गीतकार तथा संगीतकारलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

नेपालभ्युज

गीतकार तथा संगीतकारलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका  छन् ।

सोमबार स्वरसम्राट नारायण गोपालको ३२ औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन् । उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए ।

त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्ने उनको भनाई छ । नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माउनु आवश्यक रहेको बताए ।

उनले भने,  ‘हाम्रो मौलिकताको आधार नारायणगोपाल गुरुवाचार्य हुनुहुन्छ । हामीले नारायण गोपाल अर्को जन्माउनु जरुरी छ मौलिकता बचाउने हो भने । हामीले आफ्नो मौलिकता बिर्सेर अर्कैतिर दौडिएका छौँ कि ? गम्भिर प्रश्न छ । मौलिकता सँग नजोडिएको सभ्यता, संस्कृति, मानव बस्ती आफ्नो पहिचान बोकेको हुन सक्दैन । पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्न यो क्षेत्रमा पछिल्लो पुस्ता पनि जन्मिनु जरुरी छ । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्छ ।’

नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । गीतकार, संगीतकारहरुलाई राज्यले सम्मान गर्न नसकेको भन्दै उनले यस विषयमा राज्यले ध्यान पुर्‍याउनुपर्ने बताए । उनले भने- ‘गीत संगीत भनेको कुनै दलको हुँदैन । कुनै भाषा अथवा कुनै धर्मको हुँदैन । त्यो राष्ट्रको हुन्छ । गीतकार, संगीतकारहरुले राष्ट्रको प्रतिविम्व झल्काउने गर्नुहुन्छ । त्यस अनुसार हामीले उहाँहरुलाई सम्मान गर्न सकिरहेका छैनौँ । त्यो कुरालाई आगामी दिनमा महशुस गर्ने स्थिति निर्माण गर्न सक्नुपर्छ । स्वर राम्रो हुनेले राम्रो शब्द प्राप्त गर्नुपर्छ ।’

‘शब्द र स्वर दुवै राम्रो भएर पनि पुग्दैन, संगीत पनि राम्रो हुनुपर्छ । यो त्रिकोणात्मक विधामा जसले योगदान गर्नुभयो । त्यसले राष्ट्रको मौलिकता जोगाउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ । पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेका छन् । तर हामी त्यो कुरामा पछाडी परिरहेका छौँ ।’

उनले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भएपनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । उनले मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved