मिडियामाथि आक्रोश पोख्दै रविले भने, ‘गलत समाचार लेख्नेको कार्यालय घेर्छौं’

नेपालभ्युज

मिडियामाथि आक्रोश पोख्दै रविले भने, ‘गलत समाचार लेख्नेको कार्यालय घेर्छौं’

काठमाडौं । गृहमन्त्रीबाट बाहिरिएको आठौं दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई केही मिडियाले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् ।

पार्टी सरकारबाट बाहिरिएको जानकारी दिन पत्रकार सम्मेलन गरेका उनले अधिकांश समय मिडियालाई गाली गर्नमै विताए ।

‘आज मुडमा छु’ भन्दै पत्रकार सम्मेलन सुरु गरेका उनले गगन थापाको ‘बाख्रा’, रामहरि खतिवडाको ‘घडी’ देखि केही सम्पादक, समाजिक संजालमा सक्रिय अभियन्ता र मिडिया सञ्चालकको नाम पटक–पटक उच्चारण गरे ।

पूर्व सञ्चारकर्मी लामिछानेले पत्रकार सम्मेलनको सुरुदेखि अन्त्यसम्म पटक-पटक थुप्रै संचारमाध्यमको नाम लिएर तिनका सम्पादक र संचालकमाथि आक्रोश पोखे । उनले राजनीतिक पार्टी, तीनका शीर्ष नेता र आफ्नै पार्टीको भावी योजना बारे भने खासै बोलेनन् ।

रविले अब ‘अभिमन्यु’ नबन्ने भन्दै जुन मिडियाले विरोध गर्छ त्यसको कार्यालय घेर्ने योजनासमेत सुनाए ।‘अब डराइँदैन, गलत समाचार लेख्ने मिडिया घेर्न जाने हो’–उनले भने । उनले गृहमन्त्री नपाएपछि सरकार छाडेको भन्ने प्रचारबाजी सत्य होइन भन्दै उप–निर्वाचन नजितेसम्म कुनै पदमा नजाने पनि बताए ।

झन्डै १ घण्टा २३ मिनेट पत्रकारसँग बोलेका रविले आफूलाई विरोध गर्ने हरेक सम्पादकको वास्तविक मुखुण्डो उतार्ने दाबी समेत गरे ।

कानुन सबैलाई बराबर हुनुपर्छ भन्दै उनले मिडियाका १२ भाइ सधैं आफ्नाविरुद्ध लागेको दाबी गरे । यसरी विरोध गर्नेको हरेक काण्ड बाहिर ल्याउन सक्ने हिम्मत आफूमा रहेको भन्दै उनले गृहमन्त्री बनेको दिनदेखि नै षड्यन्त्र सुरु भएको जिकिर गरे ।

सबैजसो मूलधारको मिडिया र तीनका सञ्चालकविरुद्ध उत्रिएका रविले राजनीतिभन्दा बढी मिडिया दूषित रहेको आरोप पनि लगाए । पत्रकार सम्मेलन चलिरहँदा छिनमै आवेगमा आउने र छिनमै साम्य हुने व्यवहार देखाउँदै रविले आफूले गृह मन्त्रालयमा पुनः जाने भनेर कुनै बिन्ती नगरेको दाबी पनि गरे ।

उनले केही सम्पादकको नाम लिएर राजनीति गर्ने रहर भए चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत  दिए । ‘देश मिडियाले चलाउने होइन, देश चलाउने भए चुनाव लड्न आउनुस्’ उनले भने–‘समाचार हेरेर न्यायाधीशले मेरोबारे फैसला गरे ।’ रविले भने ।

उनले मिडियालाई राजालाई दाम चढाएजस्तो  नजरा चढाउनुपर्ने भन्दै कतिपय ठुला घरानाका गम्भीर घटना पनि सामसुम पारिएको उदाहरण पेश गरे ।

अन्त्यमा केही समय आफू आवेगमा आएको स्विकार्दै उनले भने ‘उपप्रधानमन्त्री पनि गुमेको छ, गृहमन्त्री पनि गुमेको छ, सांसद पनि गुमेको छ, पार्टी सभापति पनि गुम्यो अनि नागरिकसमेत नभएपछि अलि–अलि आक्रोशमा आउनु स्वाभाविक हो नी’ ।

पार्टी चलाउन कसैसँग एक रुपैयाँ पनि नलिने र सदस्यले तिर्ने १ हजार रुपैयाँले खर्च पुर्‍याउने बताउँदै उनले भने,  ‘कसैको जुठो खाइँदैन, कसैसँग झुकिँदैन । म मरे पनि, जेल परे पनि र बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी चलिरहन्छ ।’

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved