काठमाडौं । गोरखाका शहीद सुरेश वाग्ले ‘बासु’ का छोरा विकास वाग्ले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भेटिए । शहीद सप्ताहको अन्तिम दिन आयोजित कार्यक्रममा शहीद तथा बेपत्ता परिवारको तर्फबाट उपस्थित भएका उनी भन्दै थिए, ‘शहीदहरूले देखेको सपनामात्रै पूरा गर्ने हो भने देश साँच्चै शान्त र सुन्दर बन्छ ।’
त्यसो त विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरू र मुख्यत: माओवादी जनयुद्धले आंशिकरूपमै भएपनि आफ्ना मान्यताहरू स्थापित गर्न सकेको स्वीकारोक्ति विकासको छ । ‘शहीदहरूले देख्नुभएको सपना पूरा त भएकै छैन । आंशिकरूपमै भएपनि केही मान्यता स्थापित भएका छन् । त्यो क्रम संविधानसम्म आइपुगेको छ, त्यसपछि हामी अगाडि बढेका छैनौँ,’ उनी भन्छन् ।
जनयुद्धको नेतृत्व गरेकै नेताहरू राज्यको कार्यकारी भूमिकामा रहँदा पनि शहीदका सपनाले मूर्तरूप नपाउनू निकै दुखद् भएको बताउँछन् विकास । ‘प्रचण्डले चाहे सबै कुरा हुन्छन् भन्ने त होइन । तर, पहल गरेपछि हुन्छ भन्ने विश्वासका साथ अगाडि जानू आवश्यक छ,’ उनले भने ।
विकास थप्छन्, ‘शहीदका सपना अब संस्थागत हुनुपर्छ । भुइँमान्छेले सजिलै बाँच्न सकून् भन्ने नै शहीदका सपना हुन् । र, यो दिशमा हाम्रो सरकार कहिल्यै अगाडि गएन ।’
सर्लाहीकी लक्ष्मी पौडेल पनि विकास भेटिएकै मञ्चमा भेटिए । युद्धमा भाइ गुमाएकी लक्ष्मीको सरकारसँग गभ्मीर चित्तदुखाइ छ, भन्छिन्— ‘मर्ने त मरिहाले, जो बाँचेका थिए उनीहरूले पनि केही गरेनन् । बाँच्नेहरूले मर्ने हितैसीको भावना समेट्न सकेनन् । बेस्सरी चित्त दुख्छ नि के गर्नू र ?’
त्यसअघि उनले प्रश्न गरिन्- ‘सही मुद्दा बोक्नेहरू मरेर गए । बाँच्नेहरूले तिनै शहीदका सपना कुल्चिएर हिँडिरहेका छन् । यो अपराध होइन र ? कसले सुन्ने, कसले देख्ने ?’
जनताका जीवन उकास्नका लागि लड्दा मरेकाहरूको सपना राज्यले जरुर पूरा गर्नुपर्ने भनाइ लक्ष्मीको छ । ‘शहीदका सपना भनेकै डाँडोको झुपडी र शहरको महलको हैसियत बराबर हुन्छ र होस् भन्ने हो । त्यसैका लागि हाम्रा दाजुभाइहरू लडे र मारिए । उनीहरूलाई राज्यले किन बिर्सियो ?,’ उनले भनिन् ।
शहीदका सपना पूरा गर्नुको साटो नेताहरू सधैँ कुर्सीकै लागि लडिरहेको महसुस गर्छिन लक्ष्मी, उनी भन्छिन्— ‘शहीदको सपना भुलेर कुर्सीको खेलमा रमाउन कति सकेका हुन् कुन्नि । हिजो जनक्रान्ति भन्थे, आज यसो हेर्दाखेरि धनक्रान्तिजस्तो देखिन्छ ।’
सिन्धुपाल्चोकका शरणसिंह तामाङले माओवादी युद्धमा छोरा र छोरी गुमाए । ‘छोरा र छोरीले देशका लागि लडेका थिए, मरे । मर्ने त मरिहाले, बाँच्नेहरूलाई निकै गाह्रो भइरहेको देख्छु,’ उनले भने ।
युद्धकै कारण अपाङ्ग तथा घाइते भएकालाई जीवन बिताउन साह्रै मुस्किल परिरहेको आफूले देख्ने गरेको सुनाउँदै उनी सरकार गुहार्छन्, ‘मरेर जाने त गइहाले, अधकल्चो भएर बाँच्नेहरूले चाहेरै पनि मर्न सकिरहेका छैनन् । उनीहरूको उद्दार राज्यले नै गरोस्, उनीहरू राज्यकै लागि लडेका थिए ।’
उनी राज्यले शहीद, बेपत्ता तथा घाइते-अपाङ्गका परिवारले राज्यले दैनन्दिन भुलिरहेको देखेसो पोखाउँछन् । ‘हामीलाई राज्यले भुलिरहेको छ, तर हामी हाम्रा गुमेका परिवारका सदस्यहरूलाई भुल्न सक्दैनौँ,’ उनले भनेका छन् ।
बेपत्ता परिवारका सदस्य प्रतीक कार्की जनयुद्ध सफल भएकै मानिएपनि त्यसले उठाएको मुद्दाहरू भने खासरूपमा लागू नभएको बताउँछन् । जनयुद्ध सञ्चालन गर्नेहरू नेतामात्रै हुन खोजेको बताउँछन् प्रतीक । ‘उहाँहरू नेतृत्व बन्नुभएन, नेतामात्रै बन्न खोज्नुभयो । नेता बन्नू र नेतृत्व बन्नूमा फरक छ,’ उनले भने ।
उनी वर्तमान सरकार शहीद, बेपत्ता तथा घाइतेका परिवारहरूको उच्च सम्मानमा जाग्नुपर्ने बताउँछन् । माओवादी जनयुद्धकै नेतृत्व गरेका प्रचण्ड सरकारको नेतृत्वमा हुनु त्यसका लागि ‘प्लस पोइन्ट भएको बताउँछन् उनी, ‘अहिले सरकारको नेतृत्वमा पनि प्रचण्ड हुनुहुन्छ, अब सरकार यो दिशामा अगाडि बढ्नुपर्छ ।’
Facebook Comment
Comment