रुस-युक्रेन युद्धको छायाँमा जी–२० विदेशमन्त्रीस्तरीय बैठक

जर्मन विदेशमन्त्री अन्नालेना बार्बोकले बैठकमा भनेकी थिइन–‘लाभारोभ महोदय, कृपया यृद्ध रोक्नुस, अन्तर्राष्ट्रिय व्यवस्था र कानुनको हनन् रोक्नुस । युक्रेनी शहर र नागरिकमाथिको बमबर्षा रोक्नुस।’

नेपालभ्युज

रुस-युक्रेन युद्धको छायाँमा जी–२० विदेशमन्त्रीस्तरीय बैठक

काठमाडौं। विश्वका प्रमुख औद्योगिक तथा ठूलो अर्थतन्त्र भएका राष्ट्रको समूह जी–२० को विदेशमन्त्रीस्तरीय दुई दिने बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकको आयोजक राष्ट्र भारत जी–२० समूहको अध्यक्ष हो । गत वर्षको नोभेम्बरमा भएको बाली शिखर सम्मेलनले भारतलाई समूहको अध्यक्षता सुम्पेको थियो ।

नयाँ दिल्ली बैठकको नारा ‘वसुधैव कुटुम्बकम्ः एक धर्ति, एक परिवार, एउटै भविष्य’ राखिएको थियो । मन्त्रीस्तरीय बैठकपछिको परिणाम संक्षेपीकरण दस्तावेजमा भनिएको छ–‘विश्वमा दिगो विकास लक्ष्यप्रतिको धिमा प्रगति, जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधता ह्रास, आर्थिक सुस्तता, कर्जा तनाव, महाव्याधीपछिको अपर्याप्त पुनरुत्थान, बढ्दो गरिबी र असमानता, खाद्य तथा ऊर्जा अपर्याप्तता र विश्व आपूर्ति प्रणालीमा व्यवधान, भूराजनीतिक तनाव र द्वन्द्वहरूको वृद्धिजस्तो बहुआयामिक चुनौतीहरूको दायरा बढ्दो छ । बैठक सामूहिक रूपमा सामना गर्नुपर्ने समकालीन वैश्विक चुनौतीहरूप्रति समर्पित छ ।’

बैठकलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भिडियो सम्बोधन गरेका थिए । उनले भने–‘बैठकका प्रतिनिधि समकालीन विश्वका चुनौती सामना गर्न मतभेदभन्दा माथि उठ्नै पर्दछ ।’

साथै, प्रधानमन्त्री मोदीले ‘विश्व व्यवस्था दोस्रो विश्वयुद्ध यताकै संकटग्रस्त अवस्थामा पुगेको र यसको दुस्प्रभाव विकासशील देशमाथि परेको’ धारणा पनि राखे। मोदीले भने–‘म त्यस्ता कुनै सवाल नै देख्दिनँ जो हामीले चाह्यौं र मिल्यौं भने समाधान गर्न नसकियोस्।’

बैठकमा ‘रुसले युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्दै युक्रेनी भूभागबाट निर्शत र सम्पूर्णतः सेना फिर्ता गर्न पर्दछ’ भन्ने सहमति गर्न खोजिएको थियो । तर, रुस र चीनको असहमतिका कारणले यस्तो सहमति बन्न सकेन ।

भारतीय विदेशमन्त्री एस. जयशंकरका अनुसार ‘फरक-फरक देशका विविध धारणा’ को कारणले यसबारे कुनै सहमति बन्न नसकेको हो ।  कतिपय असहमतिका बाबजुद धेरै महत्त्वपूर्ण विषयमा सहमति भएको जयशंकरले बताए । तीमध्ये–‘पारस्परिकताको सबलीकरण, खाद्य तथा ऊर्जा सुरक्षाको प्रवर्द्धन, जलवायु परिवर्तन, लैङिगक समनाताको सवाल र प्रतिआतंकवाद’ प्रमुख छन् ।

रुसी विदेशमन्त्री सेर्गेई लाभारोभलाई सम्बोधन गर्दै जर्मन विदेशमन्त्री अन्नालेना बार्बोकले बैठकमा भनेकी थिइन–‘लाभारोभ महोदय, कृपया यृद्ध रोक्नुस्, अन्तर्राष्ट्रिय व्यवस्था र कानुनको हनन नगर्नुस् । युक्रेनी शहर र नागरिकमाथिको बमबर्षा रोक्नुस्।’

लाभारोभले आफ्नो बोल्ने पालोमा पश्चिमा देशले युक्रेनलाई दिँदै आएको ‘हतियार, सैन्य सहायता र उक्साहट’ रोक्न माग गरेका थिए । लाभारोभ र अमेरिकी विदेशमन्त्री अन्टोनी ब्लिकेनबीच बैठकको क्रममा ‘साइडलाइन वार्ता’ भएको थियो । युक्रेन युद्ध सुरु भएयता अमेरिका र रुसका उच्च अधिकारी बीचको यो पहिलो भेट हो ।

बैठकपछि ब्लिकेनले भने–‘युक्रेनमाथिको रुसी आक्रमणको कुनै पुष्टि हुन सक्ने छैन । तर, यस विषम स्थितिमा पनि खाद्य तथा ऊर्जा आपूर्तिमा कुनै समस्या नआओस् भन्ने विषयमा अमेरिकाको जोड हुनेछ।’

चीनले भने अमेरिकाले युक्रेनलाई जस्तै ताइवानलाई हतियार बेचेर आफ्नो सार्वभौमसत्ताको हनन गरेको आरोप लगाएको थियो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्–‘अमेरिका एकातिर भन्छ कि ऊ शान्ति चाहन्छ, अर्कोतिर हतियार बेच्दै हिँड्छ भने उसको व्यवहार कसरी उचित हुन्छ ?’

बैठकमा सहभागीलाई भारतीय विदेशमन्त्री एस जयशंकरले स्वागत गरेका थिए । स्वागत सम्बोधनमा उनले भने–‘परिवर्तित सन्दर्भमा संयुक्त राष्ट्र संघको सुधार जरुरी छ, जो सन् १९४५ यता बद्लिएको छैन । यदि यसको भविष्य कायम राख्ने हो भने वैश्विक निर्णय प्रक्रिया अझ बढी लोकतान्त्रिक हुन जरुरी छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved