फागुन ५ गते बैंकहरूविरुद्ध उद्योगी व्यवसायीहरूले सडक आन्दोलन गर्ने

नेपालभ्युज

फागुन ५ गते बैंकहरूविरुद्ध उद्योगी व्यवसायीहरूले सडक आन्दोलन गर्ने

काठमाडौं। फागुन ५ गते उद्योगी व्यवसायीहरूका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् ।

संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरूका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरूले बैंकहरूविरुद्ध बृहत् संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको बताए ।

व्यवसायीहरूले पछिल्लो समय बैंकहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न बाध्य भएको बताएका छन् । संयुक्त मूल संघर्ष समितिका संयोजक कटुवालले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उद्योगी व्यवसायीहरूमा रहेको सिण्डिकेटको अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए ।

लामो समयदेखि उद्योगी व्यवसायीहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरकार उदासिन देखिएकाले सडक आन्दोलनमार्फत आफ्ना मागहरू राख्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए । संघर्ष समितिका संयोजक कटुवालले उद्योगी व्यवसायीहरूको लागि सरकार, राजनीतिक दल वा दलका नेताहरू कोही पनि जिम्मेवार नभएकाले ९ वटा महासंघ र ३८ वटा संघहरूले संयुक्त सडक आन्दोलन गर्न बाध्य भएको उल्लेख गरे ।

उनले सडक आन्दोलन शान्तिपूर्ण हुने बताउँदै फागुन ५ गतेको सडक आन्दोलन कुनै सत्ता प्राप्ति वा नेता बन्नको लागि नभई व्यवसायी र व्यापारीहरूको हितको लागि गर्न लागेको बताए ।

‘उद्योगी व्यवसायीहरूको मागको सुनुवाइ सरकारले नगरेकाले व्यवसायीहरूले पुनः सडक आन्दोलनमा जान बाध्य भएका छौ‌ं । यसअघि, नेपाल राष्ट्रिय व्यवसायी महासंघ एक्लैले सडक आन्दोलन गरेका थियौं । तर, अहिले ९ वटा व्यवसायिक महासंघहरू र ३८ वटा व्यवसायिक संघ संगठनहरूको संयुक्तरूपमा बृहत् सडक आन्दोलन गर्ने घोषणा गरेका छौँ।’ उनले भने ।

सडक आन्दोलनपछि पनि राज्यले उद्योगी व्यवसायीहरूको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँबी सरकारलाई बुझाउने उनले चेतावनी दिए । सरकारलाई तालाचाबी बुझाएपछि विदेश काम गर्न जान भिसा माग्ने उनको भनाइ छ । उनले नेपालमा उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरूले सबैलाई सुकुम्बासी बनाउने अवस्था आएको गुनासो पोखे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved