाहरण मात्रै हुन्। नेपाली सेलिब्रेटी जसलाई समाजको ऐना र राष्ट्रको गहना पनि भनेर सम्बोधन गरिन्छ । उनीहरूको विवाह अनी सम्बन्ध विच्छेदको घटना सायद उनीहरूका फ्यानले सुन्न चाहँदैनन्।
किनभने चलचित्रको पर्दामा सँधै नकारात्मक कुराको विरुद्ध उभिने सकारात्मक पात्र अर्थात् नायक (हिरो) र नायिका (हिरोइन) भएर अभिनय गर्ने कलाकार आफ्नै वैवाहिक सम्बन्धलाई ‘विच्छेद’गरेर समाजलाई कस्तो सन्देश दिन खोज्दैछन् ? भन्ने पनि सबाल उठ्न सक्छ।
यद्यपि, यो उनीहरूको निजी मामला हो। तर,कलाकार वा सेलिब्रेटी भइसकेपछि व्यक्तिगत जीवनभन्दा बढी सार्वजनिक जीवनको महत्त्वबोध हुनुपर्दछ की ? भन्ने प्रश्न उठ्नु पनि स्वभाविक हो।
हाँस्यकलाकार मनोज गजुरेल बढी फ्यान फ्लोअर हुने सेलिब्रेटी मध्यमा पर्दछन्। जब मनोजले श्रीमती मिना ढकालसँगको २२ वर्ष लामो वैवाहिक जीवनको अन्त्य गरेपछि उनका समर्थक र शुभचिन्तक दुःखी भए।
हुन त, पश्चिमा देशमा प्रेम र विवाह निजी मामला मानिन्छन् । यही कारण चर्चित सेलिब्रेटीका विवाह र पारपाचुकेलाई सामान्य मानिन्छ। यसबारे कतै पनि त्यति ठूलो बहस हुँदैन र स्थान पनि पाउँदैनन्।
तर, नेपालमा प्रेम, विवाह र विछोडका घटनाहरू ठूलै सामाजिक मुद्दा बन्ने गरेका छन्। कतिपय ‘सेलिब्रेटी’ले आफ्ना निजी सम्बन्धहरू बाहिर नजाओस् भन्ने पनि चाहन्छन्। तर, समाजले उनीहरूलाई नजिकबाट नियालिरहेका कारण यी कुरा गुपचुप रहन सक्दैनन्।
नेपाली सेलिब्रेटीमध्ये चर्चित जोडी थियो नायक भुवन केसी र नायीका सुस्मिता केसीको । तीनपाते चियाको विज्ञापनदेखि झाँगिएको प्रेमलाई विवाहमा बदलेका उनीहरूको छोरा अनमोल केसी अहिले चल्तीका नायक हुन्। यो जोडीको सम्बन्ध विच्छेदपछि भुवन पुनः विवाह गर्ने तयारीमा छन् भने सुस्मिता देशबाहिर छिन् ।
त्यसैगरी, नायिका पूजा चन्द र एन्जल्स ब्यान्डका गायक राजु लामाको सम्बन्ध पनि लामो समय टिकेन। दुवै अमेरिका बसेको समयमा प्रेममा परेर बच्चासमेत जन्माए पनि अहिले पूजाले दोस्रो बिहे गरिसकेकी छिन्।

त्यस्तै, अर्को चर्चित सम्बन्ध विच्छेद हो पूर्व मिस नेपाल तथा मोडल उषा खड्गी र सञ्चारकर्मी जी.पी तिमिल्सिनाको । यी दुईको डिभोर्सले पनि निकै चर्चा पाएको छ। मिस नेपाल भइसकेकी खड्गी र सञ्चारकर्मी तिमिल्सिनाले २ वर्ष प्रेम र १७ वर्ष लामो वैवाहिक सम्बन्ध क्षणभरमै टुङ्गयाए ।
सम्बन्ध विच्छेद गरेर पनि एउटै घरमा बस्दै आएका तिमिल्सिनाले दोस्रो बिहे गरेर घरमै दोस्री श्रीमती भित्र्याएपछि खड्गीले चित्त दुखाइन् । अहिले जीपी दोस्री पत्नीसँग छन्।
अभिनेत्री सौजन्य सुब्बाले पनि पहिलो बिहे तोडेर पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भूपेन चन्दसँग दोस्रो विवाह गरेकी हुन् । सौजन्य र भूपेनले विवाहपूर्व नै आ–आफ्नो डिभोर्स गरिसकेका थिए ।
नायिका एवं कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि डिभोर्सपछि अहिले एक्लै रमाउँदैछिन्। युरोप बस्ने रबर्ट विश्वकर्मासँगको सम्बन्ध १ वर्षमै टुङ्गिएपछि उनी अहिले कार्यक्रहरूमा व्यस्त छिन्।

गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच पनि डिभोर्स भएको छ। डेढ दशक लामो वैवाहिक सम्बन्धलाई टुंग्याउँदै उनीहरूले अलग हुने निर्णय गरेका हुन्। यद्यपि, यो डिभोर्सलाई धेरैले अपत्यारिलो मानेका छन्। तर,उनका शुभचिन्तकलाई भने यो खबरले दुःखी बनाएको थियो।
त्यसैगरी, नायिका सञ्चिता लुइँटेलको पनि आकाश शाहसँगको सम्बन्ध विच्छेदपछि नायक निखिल उप्रेतीसँग दोस्रो बिहे भएको हो। हाल निखिल र सञ्चितासँगै छन्।
लोक गायिका बबिता बानियाँ जेरी र शंकर क्षेत्रीको सम्बन्ध विच्छेदले पनि कलाकारको सम्बन्ध टिकाउ किन हुन सक्दैन ? भन्ने कुरालाई नै बल पुर्याएको छ। बिहे गरेको २ वर्ष नपुग्दै उनीहरू छुट्एिका छन्। उनीहरूको एक छोरी छिन्।
त्यसैगरी, गायिका अञ्जु पन्तको पनि पहिलो श्रीमानसँगको डिभोर्सपछि अहिले दोस्रो बिहे गरेर अमेरिका आउ–जाउ गर्दैछिन्।

उता नायिका मनीषा कोइराला र व्यवसायी सम्राट दाहालको सम्बन्ध पनि मुस्किलले एक वर्ष मात्रै टिक्यो । बीपी कोइरालाकी नातिनी तथा भारतीय चलचित्रकी चर्चित नायिका मनीषा र विराटनगरका व्यवसायीका छोरा सम्राटको काठमाडौंको गोकर्ण रिसोर्टमा २०७१ मा विवाह भएको थियो।
विवाहको केही समयपछि नै उनीहरू छुट्टाछुट्टै फ्लाटमा बस्न थाले र त्यसको ३ महिनापछि डिभोर्स भयो। हाल मनीषा राजतन्त्र फर्काउने अभियानमा छिन्।