जेलभित्रै युनुसलाई गोली हानेको मुद्दाका कारण शोभराजको रिहाइमा ढिलाई

जाली नोटसहितका आपराधिक कार्यमा संलग्न भएर केन्द्रीय कारागारमा बन्दी युनुस अन्सारीमाथिको गोलीकाण्डले शोभराजको रिहाइ बिहीबार हुन नसकेको कारागार स्रोतले जनाएको छ।

नेपालभ्युज

जेलभित्रै युनुसलाई गोली हानेको मुद्दाका कारण शोभराजको रिहाइमा ढिलाई

काठमाडौं। आजै छुट्ने भनिएका सिरियल किलर चार्ल्स शोभराजको रिहाइ  बिहीबार रोकिएको छ। जाली नोटसहितका आपराधिक कार्यमा संलग्न भएर केन्द्रीय कारागारमा बन्दी युनुस अन्सारीमाथिको गोलीकाण्डले शोभराजको रिहाइ बिहीबार हुन नसकेको कारागार स्रोतले जनाएको छ।

काठमाडौंमा अमेरिकी महिलाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका चार्ल्स शोभराजलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

२० भन्दा बढि हत्यामा मुछिएका शोभराज १९ वर्षपछि छु्ट्दैछन्, भारतमा जेलबाटै भागेका थिए

२०६७ माघ २२ गते भारतको लखनउबाट आएका जस्जित सिंहले शोभराजलाई नै भेट्ने बहानामा युनुसमाथि गोली हानेका थिए। युनुस मुस्किलले बाँचेको सो घटनामा शोभराजलाई पनि ५ वर्षको जेल सजाय सुनाइएको थियो।

१९ वर्ष गोलघर बसेर निस्कन लागेका शोभराजलाई खिच्न पत्रकारको भीड

केन्द्रीय कारागारमा थुनामा रहेका समयमा शोभराजलाई पटक-पटक भेटेका सिंहले युनुसमाथि गोली हानेका थिए। शोभराजलाई भेट्ने बहानामा कारागारभित्र प्रवेश गरी अन्सारीलाई गोली हानेको त्यसबेला खुलेको थियो। त्यही आधारमा शोभराजलाई पनि काठमाडौं जिल्ला अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो।

शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि ज्यान मार्ने उद्योग र जाली राहदानीको कसुरका दुई मुद्दा देखिएपछि कारागार व्यवस्थापन विभागले यसबारे आवश्यक निर्णय गरिदिन बिहीबार मात्रे अनुरोध गरेको थियो ।

त्यसमा काठमाडौं अदालतले सर्वोच्चको आदेशबमोजिम गर्नु भन्ने जवाफ बिहीबार अपरान्ह पठाएको छ । जसका कारण रिहाई प्रक्रिया लम्बिएको हो । केन्द्रीय कारागारले जेलमुक्त गरेर शोभराजलाई अध्यागमन विभाग पठाउने तयारी गरेपनि यसकै कारण रिहाई शुक्रबारमात्र हुने भएको छ ।

 

चार्ल्स शोभराज आजै छुट्दै, कारागारले अध्यागमनको जिम्मा लगाइदिने

यसरी जोडिए शोभराज ‘युनुस गोली कान्ड’मा

२६ फागुन २०६७ मा जाली नोट कारोबारी युनुस अन्सारी तत्कालीन ‘च्यानल नेशनल टेलिभिजन’का कर्मचारीसँग कुरा गर्दै थिए। केन्द्रीय कारागार सुन्धाराको सार्वजनिक भेटघाट कक्षमा कुराकानी भइरहेको थियो।

आधा घण्टासम्म कुराकानी भएपछि बिदा भएर भित्र जान लाग्दा एकजनाले बाहिर ग्रिलको प्वालबाट हात छिराएर पेस्तोल ताकिरहेका थिए।

उनीतिर पेस्तोल तेर्सिएपछि उनी भागे। तीन चार राउन्ड गोली चल्यो। दौडिँदा दाहिने पट्टी हातको पातामुनितिर कोखमा गोली लाग्यो। उनी त्यही ढले। तत्कालै नर्भिक अस्पतालमा भर्ना गरियो। गोली हान्ने व्यक्ति थिए जसजित सिंह भाटिया।

अन्सारीलाई गोली हान्ने योजनासहित भारतबाट आएका थिए कन्ट्र्याक्ट किलर जसजित सिंह । यही घटनामा जसजित सिंहसँगै शोभराज पनि जोडिए। किनकि जसजित शोभराजलाई नै भेट्न भनेर प्रवेश गरेका थिए।

यही घटनाको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा दायर ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा शोभराज प्रतिवादी छन्। अनुसन्धानका क्रममा जेलबाट भगाउने सर्तमा शोभराजले अन्सारी हत्या योजनामा सहयोग गरेको देखिएको थियो ।

उनलाई अदालतले २६ माघ २०७० मा थप पाँच वर्ष कैद सजायको फैसला गरेको छ। कैद भुक्तानीपछि युनुस अन्सारी पछि जेल मुक्त भए। फेरि १० जेठ २०७६ मा युनुस अन्सारी अर्को तर उस्तै घटनामा त्यही जेल पुगेका छन्।

७ करोड ७६ लाख रुपैयाँ बराबरको भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि अहिले अन्सारी सुन्धारा कारागारमै छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved