बागमती प्रदेशले सार्वजनिक गर्‍यो सभामुखको निर्वाचन कार्यतालिका

नेपालभ्युज

बागमती प्रदेशले सार्वजनिक गर्‍यो सभामुखको निर्वाचन कार्यतालिका
फाइल तस्वीर

मकवानपुर । बागमती प्रदेशले सभामुखको निर्वाचन  कार्य तालिका सार्वजनिक गरेको छ । प्रदेशसभाको गत सोमबारको बैठकले आगामी पुस २९ गतेका लागि सभामुखको निर्वाचन तोकेसँगै प्रदेशसभा सचिवालय हेटौंडाले निर्वाचनको कार्य तालिका सार्वजनिक गरेको हो ।

नेपालको संविधानको धारा १८२ को उपधारा (१) बमोजिम प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट प्रदेश सभामुख निर्वाचन गर्नु पर्ने प्रावधान अनुसार पुस १८ गते सोमबार दिउँसो बसेको बैठकले पुस २९ गते शुक्रबारका लागि सभामुखको निर्वाचनको मिति तोकेको थियो ।

प्रदेशसभाको बैठकको निर्णय अनुसार प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सभामुखको निर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेका हुन् । उनले प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को प्रयोजनका लागि निर्वाचनको कार्यक्रम सार्वजनीक गरेका छन् ।

जारी सूचना अनुसार पुस २८ गते बिहीबारका लागि मनोनय दर्ताको कार्यक्रम राखिएको छ । उक्त दिन बागमती प्रदेश सभा सचिवालयको कोठा नम्बर–१२ मा बिहान १०ः३० देखि २ः०० बजेसम्म मनोनयनको कार्यक्रम सञ्चालन हुनेछ  त्यस्तै पुस २८ गते नै दिउँसो २ः३० बजेदेखि ३ः३० सम्मका लागि मनोनयन फिर्ताको कार्यक्रम रहको छ । सोही दिन दिउँसो ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन कार्यतालिका रहेको छ । पुस २९ गते शुक्रबार बिहान ११ः०० बजेका लागि बागमती प्रदेश सभा हलमा निर्वाचनको कार्यक्रम रहेको सूचनामा जनाइएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार  सभामुखको निर्वाचनको लागि कुनै एक जना प्रदेश सदस्यले एक/एक जना प्रस्तावक र समर्थकसहित प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved