‘तत्कालको जनमत सबै थोक होइन, मुलुकमा माओवादी सिद्ध्याउन खोजिएको छ’

‘त्यसलाई निश्चितरूपमा सम्मान गर्नुपर्छ । तर, समाज विकासको गतिको सिद्धान्त हेरियो भने त्यही मात्रै सबै कुरा होइन । स्थायी विचार सबै कुरा हो । जुन माओवादी पार्टीसँग छ ।’

नेपालभ्युज

‘तत्कालको जनमत सबै थोक होइन, मुलुकमा माओवादी सिद्ध्याउन खोजिएको छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ०७४ सालको जस्तो यसपटक पनि तेस्रो शक्तिकै रूपमा संसद्‌मा उपस्थित छ । संसदीय कार्यकाल सकिएको संसद्‌मा माओवादी केन्द्रसँग ४९ सांसद थिए । तर, हालै सम्पन्न निर्वाचनबाट भने माओवादी केन्द्रबाट ३२ जनामात्रै सांसद निर्वाचित भएका छन् ।

तर, महासचिव देवप्रसाद गुरुङ भने माओवादी केन्द्रका लागि यो पनि ठूलो उपलब्धि भएको बताउँछन् । ‘यस्तो साम्राज्यवादीहरूको घेराबन्दीका बिच हामीजस्तो शक्ति त सिद्धिनुपर्ने हो, तर यो ३२ सिट कहाँबाट आयो म आफैँ छक्कै छु,’ शुक्रबार संवाद डबलीमा आयोजित कार्यक्रममा महासचिव गुरुङले भने ।

उनले थपे— ‘अहिलेको अभ्यास र एकथरीका शक्तिहरूले कम्युनिष्ट, त्यसमा पनि माओवादीलाई त सिद्ध्याइहाल्नुपर्छ भन्ने मान्यता राख्छन् । शान्ति प्रक्रियालाई भङ्ग पारेर जानुपर्छ भन्छन् । प्राप्त उपलब्धिहरू, माओवादी जनयुद्धले स्थापित गरेको उपलब्धिहरूलाई उल्टाउनुपर्छ भनेर भन्छन् । उनीहरूको सञ्जाल पनि ठूलै देखिन्छ । यस्तो अवस्थामा माओवादीजस्तो सृजनशील र अग्रगामी शक्तिको कसरी ३२ सिट आयो म आफैँ आश्चर्यचकित छु ।’

माओवादी केन्द्र मुलुकको हित चाहने र समयसापेक्षरूपमा आफूलाई ढाल्नसक्ने शक्ति भएकाले उसलाई सिद्ध्याउन केही शक्तिहरू लागेको उल्लेख गर्दै उनले भने, ‘माओवादी केन्द्रमाथि किन यस्तो प्रहार हुन्छ भन्दा त यो पार्टी जनताको साथमा छ, नराम्रो कुराहरूको रखवारी गर्छ भनेर त हो नि ।’

उनले थपे, ‘मार्क्सवादमा भनिएको छ कि, जसले साँचो र जनताको पक्षमा वकालत गर्छन्, उनीहरूमाथि नै बढी जोखिम हुन्छ । उनीहरू एक्लै हुन्छ भनेर नै हो ।’

मुलुक माओवादी केन्द्रकै एजेन्डामा चलिरहेको दाबी महासचिव गुरुङले गरे । तत्कालको जनमतमा कम भएपनि विचारको हिसाबले माओवादी केन्द्र बलियो सङ्गठन भएको दाबी गर्दै उनले भने, ‘आज हेर्नुभयो भने मार्क्सवाद सही सावित भएको छ । तर, हिजो कुनै बेला मार्क्सलाई जहाँ पायो, त्यहीबाट खेद्ने स्थिति थियो । उनैले लेखेको वाद आज विश्वभर प्रसिद्ध छ । माओवादीको सवालमा पनि यही हो ।’

उनले तत्कालको जनमत मात्रै सबै कुरा नभएकाे सुनाए । ‘त्यसलाई निश्चितरूपमा सम्मान गर्नुपर्छ । तर, समाज विकासको गतिको सिद्धान्त हेरियो भने त्यही मात्रै सबै कुरा होइन,’ उनले भने, ‘स्थायी विचार सबै कुरा हो । जुन माओवादी पार्टीसँग छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved