अमेरिकामा नेपाली उत्पादनको बजारिकरणका लागि वाणिज्य दुतावास सक्रिय

अमेरिकामा नेपाली उत्पादनको बजारिकरणका लागि वाणिज्य दुतावास सक्रिय

न्यूयोर्क । अमेरिकामा नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनका लागि न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासले सक्रियता देखाएको छ । दुतावासले शनिबार क्वीन्समा यस सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

“नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदायको भूमिका” विषयक अन्तरक्रियामा दुतावासले नेपाली उत्पादनको अवस्था, बजारिकरण र त्यसमा नेपाल सरकारले खेल्ने भूमिका बारे जानकारी गराएको थियो । कार्यवाहक महावाणिज्य दुत विष्णुप्रसाद गौतमले नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने बताए ।

व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बढाउन नेपाली व्यवसायी, शैक्षिक संस्था, अमेरिकी नागरिक, पर्यटक तथा गैरआवासीय नेपाली समुदायको सञ्जाल निकै प्रभावकारी हुनसक्ने उनको भनाई छ । विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, सीप, पुँजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने भन्दै उनले व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि सम्भव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको उल्लेख गरे ।

दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च सम्भावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे उनले जानकारी गराएका थिए । गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीले प्रस्तुतिकरण दिएका थिए । त्यस क्रममा उनीहरुले बस्तु निर्यात सञ्जालमा जोड्न, जिएसपी नवीकरण, भन्सार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डेले नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने बताए । कार्यक्रममा वाणिज्य दुत गणेश अधिकारीले सहभागीले  उठाएका सवालको जवाफ दिंदै नेपाल सरकार गैरआवासीय नेपालीसँग सधै हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए ।

नेपालबाट अमेरिकामा मुख्य रुपमा कार्पेट, पश्मिना, ऊनी सल, स्कार्फ, मफलर, चाँदीका गहना एवं सामग्री, चित्रकला, हस्तकलाका सामग्री, घरेलु जनावरका लागि दाना, छुर्पी, पनीर, पास्ता, चिया, दाल र चाउचाउ आयात हुने गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved