पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : अहिलेको खुसी कति दीगो होला ?

आधुनिक विश्व अर्थतन्त्रका नियमहरू गौरव र खुसीले सञ्चालित हुँदैनन् । अर्थतन्त्र सञ्चालनको मुख्य नियम आर्थिक नै हुन्छ । र, त्यो भनेको लागत–मुनाफा विश्लेषण र सम्भाव्यताको अधिकतम उपयोग नै हो । लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय पर्यटकको उल्लेखनीय संख्या आएन भने यी विमानस्थलले देशको अर्थतन्त्रलाई कुनै योगदान गर्ने छैनन् । बरु उल्टै भार सावित हुनेछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : अहिलेको खुसी कति दीगो होला ?

नयाँ वर्ष, सन् २०२३ को पहिलो दिन जनवरी १ पारेर नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेपछि देशैभरि खुसी र उत्साहको वातावरण देखिएको छ । देशका ठूला राष्ट्रिय गौरवका परियोजनामध्ये एक सम्पन्न भएको अवसरमा उत्साह र खुसी हुनु स्वाभाविक हो ।

काठमाडौंको त्रिभुवन विमानस्थल र भैरहवाको गौतम बुद्ध विमानस्थलपछि यो देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना सन् १९७१ मा पञ्चायतकालमै सुरु भएको हो । तर, लामो समयसम्म यसले गति लिन सकेको थियो । सन् २०१६ मात्र यो परियोजना तीव्र गतिमा अघि बढ्यो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको करिब ३ किमी पश्चिममा पोखराको पुरानो आन्तरिक विमानस्थल छ । पुरानो विमानस्थललाई नयाँ विमानस्थलले आन्तरिक उडानमा प्रतिस्थापित गर्ने वा नगर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय सार्वजनिक भएको छैन ।

नयाँ विमानस्थलमा दैनिक आन्तरिक तर्फ ४८ र अन्तर्राष्ट्रिय तर्फ ६ उडान भर्न सकिने क्षमता रहेको बताइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ २०० सिट क्षमतासम्मका एयर बस र बोइङ उड्न र अवतरण गर्न सक्नेछन । विमानस्थल २४ सैं घण्टा सञ्चालन गर्न सकिने सुविधासहित बनाइएको छ।

विमानस्थलको कुल लागत करिब २८ करोड डलरमध्ये ७ करोड डलर नेपाल सरकारले आफैँ र २१ करोड डलर चीनको ऋणबाट व्यहोरिएको छ । चिनियाँ ऋणको ब्याज २ प्रतिशत छ जो, भैरहवा विमानस्थलको भन्दा दोब्बर महँगो हो ।

भैरहवा विमानस्थलमा एसियाली विकास बैंकलाई १ प्रतिशत मात्र ब्याज तिर्नुपर्दछ । पोखरा विमानस्थलको चिनियाँ ऋणको ब्याज तिर्न मात्र वार्षिक ३२ लाख डलर खर्च हुनेछ । यसले देशको वैदेशिक मुद्राको आय, सञ्चिती र खर्चमाथि निकै ठूलो दबाब बढाउने छ ।

ठूलो खर्च र महँगो ऋणका बाबजुद विमानस्थलले अर्थतन्त्रलाई गति दिने सके नराम्रो हुने छैन । तर, विमानस्थलको सञ्चालन के कसरी हुने हो, त्यो राम्रोसँग चल्ने हो वा नचल्ने हो, अझै यसै भन्न सकिने अवस्था छैन ।

गत जेठ महिनाबाट सञ्चालनमा आएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अझै राम्ररी चल्न सकेको छैन । चिनियाँ ऋण २० वर्ष अवधिको मात्र भएको हुँदा विमानस्थलको आम्दानीबाट भुक्तान गर्न सकिने कुनै सम्भावना छैन ।

त्यसको वित्तीय भार देशको वार्षिक बजेटमा पर्ने निश्चित छ । अहिले नै वार्षिक बजेटको करिब १२ प्रतिशत ऋणको साँवा-ब्याज भुक्तानीमा गइरहेको अवस्थमा यो अझै थपिने छ ।

प्रारम्भिक वर्षहरूमा विमानस्थलले सञ्चालन खर्च (अपरेटिङ कस्ट ) मात्र धान्न सके पनि त्यो निकै ठूलो उपलब्धि हुनेछ । काठमाडौं बाहिरका अन्तर्राष्ट्रिय विमानस्थल चल्नका लागि दुईवटा रणनीति हुन सक्दछन् ।

एक– काठमाडौंबाट हुने उडान र अवतरणलाई नै सेयर गर्ने । काठमाडौंबाटै हुँदै आएका उडानलाई पोखरा वा भैरहवाबाट गर्ने ।
दुई– पोखरा र भैरहवा विमानस्थलका लागि थप नयाँ उडान र गन्तव्यहरू खेजी र सम्झौता गर्ने ।

पहिलो तरिकाले देशको उडान क्षमता र अर्थतन्त्रमा कुनै गुणात्मक परिवर्तन ल्याउने छैन । काठमाडौंको एयर ट्राफिक जाम कम गर्न मात्र मद्दत गर्नेछ । अर्कोतिर अपायक उडानस्थलका कारण यात्रुहरूमा असन्तोष बढ्न सक्दछ ।

समग्र अर्थतन्त्रमा मै गुणात्मक प्रभाव पर्ने गरी विमानस्थलको सञ्चालनका लागि नयाँ उडान र गन्तव्यको खोजी नै मुख्य तरिका हो ।

सबैलाई थाहा छ– भैरहवा विमानस्थल बुद्ध जन्मस्थल लुम्बिनी र पोखरा विमानस्थल पोखरा–मुस्ताङ– अन्नपूर्ण, ढोरपाटन क्षेत्रको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी बनाइएका हुन् ।

भैरहवा र पोखरा–दुवै अन्तर्राष्ट्रिय राजनीतिक, प्रशासनिक, व्यापारिक तथा औधोगिक महत्त्वका शहर हैनन् । दुवै सम्भावना पर्यटकीय हो । भैरहवाको विमानस्थलको सम्भावना बुद्ध जन्मस्थल र धार्मिक पर्यटन हो भने पोखराको सम्भावना प्राकृतिक पर्यटन हो ।

जसको जे सम्भावना हो, त्यहीअनुरूप त्यसको अन्तर्राष्ट्रिय ब्रान्डिङ हुन सक्नुपर्दछ । राजनीतिक, प्रशासनिक, व्यापारिक तथा औधोगिक प्रबन्धनहरू बाध्यतात्मक हुन्छन् । यी सबै सुविधा र सम्भावना अहिले पनि काठमाडौंसँगै छ ।

कतिपयले भैरहवा र पोखरा विमानस्थलको कारण निजगढ विमानस्थल अनावश्यक र असान्दर्भिक हुने तर्क गर्दछन, त्यो दृष्टिकोण सही देखिँदैन ।

निजगढ विमानस्थलले फाष्ट ट्रयाकलाई उपयोग गरी काठमाडौंको सम्भावनालाई परिचालन गर्ने हो, भैरहवा र पोखरा विमानस्थल त्यो सम्भावनाको प्रतिस्थापन हुन सक्दैनन् ।

तसर्थ, भैरहवा र पोखराले आफ्नो सम्भावनालाई आफैँ ब्रान्डिङ र उपयोग गर्न सक्नुपर्दछ । पर्यटकीय शहर र सम्भावनाका रूपमा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्न सक्नुपर्दछ ।

काठमाडौं नआइकनै लुम्बिनी र पोखरा घुमेर फर्किन चाहने वा पहिलो अवतरणको गन्तव्य लुम्बिनी र भैरहवालाई बनाएर नेपाल डुल्न चाहने अन्तर्राष्ट्रिय पर्यटकको ठूलो संख्यालाई आकर्षित नगरिकन यी विमानस्थल पूर्ण क्षमतामा चल्न सक्दैनन् ।

यी विमानस्थल औसत क्षमतामा चल्न सकेनन् भने ठूलो आर्थिक लगानी ‘आइडल’ बस्ने छ । त्यसले अर्थतन्त्रलाई प्रतिफल दिन नसक्ने मात्रै हैन, देशको वित्तीय सन्तुलन नै बिगार्न सक्छ ।

यसको सबैभन्दा गतिलो उदाहरण श्रीलंका छ । श्रीलंकाले हब्बनटोटा बन्दरगाह र मटाला राजपाक्षे विमानस्थल यसरी नै महँगो चिनियाँ ऋणमा बनाएको थियो । तर, कोभिड–१९ र पश्चिमा जगतसँगको बिग्रँदो सम्बन्धले गर्दा यी दुवै राम्ररी चलेनन् ।

बन्दरगाह चीनले लिजमा लियो भने मटाला विमानस्थल न्यून उडानका कारण सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्थामा छ ।

पोखरा विमानस्थल उद्घाटनको खुसियालीसँगै नेपालले यी पक्षमा पनि सोच्नु पर्दछ । आधुनिक विश्व अर्थतन्त्रका नियमहरू गौरव र खुसीले सञ्चालित हुँदैनन् । अर्थतन्त्र सञ्चालनको मुख्य नियम आर्थिक नै हुन्छ । र, त्यो भनेको लागत–मुनाफा विश्लेषण र सम्भाव्यताको अधिकतम उपयोग नै हो ।

लुम्बिनी र पोखरामा अन्तर्राष्ट्रिय पर्यटकहरूको उल्लेखनीय संख्या आएन भने यी विमानस्थलले देशको अर्थतन्त्रलाई कुनै योगदान गर्ने छैनन् । बरु उल्टै भार सावित हुनेछन् । अहिलेको खुसी क्षणिक सावित हुन सक्नेछ ।

पोखरा विमानस्थलबाट अहिलेसम्म बुद्ध एयरले बनारस– पोखरा उडान भर्ने प्रतिबद्धता जनाएको छ । त्यसबाहेक कुनै भरपर्दा आश्वासनहरू प्राप्त भएका छैनन् ।

चिनियाँ लगानीमा बनेको विमानस्थल भएको कारणले चिनियाँ पर्यटकलाई लक्षित गरी नेपालले प्रवर्द्धनात्मक काम गर्न सक्नुपर्ने छ । यो पनि सबैलाई थाहा भएकै कुरा हो कि– कोभिड– १९ को महाव्याधिपछि अन्तर्राष्ट्रिय पर्यटन उद्योगको अवस्था राम्रो छैन ।

विश्वका धेरै देशमा पर्यटन उद्योग धराशायी भएको छ । त्यसको सबैभन्दा खराब उदाहरण त श्रीलंका नै हो, जसको कारणले त्यहाँको अर्थतन्त्र  धर्मराएन मात्रै, आर्थिक संकटले राजनीतिक संकटको रूपसमेत लियो ।

पर्यटन उद्योग जति आकर्षक छ, उत्तिकै प्रतिस्पर्धात्मक पनि हुँदै गएको छ । तीव्र आर्थिक उन्नति गरिरहेका नवधनाढ्य मुलुकहरूले नयाँ-नयाँ गन्तव्य निर्माण गरिरहेका छन् । नेपालको पर्यटन पूर्वाधार क्षेत्रको लगानी यद्यपी न्यून छ । पर्यटन नीति र दृष्टिकोणमा प्रष्टता छैन भने अन्तर्राष्ट्रिय प्रवर्द्धन क्षमता पनि सीमित नै छ ।

यी सबै कारणलाई एक ठाउँमा ल्याएर हेर्दा भैरहवाजस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य त्यति सहज देखिँदैन । विमानस्थल निर्माण कार्य सम्पन्न भएको खुसियाली बाँड्दै गर्दा यसका चुनौती र सम्भावनाका पक्षमा पनि गम्भीर चिन्तन गर्न आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved