जातीय कटाक्ष गरेपछि मेयर साम्पाङको चर्को आलोचना, अपराध पुष्टि भए जेल सजाय हुनसक्ने

साम्पाङले ‘चमारे बुद्धि’ भनेर फेसबुकमा लेखे। कमेन्टमा सर्वसाधारणले आपत्ति जनाएपछि उनले ‘चमारे’ शब्द हटाउँदै स्ट्याटस एडिट गरे। उनको अभिव्यक्ति कानुनी रूपमै दण्डनीय अपराध भन्दै माफी माग्नुपर्ने माग छ। माफी नमागे कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।

नेपालभ्युज

जातीय कटाक्ष गरेपछि मेयर साम्पाङको चर्को आलोचना, अपराध पुष्टि भए जेल सजाय हुनसक्ने

काठमाडौं। सामाजिक सञ्जालमा अन्टसन्ट लेख्दै आएका धरान उपमहानगरका मेयर हर्क साम्पाङ फेरि विवादमा आएका छन्। उनले जातियताको विषय उठाएर कटाक्ष गरेपछि विवाद चर्केको हो ।

‘चमारे बुद्धि’ भन्दै फेसबुकमा लेखेका मेयर साम्पाङले चमार समुदायको अपमान गरेको भन्दै धेरैले आपत्ति जनाएका छन् ।

साम्पाङले ‘‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे बुद्धि’’ भनेर फेसबुकमा लेखेका छन्। कमेन्टमा धेरैले आपत्ति जनाएपछि उनले ‘चमारे’ शब्द हटाउँदै स्ट्याटस एडिट गरेका छन्।

मेयर साम्पाङले जात तोकेर गालीको भाषा प्रयोग गरेको भन्दै समाजिक संजाल प्रयोगकर्ताले माफी माग्न सचेत गराएका छन्। ‘चमार’ जातको मानिसको बुद्धि हुँदैन’ भन्ने आशयले मेयर साम्पाङले अभिव्यक्ति दिएको भन्दै त्यसले सो समुदायको अपमान भएको धेरैको तर्क छ।

मेयर हर्क साम्पाङले एडिट गरेका स्ट्याटस

उनको अभिव्यक्ति कानुनी रूपमै दण्डनीय अपराध भन्दै अभिव्यक्तिप्रति दलित समुदायले पनि घोर आपत्ति जनाएका छन्। जातीय छुवाछूत, विभेद गर्दै सञ्जालमा लेख्ने काम फौजदारी अपराध भएको भन्दै ध्यानाकर्षण समेत जनाएका छन्।

मेयर साम्पाङले दलित समुदायलाई अपमान गरेको मात्र नभई कानुन विपरीतको काम गरेको भन्दै कानुनी उपचार खोज्न बाध्य नबनाउन समेत केहीले आग्रह गरेका छन्। यता मेयर साम्पाङले भने आफूले कुनै समुदायलाई अपमान नगरेको जिकिर गर्दै माफी माग्न सहमत छैनन्।

संविधान र फौजदारी संहिताको धारा २४ को उल्लंघन

संविधानको धारा २४ मा ‘छुवाछूत तथा भेदभाव विरुद्धको हक’ उल्लेख छ।

जहाँ ‘जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उच्च वा नीच दर्साउने, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाइने छैन’ भनिएको छ।

मेयर साम्पाङले सोही धारा उल्लंघन गरेको कतिपयको आरोप छ। यस्तै जातीय विभेदविरुद्ध मुलुकी फौजदारी अपराध संहितामा उल्लेख भएको बुँदाहरू समेत साम्पाङले उल्लंघन गरेको आरोप लागेको छ।

सो कानुन उल्ंघनकर्तालाई कसुर हेरेर एक महिनादेखि तीन वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved