प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरुद्वारा भेट

नेपालभ्युज

प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरुद्वारा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरुले भेट गरेका छन् । बिहिबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंदरबारमा भएको भेटमा आयोगहरुमा आइपरेका समस्या र चुनौतिका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरु सामाजिक विभेदहरुको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले आयोगहरुको गठन धेरै ठूलो संघर्ष र बहस पश्चात भएको उल्लेख गर्दै आवश्यक साधन स्रोत र पूर्वाधार सहित व्यवस्थित गर्नुपर्ने बताए। प्रधानमन्त्रीले भने, ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरुको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्दछ र मात्र आयोगहरुले प्रभावकारी रुपमा काम गर्न सक्छन् ।’

आयोगका अध्यक्षहरुले मानव अधिकार सम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरुको लागि सेवा, शर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकोले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । त्यसैगरि संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नपर्ने उनिहरुको धारणा थियो ।

सो भेटवार्तामा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved