महोत्तरीमा साहुले क्रुरतापूर्वक यातना दिएर एक कामदारको हत्या गरेको खुलासा

भिडियोमा अन्सारीलाई निर्वस्त्र पारेर निर्ममतापूर्वक कुटपिट गर्दै उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको देखिन्छ ।

महोत्तरीमा साहुले क्रुरतापूर्वक यातना दिएर एक कामदारको हत्या गरेको खुलासा

जनकपुरधाम । महोत्तरीमा एक जना साहुले आफ्नो कामदारलाई चरम यातना दिएर कुटपिट गरी हत्या गरेको खुलासा भएको छ।

सम्सी गाउँपालिका–२ पर्सा देवाडका ४० वर्षीय मोहम्मद खुर्सेद अन्सारीलाई सोही ठाउँका ३५ वर्षीय शेख अब्दुल कलामले अमानवीय तरिकाले कुटपिट गरी हत्या गरेको घटना सार्वजनिक भएको हो ।

अन्सारीलाई पुस ७ गते आरोपित कलामले हात बाँधेर कुटपिट गरी आगो लगाएर नालामा फालेका थिए । अन्सारीको जनकपुरको जानकी हेल्थ केयरमा उपचारको क्रममा पुस १० गते मृत्यु भयो ।

पुस ७ गते बिहान करिब ४ बजे घरबाट हिँडेका अन्सारी अपराह्न ३ बजे गाउँकै नालामा अचेत अवस्थामा फेला परेका थिए । उनलाई परिवारले तत्काल रामगोपालपुर नगरपालिका–९ स्थित जानकी एकेडेमिक अस्पतालमा लगेका पनि त्यहाँ उपचार हुन सकेन ।

थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर पुर्‍याइएका  अन्सारीको पुस १० गते बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अमानवीय व्यवहार, कुटपिट र ज्यान मार्ने उद्योगमा मृतकका भाइ मोहम्मद जमसद अन्सारीले पुस ७ गते उजुरी दिएको आधारमा आरोपित कलामलाई सोही दिन गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर रञ्जन मिश्रले बताए ।

उपचारकै क्रममा अन्सारीको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरिएको मिश्रले जानकारी दिए । सोही घटनामा संलग्न रहेको भनिएका ४२ वर्षीय साबिर शेख र २१ वर्षीय जिनमा शेख फरार रहेकोले खोजी कार्य जारी रहेको उनले जनाए ।

आरोपित कलामले अन्सारीलाई चरम यातना दिएको भिडियो समेत सार्वजनिक भएको छ । सो भिडियोमा आरोपित सलामले अमानवीय तरिकाले कुटपिट गर्दै गरेको दृष्य आफैले खिच्न लगाएको प्रहरी समक्ष स्वीकार गरेका छन् ।

भिडियोमा अन्सारीलाई निर्वस्त्र पारेर निर्ममतापूर्वक कुटपिट गर्दै उनको मलद्वारमा आगो लगाउने प्रयास गरिरहेको देखिन्छ । अंसारीको दुवै हात बाँधेर कुटपिट गर्नुका साथै मलद्वारमा उखुको लौरो घुसाएको दृश्य देखिन्छ ।

आरोपित कलामले बजारमा खसी काटेर बिक्री गरेको मासुको हिसाब नदिएको र पुस ७ गते समेत खसी किन्न नगएको रिसमा अन्सारीलाई चरम यातना दिएको भिडियो मै बताइ रहेका छन् । अन्सारीले आफूले कुनै चोरी नगरेको र खसीको हिसाब समेत दिने बताइरहेका दृश्यमै देखिन्छ ।

यसैबिच घटना सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख मञ्जु खतिवडा, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवान लगायतका अनुगमन टोलीले पीडित परिवारको घरमा पुगी मृतककी पत्नी ३९ वर्षीया रसिदा खातुनसँग घटना बारे जानकारी लिएका छन् ।

खातुनले आफ्नो पतिलाई एकाबिहानै ३ बजे नै घरबाट जिन्मा र साब्बीरले बोलाएर लगेको र अब्दुल कलामले यातना दिएर हत्या गरेको बताइन् ।

खातुनका अनुसार अन्सारीले पहिले आफैँ खसी काट्ने गर्थे । पुँजी अभाव भएपछि उनी अब्दुल कलामकोमा काम गर्न बसेका थिए । मासिक १५ हजार रुपैयाँ तलबमा काममा बसेका उनले घरको पनि काम गर्दै आएका थिए । ‘पाँच दिन अगाडि मात्र काम सुरु गरेको मेरो पतिको हत्या कलामले गरिदिएँ,’ उनले भनिन् ।

मृतक अन्सारीका भाइ मोहम्मद जमसद अन्सारीले आफ्नो दाइलाई चरम यातना दिएर हत्या गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै सोको पहलका लागि मानव अधिकारकर्मीको टोलीसँग आग्रह गरे ।

उनले भने, ‘मेरो दाजुलाई चरम यातना दिएर मारेको छ । दाजुको मलद्वारमा खुर्सानी, काठको धुलो र टमाटर समेत कोचेको भेटियो ।’ उनले प्रश्न गरे, ‘मेरो दाइको जिउमा करेन्ट समेत लगाइयो, आगोले जलाइयो र छुराले अनुहारमा समेत काटेर खुर्सानी दलेको भेटियो । यो भन्दा क्रुरता अरु के हुन सक्छ ।’

इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर रञ्जन मिश्रले सार्वजनिक भएको भिडियोले स्पष्ट रुपमा घटनामा संलग्नहरु देखिएको र यातना दिइरहेको देखिएको हुँदा सबै छर्लङ्ग नै भएको हुँदा अमानवीय व्यवहार, कुटपिट र हत्याको मुद्दा चलाइने बताए ।

इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा रहेका आरोपित कलामले आफू नशामा रहेको वयान दिएका छन् ।

आरोपित कलाम यसअघि पनि लागुपदार्थ ओसारपोसार मुद्दामा दुई पटक जेल सजाय भोगिसकेको इन्स्पेक्टर मिश्रले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved