काठमाडौं। आजदेखि श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।
स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।
स्वस्थानी व्रत सुरु भएको दिन आजदेखि पनौतीको सालीनदीमा मेलासमेत लाग्ने गर्दछ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।
संस्कृतिविद् हरिराम जोशी भन्छन्, “स्वस्थानी व्रत वा साँखु जात्रा पनौतीबाट सुरु भएको हो । व्रतकथा सत्ययुगमा पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी व्रत बसेको कथासँग जोडिएको छ ।”
यसरी पार्वतीले एक महिनासम्म व्रतस्वरुप भगवान शिवसँग विवाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही व्रतकथा चल्दै आएको मानिन्छ ।
संस्कृतिविद् जोशीका अनुसार, स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् । १२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिने मान्यता छ ।
सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको उनको भनाइ छ ।
चिसो मौसममा दैनिकरूपमा पवित्र शालिनदीमा स्नान गरी एक महिनासम्म कथा सुनेर ब्रत बसिने स्वस्थानी वा माधव नारायणप्रति नेपालीहरुको विशेष लगाव र विश्वास छ । यहाँ बस्ने व्रतालुले एक महिनासम्म नुन खान मिल्दैन ।
दैनिकरुपमा नित्यपूजा, जप, तप, ध्यान, स्वस्थानी श्रवण गरी सूर्यपूजा, शिव पार्वतीसहित सम्पूर्ण देवीदेवताको पूजा अर्चना गरी साँखु नगरभित्र एकसय आठ स्थानमा अष्टाङ्ग प्रमाण, सहस्र जलधारा अर्पण गर्ने र बेलुकी भएपछि कोठामा गई अलिनो खाना खानुपर्ने परम्परा छ । यस व्रत अवधिमा माछा, मासु, अण्डा, दाल, लसून, प्याज, साग, नून, तेल खान र प्रयोग गर्न पाइदैन ।
Facebook Comment
Comment