बाटोमा लुकेर महिलाको हत्या गरेको आरोपमा दुई युवा पक्राउ

बाटोमा लुकेर महिलाको हत्या गरेको आरोपमा दुई युवा पक्राउ
प्रतिकात्मक तस्वीर

गोलबजार । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।

हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नाबय उपरीक्षक सुवास बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।

गाउँ नजिकै रहेको कर्जन्हा नगरपालिका–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मङ्गलबार अपराह्न बाटोमा लुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

पक्राउ परेकाहरूविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको सिरहा प्रहरीले जनाएको छ । सँगै रहेका महिलाले देखेपछि गाउँमा खबर पुर्‍याएका थिए । गाउँमा खबर आउनसाथ प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले पक्राउ परेकामध्ये एक जना युवकसँग महिलासँग नजिकको सम्बन्ध रहेको प्रारम्भिक अनुमानबाट खुलेको छ । लक्ष्मीनियाँकी श्रीमान् दीपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन् । घटनाको जानकारी पाएलगत्तै उनी नेपाल फर्कँदै गरेको दीपेन्द्रका बुवा रामदेवले बताउनुभयो । उनीहरूको १० वर्षका दीपेश, सात वर्षका रुकेश र तीन वर्षका रिपेश गरी तीन छोरा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved