टर्कि भूकम्प : ४१ हजारभन्दा बढीको मृत्यु

टर्कि भूकम्प : ४१ हजारभन्दा बढीको मृत्यु

काठमाडौं। टर्किको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौं घरबारविहीन भएका छन् ।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्किएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्किएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ ।

सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्किएमा दुई सय १५ भन्दा बढी परकम्प महशुस भएको छ । टर्किएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।

टर्किको कहरामनमारस केन्द्र बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछि गएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भुइँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्किमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् । भूकम्पको २०५ घण्टापछि एक महिलासहित नौ जनालाई जीवितै उद्धार गरिएको छ । टर्किका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताएका छन्। राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उनले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताए ।

आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्कि सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

टर्किको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियामा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरियाका भूकम्प पीडितले आफूहरूलाई मार्न वा घर फर्काउन माग गरेका छन् । गृहयुद्धका कारण आफ्नै भूमिमा शरणार्थी बनेका उनीहरूले सिरिया सरकारसँग घरफिर्तीको माग गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग सहयोग गर्न अपील गरेको छ । महासचिव एन्टोनियो गुटरेसले टर्किका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गरेका छन् ।

प्रारम्भिक आकलनअनुसार टर्किमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved