काठमाडौं। नाबालिग बलात्कार अभियोगमा राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ।
शुक्रबार बादी सरकारी वकिल र प्रतिवादी सन्दीप लामिछानेको कानुन व्यवसायीको थुनछेक बहसपछि जेल चलान गर्न आदेश भएको हो। उनलाई केन्द्रीय कारागार सुन्धारा लागिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।
सन्दीप लामिछानेलाईलाई कारागार चलान गर्न आदेश दिएको खबरपछि कानुनी प्रक्रियाबारेमा जानकारी नभएका कतिपयलाई यो आदेशबारेमा अन्योल हुनसक्छ। यो विषयलाई सजिलो ढङ्गमा बुझ्न केही प्रश्न र उत्तर :
सन्दीपलाई जेलमा किन पठाइएको हो?
काठमाडौं जिल्ला अदालतको आदेशपछि उनलाई शुक्रबारनै जेलमा लगिसकिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दाको अन्तिम फैसला नभइसकेकाले त्यो समयसम्मका लागि पुर्पक्षको लागि जेल पठाइएको हो।
यसअघि चाहिँ उनी कहाँ थिए?
यसअघि सन्दीप लामिछानेलाई महानगरीय प्रहरी परिसर काठमाडौं अन्तरगत महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा थुनामा राखिएको थियो। त्यो जेल थिएन।
यसलाई न्यायिक हिरासत भनिन्छ। अनुसन्धानको लागि प्रहरीले बढीमा २५ दिन आफ्नो हिरासतमा पाउने सक्ने कानुन छ।
‘सन्दीपलाई फसाउने केटी’ भन्दै निर्दोष युवतीको चरित्रहत्या, अर्कै भिडिओ काटेर भाइरल
सन्दीपले बलात्कार गरेको पुष्टि भएको अर्थात् उनी अपराधी ठहर भइसकेको हुन्?
होइन। उनलाई कानुनी भाषामा ‘पुर्पक्षका लागि थुनामा पठाइएको’ भनिन्छ। त्यो भनेको कानुनअनुसार मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल जेलमै बसेर मुद्दा लड्ने भनिएको हो।
मुद्दाको अन्तिम फैसला हुन बाँकी नै छ। उनी निर्दोष हुन् वा दोषी के हुन् भन्ने पुष्टि हुनै बाँकी छ।
उनलाई लगाइएको अभियोग (नाबालिगलाई जबरजस्ती करणी) पुष्टि भइसकेको छैन। पुष्टि भएको भए कम्तीमा १२ वर्षदेखि बढीमा १४ वर्षसम्म जेल सजाय हुने कानुन छ।
तर यो मुद्दामा अहिले फैसला भइसकेको छैन। अहिले मुद्दाको प्रक्रिया अघि बढिरहेको बेला जेलभित्रै राख्ने कि बाहिर बसेर पनि मुद्दा लड्न पाउने भन्ने विषयमा जेलभित्रै राख्ने आदेश भएको हो।
उनले जेलभित्रै बसेर आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न पाउनेछन्।
अनि जेलमा त दोषी ठहर गरेका अपराधी मात्र बस्ने हैन र?
जेलमा कैदी र बन्दी दुवै बस्छन्। कैदी भनेको अपराध ठहर भएर फैसलाअनुसार सजाय काट्नेहरू हुन्। बन्दी भनेका मुद्दामा फैसला हुन बाँकी, अपराध ठहर हुन बाँकी अर्थात् आरोपलगाइए अनुसारको प्रमाण जुटेको व्यक्ति भन्ने बुझिन्छ।
यस कारण सन्दीप लामिछानेलाई लगाइएको आरोपमा जुटेको प्रमाणका आधारमा उनलाई फैसला नहुन्जेलसम्म कारागार पठाउन आदेश दिइएको हो। अब उनी मुद्दाको फैसला नहुन्जेल जेलमै बस्नुपर्ने हुनसक्छ।
सन्दीप लामिछाने प्रकरणमा जेल जान रहर गर्नेहरू
सन्दीप अब कति समय जेल बस्नु पर्छ ?
निश्चित छैन। मुद्दाको अन्तिम टुङ्गो जहिले लाग्छ, तहिलेसम्म उनी कारागारमा हुनेछन्।
मुद्दाको अन्तिम फैसला लाग्दा निर्दोष ठहरिए भने छुट्नेछन्। दोषी ठहरिए भने उनी पक्राउ परेको दिनको मितिसम्म जोडेर तोकिएको समय जेल बस्नुपर्नेछ।
सन्दीप जेलबाट बाहिरिने कुनै उपाय छैन?
अब उनले जिल्ला अदालत काठमाडौंको यो आदेशविरुद्ध उच्च अदालत पाटन ललितपुरमा पुनरावेदन निवेदन दिन पाउने छन्। उच्च अदालतले जिल्लाको आदेश उल्ट्यायो भने धरौटीमा राखेर मुद्दा लड्ने सुविधा दिनसक्छ।
तर सामान्यतया ३ वर्षभन्दा बढी सजाय हुने मुद्दामा धरौटीमा छुट्ने सभावना हुँदैन। यदि उनी उच्च अदालतमा जाँदा पनि जिल्लाकै आदेशलाई निरन्तरता दियो भने उनी सर्वोच्च अदालत जान सक्छन्।
सर्वोच्चले पनि उच्चको आदेशलाई निरन्तरता दियो भने सन्दीपसँग अरू उपाय बाँकी हुने छैन। उनले जेलमै बसेर मुद्दा लड्नुपर्ने हुन्छ।
बलात्कारलाई मजाकको विषय बनाउँदै कलाकार र नेता, पीडितलाई उल्टै आरोप लगाउने क्रम घटेन
सन्दीपलाई जेलमै राख्नु परेको किन ?
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेकाे इजलासले आरोपित सन्दीपलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन्। जेलमा राखेर मुद्दा लड्नु पर्ने आदेश दिनका लागि विभिन्न आधार टेकेको छ।
प्रमुख आधार हो– हालसम्मका प्राप्त प्रमाणले उनी निर्दोष हुन सक्ने आधार देखिएन। अर्को उजुरीकर्ताको उमेर १८ वर्षभन्दा मुनी नाबालिका भएको र एक वयस्कले जबरजस्ती करणी गरेको भन्ने संवेदनशील मुद्दा पनि हो। त्यसमा यी कुरालाई अदालतले आधार बनाएको छ।
अब के हुन्छ ?
अब तारिख र पेशी तोक्दै अदालतमा मुद्दाको प्रक्रिया अघि बढ्छ। घटनाका साक्षीहरूको अदालतमा बकपत्र गराइन्छ। पक्ष सरकारी वकिल कार्यालय र विपक्षको सन्दीपका कानुन व्यवसायीहरूको बहस हुन्छ। प्राप्त प्रमाण, उजुरीकर्ता, सन्दीप लामिछाने तथा साक्षीहरूको बयान तथा बहसमा आएका कुराहरूको आधारमा अन्त्यमा न्यायाधीशले फैसला सुनाउँछन्।
मुलुकी अपराध संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने’ उल्लेख छ।
सोही दफाको उपदफा ३ मा जबरजस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय हुने व्यवस्था छ । उपदफा ३ को (घ) मा ‘१६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । अदालतमा पेस गरिएको अभियोग पत्रमा घटना हुँदाका बखत पीडितको नागरिकता प्रमाणपत्रअनुसार उमेर १७ वर्ष २ महिना उल्लेख छ ।
यसकारण उजुरीकर्ता नाबालिका भएकाले यदि उनी यही मुद्दामा दोषी ठहर भएमा १० वर्षदेखि १२ वर्षसम्म जेल बस्नुपर्ने फैसला आउन सक्छ।
फैसला आउँदा निश्चित समय तोकेर जेल सजाय तथा क्षतिपूर्ति दिनुपर्ने फैसला आउनेछ। वा उजुरीकर्ताको दाबी नपुगेको भन्दै छाड्ने फैसला पनि आउन सक्छ। जिल्लाको फैसला चित्त नबुझे सन्दीप उच्च अदालतमा, त्यहाँको पनि चित्त नबुझे सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गर्न पाउनेछन्।
सन्दीप लामिछानेविरुद्ध प्रहरीले संकलन गर्यो यस्ता प्रमाण
जेल पुर्याउने सन्दीपको घटना के थियो?
सन्दीप लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। त्यसको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।
जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृङ्खला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । सन्दीप लामिछाने भने आफूमाथि लगाइएको आरोप झुटो भएको बयान दिँदै आएका छन्।
Facebook Comment
Comment